कथाकार सुलोचना मानन्धरद्वारा लिखित नेपाली कथासङ्ग्रह ‘एक जोर आँखा’ काठमाडौंमा एक फरक खालको कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा डिजिटल ब्यानर राखिएको मञ्चमा दुई थान कुर्सी र एउटा सानो टेबुल मात्र रहेको थियो, जसले कार्यक्रमलाई सरल र अर्थपूर्ण बनाएको थियो।
कार्यक्रममा कथाकार सुलोचना, उनकी दिदीहरू पद्मा र सुर्दशना, कथाकार भागिरथी श्रेष्ठ तथा युवा पुस्ताकी कवि उज्ज्वला महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।
पुस्तक सार्वजनिकपछि कवि उज्ज्वला महर्जन र कथाकार सुलोचना बीच छोटो संवाद कार्यक्रम सम्पन्न भयो। संवादका क्रममा सुलोचनाले ‘एक जोर आँखा’ भूइँमान्छेले देखेको तर अझै साकार हुन बाँकी रहेको मीठो सपना भएको बताइन्।

कवि उज्ज्वलाले विद्यालय जीवनदेखि नै महिला साहित्यकारहरूको कृति खोजी–खोजी पढ्ने गरेको उल्लेख गर्दै पारिजातका रचनाहरूले आफूलाई साहित्यतर्फ आकर्षित गरेको बताइन्। मुना गुरुङमार्फत सुलोचनाका कविता तथा नेपाल भाषामा लेखिएका कथाहरू पढेपछि उनलाई सशक्त साहित्यकार र क्रान्तिकारी नारीका रूपमा चिनेको उनको भनाइ थियो।
सम्बादका क्रममा सुलोचनाले जीवनमा भोगेका अनुभवलाई कल्पनासँग मिसाएर लेख्ने गरेको बताउँदै आफू जन्मेर हुर्किएको समाजकै यथार्थ साहित्यमा उतार्ने प्रयास गरेको स्पष्ट पारिन्। नेपाल भाषामा प्रकाशित ‘झ्यालखाना’ कथासङ्ग्रहका केही कथाहरू नेपालीमा अनुवाद गरी यस पुस्तकमा समावेश गरिएको र ती कथाहरू आगामी दिनमा अंग्रेजीमा समेत अनुवाद हुने जानकारी दिइन्।
१६ वटा कथाहरू समेटिएको ‘एक जोर आँखा’ जेलमा भेटिएका कतिपय मानिसका अधुरा सपना र जीवन संघर्षका कथामा आधारित रहेको छ। पुस्तकको प्रकाशन न्यूरोड बुक स्टोरले गरेको हो।
कार्यक्रममा कथाकार भागिरथी श्रेष्ठले सुलोचनाको साहित्यिक योगदान र व्यक्तित्वमाथि संक्षिप्त प्रकाश पार्दै कविता, कथा, नियात्रा, निबन्ध र गीत विधामा समेत उनको कलम चलेको उल्लेख गरिन्। नेपाल भाषा र नेपाली दुवै भाषामा अब्बल लेखन गर्दै आएको भन्दै सुलोचना साहित्यकार मात्र नभई कुशल गृहिणी, राजनीतिकर्मी र समाजसेवीसमेत भएकाले उनलाई ‘सफल तपस्विनी’को संज्ञा दिइन्।
कथाकार सुलोचनाकी कान्छी छोरी आभाले छोटो मन्तव्य राख्दै अथक मेहनतबाट तयार भएको यस पुस्तकलाई आमाको “जरुरी किताब”को रूपमा व्याख्या गरिन्। आमाको प्रेरणाबाट आफूले पनि लेखनमा रुचि राखेको उनले बताइन्।
कार्यक्रममा पुस्तक प्रकाशनमा सहयोग पुर्याउने कवि शार्दुल भट्टराई, अविनाश श्रेष्ठ, सुदर्शन श्रेष्ठ, वसन्त श्रेष्ठ, उज्ज्वला महर्जन, घिमिरे युवराज तथा पुस्तक प्रकाशक राजेश गजुरेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन नाट्यकर्मी तथा शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले गरेका थिए।



Leave a Reply