म हरेक दिन लेख्ने गर्छु–सुविन भट्टराई


युवापुस्ताका उम्दा आख्यानकार सुविन भट्टराईको लेखन–खातामा सात कृति चढिसकेका छन्— पाँच उपन्यास, दुई कथाकृति । उनका ‘इजोरिया’, ‘प्रिय सुफी’ ‘समर लभ’, ‘साया’ लगायत उपन्यास युवापङ्क्तिबीच अत्यधिक रुचाइएका कृति हुन् । २०३८ सालमा खोटाङमा जन्मिएका भट्टराईको पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’ (लामा कथाहरू) र उनको लेखन–यात्राबारे गरिएको पुस्तक–वार्ता : –पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’…

युवापुस्ताका उम्दा आख्यानकार सुविन भट्टराईको लेखन–खातामा सात कृति चढिसकेका छन्— पाँच उपन्यास, दुई कथाकृति । उनका ‘इजोरिया’, ‘प्रिय सुफी’ ‘समर लभ’, ‘साया’ लगायत उपन्यास युवापङ्क्तिबीच अत्यधिक रुचाइएका कृति हुन् । २०३८ सालमा खोटाङमा जन्मिएका भट्टराईको पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’ (लामा कथाहरू) र उनको लेखन–यात्राबारे गरिएको पुस्तक–वार्ता :

–पछिल्लो कृति ‘चमेलीको फूल, वैजनी रुमाल’ सम्म आइपुग्दा तपाईंले कृतिगत हिसाबमा सातौँ घुम्ती पार गर्नुभएको छ । यो कृतिमा अघिल्ला कृतिभन्दा पाठकले पाउने नयाँपन वा स्वादचाहिँ के हो ?
मेरो पहिलो पुस्तक कथाकृति थियो । करिब १४ वर्षअघि मेरो पहिलो कथाकृति ‘कथाकी पात्र’ प्रकाशित भएको थियो । त्यसपछिका वर्षहरूमा निरन्तर रूपमा उपन्यास लेखेँ र पाँचवटा प्रकाशितसमेत भए । पछिल्लो समय मलाई के महसुस भयो भने ‘मैले कथालाई त बिर्सिएछु’ । कथाको व्यापकता वा लोकप्रियता घट्यो कि भन्ने महसुस भएको हुँदा मैले सातवटा लामा कथाहरू सङ्ग्रहित यो कृति ल्याएको हुँ ।
नयाँपनको कुरा गर्दाचाहिँ मैले पछिल्ला लेखनहरूमा नयाँ–नयाँ प्रयोगलाई पछ्याइरहेको छु । र, पछिल्लो कथाकृतिचाहिँ पाठकलाई ‘सरप्राइज’ दिने हेतुले पनि प्रकाशन गर्न चाहेको हुँ ।

–हामीकहाँ लामा कथाहरू लेख्ने वा पुस्तक प्रकाशन गर्ने अभ्यास त्यति देखिँदैन । तपाईंले किन लामा कथा–लेखनप्रति अभिरुचि देखाउनुभयो ?
सम्भवत: प्रभावकै कारण हुनुपर्छ । नेपाली र विदेशी लेखकहरूका लामा–लामा कथाहरू पढ्दाखेरि मैले ‘सिनेम्याटिक’ अनुभव बटुल्न पाएँ । त्यस्ता कथाले गहिराइमा पुर्‍याउँछन् र उपन्यास पढ्दाखेरिको जस्तो लामो धैर्यता पनि चाहिँदैन ।

–कुनै कथा–सर्जकका लामा कथाहरू पढेर प्रभावित हुनुभएको याद छ ?
गोविन्दबहादुर मल्ल ‘गोठाले’का केही लामा कथा छन् । ‘गोठाले’ का लामा कथाहरू पढ्दा मलाई लाग्यो— ‘यो पो कथा हो त !’ उपन्यासभन्दा ती कथाहरू राम्रा लागे ।
जापानी लेखक हारुकी मुराकामीको ‘वान क्यू एट फो’ करिब १२ सय लामो पृष्ठको उपन्यास हो । मुराकामीको त्यो पुस्तकले भन्दा मलाई उनका लामा कथाहरूको सङ्कलन ‘मेन विदआउट वन’ ले प्रभावित तुल्यायो । उपन्यासले दिने ज्ञान, मनोरञ्जन र प्रभावभन्दा बढी त लामा कथाहरूले दिन सक्दा रहेछन् भन्ने मलाई लाग्यो ।

–मूलत: तपाईं आख्यान विधामा रमाइरहनुभएको छ । आख्यानलाई नै किन लेखनको प्रमुख माध्यम बनाउनुभयोे ?
मलाई साहित्यका अरू विधामा पनि रस छ । कविता–लेखनमा पनि उत्तिकै रुचि छ । केही वर्षपछि एउटा कविताकृति प्रकाशन गर्ने गरी तयारीसमेत गरिरहेको छु । मलाई संस्मरण–लेखनमा पनि रुचि छ । युवाहरूलाई ‘मोटिभेट’ गर्ने किसिमका निबन्धहरू लेखनमा पनि रुचि छ ।
यद्यपि, लेखनको सुरुवात कविताबाट गरे पनि पछिल्लो समय आख्यान विधाले तान्दै लग्यो मलाई । किनभने आख्यानमा जति कल्पनाशील हुन पाइन्छ, गैरआख्यानमा भने त्यति कल्पनाशील हुन पाइँदैन, कल्पनाको संसारमा मनग्य रूपमा विचरण गर्न पाइँदैन ।

–पछिल्लो कृतिसम्म आइपुग्दा आफ्नो लेखनमा केही परिष्कार आएको वा उचाइ ग्रहण गर्दै गइरहेको महसुस हुन्छ तपाईंलाई ?
एकदमै हुन्छ । किनभने म मानिसको रूपमा पनि परिपक्व हुने क्रममा छु । उमेर बढ्दै जाँदा जीवनमा अनुभव र पठनको दायरा पनि केही फराकिलो हुँदै गइरहेको महसुस हुन्छ । यसले लेखनमा पनि परिपक्वता दिलाउँदो रहेछ । विषयवस्तु, विचार, भाषालगायतका हिसाबले पनि मेरो लेखन परिष्कृत, परिमार्जित र उन्नत हुँदै गइरहेको महसुस हुन्छ ।

–लेखन क्षेत्रमा पाइला चाल्नुमा कुनै परिवेश, सन्दर्भ वा घटनाविशेषले भूमिका खेलेको ठान्नुहुन्छ ?
एउटा मात्र घटनाक्रमले भूमिका खेलेको छैन । स्कुल पढ्दाखेरि म रेडियो नेपालको चर्चित कार्यक्रम ‘हातेमालो’ मा कविता वाचन गर्न जान्थेँ । सञ्चालक वासुदेव मुनाल दाइसँग मैले धेरै नाटकमा सहकार्यसमेत गरेँ । पछि त हामीले ‘हातेमालो’ कार्यक्रम सञ्चालन नै गर्न थाल्यौँ ।
अर्को, पारिवारिक परिवेशको पनि भूमिका रह्यो । आमा–हजुरआमाले ‘महाभारत’, ‘रामायण’का कथाहरू सुनाउनुहुन्थ्यो । ती कथाहरूको श्रवणले पनि मलाई लेखनतिर आकर्षित तुल्यायो ।

–लेखनका लागि कुन समय उपयुक्त लाग्छ ?
कुनै पुस्तकको दुई वा तीन महिनाभित्र ‘ड्राफ्ट’ सिध्याउनु छ भने म हरेक दिन लेख्ने गर्छु । बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म लेख्छु । बेलुकी ४ बजेपछि भने म लेख्दिनँ, किनभने थकाइ लागिसकेको हुन्छ । पहिलो ‘ड्राफ्ट’ लगातार लेख्छु । त्यसपछि पुनर्लेखनका चरणहरू त भइहाल्छन् ! कुनै सिर्जना धेरै पटक पुनर्लेखन गर्नुपर्ने हुन्छ, कुनै अलि थोरै ।

–धेरै पटक पुनर्लेखन गरेको कृति ?
मेरो पछिल्लो उपन्यास ‘इजोरिया’ हो । यो उपन्यास मैले एक दर्जन पटकजति पुनर्लेखन गरेको थिएँ । यो उपन्यासमा धेरै चिज छन् । मधेसको ‘फ्लेवर’ दिनुपर्ने थियो र त्यसका निम्ति जनकपुरमा गएर केही समय बसी अध्ययनसमेत गरेको थिएँ ।

–तपाईंले अध्ययन गर्नुभएका साहित्यिक कृतिहरूमा धेरै प्रभावित तुल्याएका कृतिहरू कुन–कुन हुन् ?
मलाई बीपी कोइरालाका प्राय: सबै कृतिले प्रभावित तुल्याएको छ । ध.च. गोतामेका उपन्यास र संस्मरणहरूले पनि अत्यधिक प्रभावित तुल्याएका छन् । पारिजातको भाषा मन पर्छ । धु्रवचन्द्र गौतमका उपन्यासहरू पनि मन पर्छन् । भवानी भिक्षुको ‘आगत’ ले अत्यधिक प्रभाव पारेको थियो । गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजय मल्लका लेखनले पनि प्रभावित तुल्याएका थिए । म त ध.च. गोतामेको ‘घामका पाइलाहरू’ वर्षमा एकपटक पढ्ने गर्छु ।

–अबको योजना के छ ?
अब उपन्यास–लेखनमै फर्किन्छु । उपन्यास–लेखनमा धेरै समय दिनुपर्ने हुन्छ । त्यसअघि भने अर्को वर्ष संस्मरण, कविता वा छोटा कथाहरूमध्ये एउटा विधाको पुस्तक निकाल्ने सोचमा छु ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *