दरबारमार्गस्थित ग्यालरी १०८ मा कलाकार एरिना ताम्राकारको एकल चित्र प्रदर्शनी ‘Ma, Myself’ सुरु भएको छ। अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसर पारेर आयोजना गरिएको यस प्रदर्शनीले नारीत्व, आत्मपहिचान र आन्तरिक शक्तिको विषयलाई केन्द्रमा राखेको छ।

प्रदर्शनीमा राखिएका कृतिहरूमा बारम्बार देखिने तलतिर झुकेका दृष्टिहरूले मौनता र आत्म–मननको अवस्थालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्। यी दृष्टिहरूले व्यक्तिको भित्री संसारसँगको संवाद र आत्मपहिचानको यात्रालाई संकेत गर्छन्। त्यस्तै, चित्रहरूमा समावेश गरिएको तेस्रो आँखाको अवधारणाले स्पष्टता, आत्मविश्वास र आन्तरिक शक्तिको अनुभूति दिलाउने प्रयास गरेको देखिन्छ।

यस प्रदर्शनीको मूल प्रतीक “म” रहेको छ। कलाकार ताम्राकारले “म” लाई आन्तरिक शक्ति र आत्मचेतनाको रूपका रूपमा व्याख्या गरेकी छन्। नेपाल प्रचलित लिपिमा प्रस्तुत गरिएको “म” ले साधारण तर गहिरो अर्थ बोकेर व्यक्तिको भित्री र बाहिरी अवस्थालाई ऐनाजस्तै प्रतिबिम्बित गर्ने काम गरेको छ। तेस्रो आँखाको प्रयोगले चित्रहरूलाई थप गहिरो आयाम दिँदै सतहभन्दा परको विचार, भावना र चेतनाको तहसम्म पुग्ने संकेत गरेको छ।
रङहरूको प्रयोग पनि कृतिहरूको विशेषता बनेको छ। गाढा सुन्तला, कालो र सुनौलो रङहरूको संयोजनले शक्ति, आवेग र सहनशीलताको भाव अभिव्यक्त गरेको देखिन्छ। साथै, आकृति र प्रतीकहरूको पुनरावृत्तिले चित्रहरूमा शान्त र लयात्मक प्रवाह सिर्जना गरेको छ।
कलाकार ताम्राकारका अनुसार उनका कृतिहरू समकालीन समाजमा महिलाको स्थानबारे प्रश्न उठाउँदै त्यसलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्ने प्रयास हुन्। “मेरा लागि ‘म’ भनेको आफैंभित्रको शक्ति हो, जुन तेस्रो आँखाबाट अनुभूत हुन्छ,” उनले भनिन्। उनका अनुसार “म” को आकृतिले आत्म–चेतना, आत्म–स्वीकृति र आत्म–पहिचानको प्रतीकात्मक अर्थ बोकेको छ।

उनले आफ्ना चित्रहरू व्यक्तिगत जीवनयात्रा र अनुभवहरूको सचेत तथा अचेतन अन्वेषणबाट जन्मिएको बताइन्। ‘म’ शृङ्खला नारीत्वमा आधारित रहेको र त्यसलाई गाढा सुन्तला, कालो र सुनौलो रङमार्फत अभिव्यक्त गरिएको उनले उल्लेख गरिन्।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित यस प्रदर्शनीले नारीत्वप्रतिको सम्मान व्यक्त गर्नुका साथै दर्शकलाई आफ्नै भित्र रहेको शक्तिलाई चिन्ने र स्वीकार गर्ने सन्देश दिएको छ।



Leave a Reply