शान्ति र आरोग्यनिम्ति सङ्गीत उत्सव


गत मंसिर २१ का दिन जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालय उत्सवमय बन्यो । कारण, त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभाग तथा जापानस्थित क्योटो कलेज अफ ग्य्राजुएट स्टडिज फर इन्फम्र्याटिक्स (केसिजिआई) को सांस्कृतिक सहकार्यमा नेपालका दुई दर्जन बढी गायक तथा वाद्यवादकहरूले ‘शान्ति तथा आरोग्यनिम्ति साङ्गीतिक सहकार्य’ शीर्षकमा गायन तथा वाद्यवादनमार्फत प्रेक्षालयमा खचाखच दर्शकलाई आफ्ना प्रस्तुतिमार्फत मन्त्रमुग्ध पारेका थिए…

गत मंसिर २१ का दिन जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालय उत्सवमय बन्यो । कारण, त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभाग तथा जापानस्थित क्योटो कलेज अफ ग्य्राजुएट स्टडिज फर इन्फम्र्याटिक्स (केसिजिआई) को सांस्कृतिक सहकार्यमा नेपालका दुई दर्जन बढी गायक तथा वाद्यवादकहरूले ‘शान्ति तथा आरोग्यनिम्ति साङ्गीतिक सहकार्य’ शीर्षकमा गायन तथा वाद्यवादनमार्फत प्रेक्षालयमा खचाखच दर्शकलाई आफ्ना प्रस्तुतिमार्फत मन्त्रमुग्ध पारेका थिए । बहुविधागत साङ्गीतिक उत्सवमा ललितकला विभागका अध्यापक एवम् विद्यार्थीहरूलाई व्यावसायिक गायक एवं वाद्यवादकहरूले साथ दिएका थिए ।
सङ्गीत मनोरञ्जन मात्र नरहेर आध्यात्मिक, आत्मिक एवं आरोग्यको अभिन्न माध्यम रहेको तथ्यलाई हृदयङ्गम गर्दै उक्त सङ्गीत उत्सवमा मन एवं मस्तिष्कलाई आनन्दित पार्ने सङ्गीतको चयन गरिएको थियो । दुई घण्टाभन्दा बढी चलेको कार्यक्रममा जापानस्थित केसिजिआईकी प्राध्यापक नित्जा मेलासले एकल तथा नेपाली गायक तथा वाद्यवादकहरूसँग साङ्गीतिक सहकार्य गरेकी थिइन् । ग्रिस उद्गमकी क्यानेडेली गायिका तथा गीतकार मेलास केसिजिआईमा सङ्गीत र सूचना प्रविधि विषय प्राध्यापन गर्छिन् ।

उत्सवमा प्रसिद्ध सितारवादक एवं प्राध्यापक डा. ध्रुवेशचन्द्र रेग्मी नेतृत्वको ‘सुकर्म’ समूहले शास्त्रीय राग, फ्युजन तथा लोकधुन पस्केको थियो । प्राध्यापक रेग्मीलाई सितारमा सीतामैया राजचल, तवलामा अनन्त प्रजापति र मिलेस तण्डुकार, बाँसुरीमा उमेश पण्डित, भायोलिनमा यतिराज अधिकारी र मिलन तण्डुकार तथा खिं र मादलमा नरेश प्रजापतिले साथ दिएका थिए ।

यसैगरी श्री केसीले शास्त्रीय तथा भक्तिसङ्गीत पस्केका थिए भने गोकुल लेछार्वो लिम्बूले पूर्वको हाक्पारेदेखि सुदूर–पश्चिमको हुड्के गीतसँगै झलकमान गन्धर्वको चर्चित गीत ‘तिम्रो नै माया लाग्छ साइँली’ मात्र माहोल तताएका थिए । गायकद्वयलाई आशिष महर्जन (बाँसुरी), मुकेश शाक्य (पखवाज), अजय चौधरी (तबला), शंकर योगी (किबोर्ड), मनोज श्रेष्ठ (गितार) र माधव ढकाल (सिङ्गिङ वाउल) को साथ रहेको थियो ।

त्यसैगरी बनिका प्रधान, दीपा तामाङ, तृतीया गुरुङ, केसरी घर्तीमगर, मनिता राई, प्रकाश राई, सागर लामा, राजकुमार शाह शङ्गखर, जलजला परियार, विशालराज विक र जीवन वलीले समूह गायनमा साथ दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *