भगवान बहालका स्मृतिहरू सम्झनाको कलामा


काठमाडौंको सांस्कृतिक स्मृति, इतिहास र समकालीन कलालाई कलाकार सम्झना राजभण्डारीको वुडकट प्रिन्ट प्रदर्शनी “Impressions of Bhagwan Bahal” भगवान बहालमा सम्पन्न भएकोछ भने वैशाख ३० गते देखि दरबारमार्गस्थित Gallery 108 मा जारी रहनेछ । जहाँ प्राचीन मिथक, सांस्कृतिक स्मृति र आधुनिक कला एउटै फ्रेमभित्र सहअस्तित्वमा देखिन्छन्। कलाकार राजभण्डारीले आफ्नो मावली आउँदा खेल्ने, घुम्ने र बाल्यकालका सम्झनासँग…

काठमाडौंको सांस्कृतिक स्मृति, इतिहास र समकालीन कलालाई कलाकार सम्झना राजभण्डारीको वुडकट प्रिन्ट प्रदर्शनी “Impressions of Bhagwan Bahal” भगवान बहालमा सम्पन्न भएकोछ भने वैशाख ३० गते देखि दरबारमार्गस्थित Gallery 108 मा जारी रहनेछ । जहाँ प्राचीन मिथक, सांस्कृतिक स्मृति र आधुनिक कला एउटै फ्रेमभित्र सहअस्तित्वमा देखिन्छन्।

कलाकार राजभण्डारीले आफ्नो मावली आउँदा खेल्ने, घुम्ने र बाल्यकालका सम्झनासँग जोडिएको भगवान बहालका स्मृतिहरू सम्झनाको कलामा बहाललाई नै कलाको मुख्य विषय बनाएकी छन्। उनका २८ वटा वुडकट चित्रकला सबै भगवान बहालभित्रकै दृश्य, देवदेवी, पुराना वास्तुकला, काठका स्तम्भ, धार्मिक प्रतीक तथा त्यहाँको सांस्कृतिक वातावरणलाई केन्द्रमा राखेर तयार गरिएका छन्। उनका कृतिहरूमा केवल दृश्य सौन्दर्य मात्र होइन, बाल्यकालको स्मृति, सांस्कृतिक आत्मीयता र नेवार सम्पदाप्रतिको भावनात्मक सम्बन्ध पनि गहिरो रूपमा झल्किन्छ।

भगवान बहाल जसलाई विक्रमशील महाविहारका नामले पनि चिनिन्छ । जुन काठमाडौंकै पुरानो बहाल मध्य पर्दछ र काठमाडौं उपत्यकाको सांस्कृतिक र आध्यात्मिक इतिहाससँग गहिरो रूपमा जोडिएको स्थल पनि हो। ठमेलको व्यस्त शहरी वातावरणबीच रहेको यो बहाल समयको कुनै जीवित अभिलेखजस्तो अनुभूति दिन्छ। यही ऐतिहासिक परिवेशलाई केन्द्रमा राखेर राजभण्डारीले आफ्नो व्यक्तिगत स्मृति, नेवार सांस्कृतिक चेतना र मिथकीय कथालाई समकालीन दृश्य भाषामा रूपान्तरण गरेकी छन्।

राजभण्डारीले प्रयोग गरेको वुडब्लक प्रिन्टिङ प्रविधि स्वयंमा ऐतिहासिक माध्यम हो, जसको उत्पत्ति प्राचीन चीनमा भएको मानिन्छ। त्यही शताब्दीयौँ पुरानो मुद्रण प्रविधिमार्फत नेपाली बौद्ध मिथकलाई पुनः व्याख्या गर्नुले प्रदर्शनीलाई अझ गहिरो सांस्कृतिक तह प्रदान गरेको छ। यहाँ नेपाली आध्यात्मिक कथा, पूर्वीय मुद्रण परम्परा र समकालीन कला चेतनाबीच अद्भुत संगम देखिन्छ।

आजको नेपाली समकालीन कला परम्पराको दस्तावेजीकरणभन्दा अगाडि बढेर इतिहास, स्मृति, मिथक, पहिचान र दर्शनमाथि वैचारिक बहस गर्ने दिशातर्फ उन्मुख भइरहेको छ। राजभण्डारीको यो प्रदर्शनी त्यसैको सशक्त उदाहरण हो। उनले परम्परालाई केवल संरक्षण गरेकी छैनन्; पुनः व्याख्या गरेकी छन्। उनले मिथकलाई संग्रहालयभित्र थन्किएको वस्तु होइन, वर्तमान समाजसँग संवाद गर्ने जीवित संरचनाको रूपमा प्रस्तुत गरेकी छन्।

कलाकार राजभण्डारी सिर्जना कलेज अफ फाइन आर्टस् सँग आबद्ध छिन् । उनले हालसम्म नौ वटा एकल प्रदर्शनी गरिसकेकी छन् भने नेपालसहित दक्षिण कोरिया, बंगलादेश, थाइल्याण्ड, बेलायत, भारत लगायत विभिन्न देशमा सामूहिक कला प्रदर्शनीहरूमा सहभागिता जनाइसकेकी छन्। उनले हेमगंगा कलाश्री पुरस्कार २०२५ तथा थिर छाँया राष्ट्रिय कलाश्री ललितकला अवार्ड २०२३ लगायतका सम्मानहरू पनि प्राप्त गरिसकेकी छन्।

यस प्रदर्शनीमा भगवान बहाल एउटा पुरानो बहाल मात्र होइन, यो समय, स्मृति र संस्कृतिको जीवित प्रवेशद्वार बनेर उपस्थित भएको छ, जहाँ शताब्दीयौँ पुराना आवाजहरू आज पनि समकालीन कलामार्फत बोलिरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *