२२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । पोखरा सभागृहमा भएको अवार्ड समारोहमा उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे ।
यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका चाैथो खेलाडी हुन् ।
यस्तै भोटिङका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे । पिपल्स च्वाइस अवार्डको मनोनयनमा सुनारीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली पनि परेका थिए ।
रेखा पौडेल भोटिङमा दोस्रो स्थानमा रहिन् । त्यस्तै पूजा महतो तेस्रो, विजयी सिन्जाली चौथो र इभाना थापा चौथो स्थानमा रहे ।
नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरिन् । त्यस्तै तेक्वान्दोमा ९ डान प्राप्त गर्ने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गरियो ।
पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो ।
एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गरिन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरियो । पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।
कार्यक्रमको अन्त्यमा सरप्राइजका रूपमा घोषणा गरिएको विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ पलेशा गोवर्धनले प्राप्त गरिन् ।

एनएसजेएफ स्पोर्ट्स अवार्ड पहिलोपटक काठमाडौंबाहिर आयोजना भएको हो । ‘यसपटक काठमाडौं बाहिर आयोजना गरेर नयाँ सुरुवात भएको छ । आगामी दिनमा अवार्ड अझ भव्य रुपमा आयोजना गर्नेछाैं’ एनएसजेएफका अध्यक्ष निरन्जन अधिकारीले समापनमा भने ।



Leave a Reply