बेइजिङ ओपेरा : चीनको सांस्कृतिक चेहेरा


के तपाईं चिनियाँ आतिथ्यमा बेइजिङ पुग्नुभएको छ ? छ भने अवश्य पनि विश्वसम्पदा सूचीमा परेका ठाउँहरू जस्तो कि, चीनको अग्लो पर्खाल (ग्रेट वाल अफ चाइना), फरविडन सिटी, समर प्यालेस आदिको भ्रमण गर्नुभएकै होला । तर, के पेकिङ ओपेरा (जसलाई अचेल बेइजिङ ओपेरा भन्ने गरिन्छ) हेर्ने अवसर पाउनुभएको छ ? यसपटक चीन भ्रमणमा मैले चाहिँ दुई…

के तपाईं चिनियाँ आतिथ्यमा बेइजिङ पुग्नुभएको छ ? छ भने अवश्य पनि विश्वसम्पदा सूचीमा परेका ठाउँहरू जस्तो कि, चीनको अग्लो पर्खाल (ग्रेट वाल अफ चाइना), फरविडन सिटी, समर प्यालेस आदिको भ्रमण गर्नुभएकै होला । तर, के पेकिङ ओपेरा (जसलाई अचेल बेइजिङ ओपेरा भन्ने गरिन्छ) हेर्ने अवसर पाउनुभएको छ ?

यसपटक चीन भ्रमणमा मैले चाहिँ दुई सय वर्ष पुरानो चिनियाँ सांस्कृतिक सम्पदा बेइजिङ ओपेराको स्वाद लिने अवसर पाएँ । यो आलेखमा म त्यही स्वादको मिठास बाँड्दै छु ।

यदाकदा सिनेमामा ओपेराको दृश्य हेरेबाहेक यसबारे म करिब अनभिज्ञ नै छु । चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सिआइपिसिसी) का अधिकारीहरूले अप्रिल २८, २०२५ मा ‘ओपेरा शो’ हेर्न जाने निम्तो दिएपछि मेरो दिमागमा एउटा हिन्दी सिनेमाको दृश्य फनफनी घुम्यो । ‘दिल चाहाता हेँ’ नामक हिन्दी सिनेमामा नायिका प्रीति जिन्टाको करकापमा नायक आमिर खान ‘ओपेरा शो’ हेर्न पुग्छन् । जहाँ एक जना मोटी केटी चिच्याएजसरी गाइरहेकी हुन्छिन् । रत्तिभर रुचि नभए पनि आमिर प्रीतिका लागि जबर्जस्ती ‘शो’ हेरिबस्छन् । जब नाट्य रूपान्तरणसहित ‘शो’ अगाडि बढ्छ, हेर्दाहेर्दै आमिर भावुक बन्छन् र उनको आँखा रसाउन थाल्छ । उक्त सिनेमामा अस्ट्रेलियाको एउटा ओपेरा हाउसमा ‘शो’ भएको देखाइएको थियो ।

मनमा त्यही दृश्य र ओपेराप्रतिको ‘इम्पे्रसन’ लिएर बेइजिङ चाओयाङ जिङ्ग्जु कल्चर एन्ड आर्ट सेन्टर पुगेको थिएँ । जहाँ बेइजिङको जिङ्ग्जु थिएटर कम्पनीले विभिन्न राष्ट्रको प्रतिनिधित्व गर्दै चीन भ्रमणमा रहेका मिडियाकर्मीहरूका लागि भनेर विशेष ‘ओपेरा शो’ को आयोजना गरेको थियो । सिआइपिसिसीको आतिथ्यमा हामी विश्वका ८० देशका करिब एक सय जना सञ्चारकर्मी थियौँ ।

जब थिएटर कम्पनीकी निर्देशक एनाले बेइजिङ ओपेराबारे बताउन थालिन्, सिनेमाका दृश्यहरू ओझेल पर्दै गए र बेइजिङ ओपेराको व्यापकतासँग परिचित हुँदै गएँ, म ।
उनी भन्दै थिइन्, ‘बेइजिङ ओपेरा व्यापक कला प्रदर्शन हो । जसमा सङ्गीत, गायन, संवाद, एक्रोब्याटिक्स, मार्शल आर्ट सबैको मिश्रण हुन्छ । खासमा गहिरोसँग बुझ्दा यसले परम्परागत चिनियाँ दर्शन र मूल्यहरूको सारलाई प्रतिविम्बित गर्छ ।’

सोह्रौँ शताब्दीमा ओपेराको सुरुवात इटालीबाट भएको रहेछ । क्लाउडियो मोन्टेभर्डीलाई पहिलो ओपेरा सङ्गीतकार मानिन्छ, जसले सन् १६४० मा इटालीको भेनिसमा पहिलो पटक ओपेरा शो प्रदर्शन गरेका थिए । चीनमा पनि त्यहीताका हो, ओपेराको सुरुवात भएको । सन् १६४४ देखि सन् १९११ सम्म चीनमा छिङ राजवंशको शासन चल्यो । त्यही शासनकालमा ‘ओपेरो शो’ हरू हुन थालेको थियो ।

चिनियाँ दैनिक पत्रिका चाइना डेलीका अनुसार, छिङ राजवंशका सम्राट् कियानलोङको जन्मदिनका अवसरमा आन्हुई र हुबेई प्रान्तका साङ्गीतिक समूहहरूले पहिलो पटक ओपेरा प्रस्तुत गरेका थिए । अर्थात् ओपेराको सुरुवात चीनका दुई प्रान्तहरू आन्हुई र हुबेईबाट भएको थियो । पछि यो चीनका अरू सहरहरूमा पनि विस्तार भयो । पेकिङ ओपेराको जन्मचाहिँ सान्सी प्रान्तका किन्कयाङ, दक्षिणी चीनको कुन्कु र बेइजिङका स्थानीय ओपेराहरूको सम्मिश्रणबाट भएको हो ।

सुरुमा ‘ओपेरा शो’हरू दरबारको चारदिवारीभित्र मात्रै हुन्थ्यो । राजदरबार र कुलीन वर्गको मनोरञ्जनका लागि सुरु भएको ओपेरा पछि नागरिक–तहमा पनि प्रदर्शन हुन थाल्यो । एक जमानामा छिङ दरबारमा लोकप्रिय मानिएको ओपेरा विस्तार र विकास हुँदै चीनको राष्ट्रिय सांस्कृतिक खजाना बन्न पुगेको छ । चिनियाँहरू यसलाई आफ्नो ‘नरम शक्ति’ मान्छन् । छिङ्ह्वा विश्वविद्यालय, आमसञ्चार विभागका तीन जना अध्येता यान झ्याङ, छियान्यु लि र यान्वेन चुको संयुक्त जर्नल लेखमा उल्लेख छ, ‘बेइजिङ ओपेरा चीनको राष्ट्रिय नाटक हो, जुन अन्तर्राष्ट्रिय मञ्चमा चिनियाँ छवि व्यक्त गर्ने ‘नरम ब्रान्ड’ हो ।’

सायद त्यसै भएर हो, चिनियाँहरू अन्तर्राष्ट्रिय अतिथिहरूको सत्कारमा आफ्ना सम्पदा र गौरवहरू नै अगाडि सार्छन् । बेइजिङ ओपेराको यो विशेष प्रस्तुतिको अन्तर्य पनि यही नै थियो ।
बेइजिङ ओपेरालाई युनेस्कोले मानवीय सांस्कृतिक सम्पदाको सूचीमा पनि राखेको बताउँदै एना यसबारे थप व्याख्या गर्छिन्, ‘केही विशिष्ठ भूमिकाहरूको कारण पनि बेइजिङ ओपेरा खास छ । यसमा मुख्यतः चार प्रकारका भूमिका हुन्छन् । जस्तो कि, पुरुषहरूलाई ‘शेङ’ भनिन्छ, महिलासम्बन्धी भूमिका गर्नेहरूलाई ‘दान’, त्यस्तै खलनायक पात्र ‘जिङ’को नामले चिनिन्छन् भने जोकरको भूमिका गर्नेलाई ‘चाउ’ भनिन्छ ।’ त्यस्तै अरू प्रशस्त सहायक कलाकार पनि हुन्छन् । मुख्य आकर्षणचाहिँ यिनले घण्टौँ लगाएर गर्ने मेकअप अनि चम्किला ड्रेसहरू हुन् । एना भन्छिन्, ‘रङ्गीन पोसाकका साथ कलाकारहरू ओपेरा मञ्चमा निस्किँदा ती आकर्षणका केन्द्रबिन्दु हुन्छन् ।’

२८ अप्रिल मिडियाकर्मीहरूको समूह बेइजिङ चाओयाङ जिङ्ग्जु कल्चर एन्ड आर्ट सेन्टर पुग्दा कलाकारहरू धमाधम मेकअप गर्दै थिए । कलाकारहरूले प्रयोग गर्ने कलात्मक पोसाक, मुकुट, हतियारहरू प्रदर्शनी गरेर राखिएका थिए । जसबारे निर्देशक एनाले सञ्चारकर्मीहरूलाई बताएकी थिइन् । त्यस दिन सञ्चारकर्मीहरूले यससम्बन्धी जानकारी बटुले, मेकअप गरे अनि पोसाक लगाएर मनोरञ्जनमा मस्त भए । अनि सुरु भयो, बेइजिङ ओपेरा ।

स्टेजमा अति आकर्षक पोसाकमा सजिएकी एक महिला कलाकार थिइन्, झ्याङ चिवामेई, ३८ । आकर्षक मेकअप, मुकुट अनि त्यस्तै पहिरन । लामो पछ्यौरा कलात्मक किसिमले घुमाएर ती गायन र नृत्य गरिरहेकी थिइन् । झन्डै २० मिनेट लामो उनको त्यो आकर्षक प्रस्तुति ऐतिहासिक महत्वको थियो । कारण ‘स्वर्गका दासीले फूलहरू छर्छिन्‌’ शीर्षकको उनको प्रस्तुति बेइजिङ ओपेराका एक जना लिजेन्ड मेई लान्फाङले निर्देशन गरेको गीति नाटकमा आधारित थियो ।
मेई लान्फाङलाई चिनियाँहरू ‘पेकिङ ओपेराकी रानी’ भनेर सम्झन्छन् । सन् १८९४ मा जन्मिएर १९६१ मा निधन भएकी मेईको पेकिङ ओपेराको विकास र विस्तारमा महत्वपूर्ण भूमिका छ । उनले पेकिङ ओपेरालाई अन्तर्राष्ट्रियकरण गर्ने महत्वपूर्ण काम गरेकी थिइन् । उनलाई पेकिङ ओपेराका ‘चार महान् दान’ (महिला पात्र) मध्ये एक मानिन्थ्यो । बीसौँ शदीका मुख्यतः चार कलाकारहरू मेई, शाङ सियाओयुन, चेङ यानकिउ र शुन हुइशेङलाई चिनियाहरू ‘लिजेन्ड’ ओपेराकर्मीका रूपमा स्मरण गर्छन् ।

मेईले ‘स्क्याटरिङ ब्लसम’ पेन्टिङबाट प्रेरित भएर ‘स्वर्गका दासीले फूलहरू छर्छिन्‌’ निर्देशन गरेकी थिइन् । उक्त प्रस्तुतिपछि ३८ वर्षीय कलाकार झ्याङ चिवामेईले भनिन्, ‘मेई निर्देशित यो नाटकमा अभिनय गर्न पाउनु मेरो सौभाग्य हो ।’ १२ वर्षको उमेरदेखि नै ओपेरा नृत्य गर्दै आएकी उनको पारिवारिक पृष्ठभूमि यसैसँग जोडिएको छ । उनका हजारबुवा, बुवा ओपेरा नृत्य गर्थे । पारिवारिक विरासतमा मिलेको ओपेरा नृत्यलाई आफ्नो प्यासन मान्ने उनले भनिन्, ‘मैले बाल्यकालदेखि नै ओपेरा नृत्य गर्दै आएकी छु । यो मेरो प्यासन हो, त्यसकारण पनि जब जब स्टेजमा उत्रिन्छु, खुसी लाग्छ ।’

त्यस दिनको उक्त विशेष समारोहमा ‘चौबाटो’ (द क्रसरोड) र ‘मातेकी उपपत्नी’ (द ड्रङ्केन कन्कुबाइन) पनि प्रस्तुत गरिएको थियो । पुराना चिनियाँ लोककथा अनि ऐतिहासिक घटनाहरूका रूपान्तरण हुन्छन्, अधिकांश ओपेराहरू । यी दुवैमा चिनियाँ डायनेस्टीका सम्राट्का प्रेम, विश्वास अनि द्वन्द्वका कथा छन् । ओपेरा नृत्य र प्रस्तुतिको आनन्द तब लिन सकिन्छ, जब यसको अभिनयका मापदण्डहरूबारे ज्ञान हुन्छ । यसका प्रस्तुतिका आफ्नै सूत्र वा ढाँचा हुने रहेछ । यी अभिनयहरू यथार्थपरक भन्दा बढी प्रतीकात्मक हुँदा रहेछन् । ओपेराबारे प्रकाशित चाइना डेलीको एउटा लेखमा लेखिएको छ, ‘पेकिङ ओपेराको आफ्नै कलात्मक रूप र मापदण्डहरूको प्रणाली छ, यसले लिपी, सङ्गीत र प्रदर्शनलाई मात्रै व्यक्त गर्दैन, क्रोध, दुःख, आनन्द र उत्साहजस्ता भावनाहरू कसरी चाल र इसारामार्फत व्यक्त गर्नुपर्छ, प्रत्येक शब्द कसरी पढ्नु वा गाउनुपर्छ भनेर परिभाषित पनि गर्छ ।’

त्यसैले पश्चिमाहरूको ओपेरा र चीनको ओपेरामा फरक छ । जस्तो कि, यसको सुरुवात भएको सन्दर्भ, यसमा प्रयोग हुने पोसाक, चित्रकला, प्रस्तुतिका अवधारणा, चरित्र, सङ्गीत सबैले चिनियाँ ओपेरालाई विशिष्ठ बनाएको छ । यी प्रदर्शनहरू गायन, संवाद, पोन्टोमाइन र एक्रोबेटिक लडाइँ र नृत्यको संयोजन हो ।

चिनियाँ सांस्कृतिक क्रान्तिको समयमा बुर्जुवाहरूको विलासीको माध्यम भनेर परम्परागत पेकिङ ओपेराको निन्दा पनि हुन्थ्यो । त्यो कालखण्डमा क्रान्तिकारी ओपेराहरूले परम्परागत पेकिङ ओपेरालाई प्रतिस्थापन पनि गरेका थिए । तर, सांस्कृतिक क्रान्तिपछिका दिनहरूमा यसले पुनर्जीवन पायो । र, अहिले यो चीनको सांस्कृतिक चेहराको रूपमा विश्वमञ्चमा उपस्थित छ ।

हुन त विगतमा यसको जति लोकप्रियता र आकर्षण थियो, अहिले नयाँ पुस्तामा त्यस किसिमको आकर्षणको कमी छ । अहिलेको आधुनिक पुस्ता पप सङ्गीतमा बढी रमाउँछ । चिनिया पप पुस्ता र सामाजिक सञ्जालमा रम्ने पुस्तामाझ ब्याले, पश्चिमी ओपेरा, चलचित्रहरूको क्रेज बढी पाइन्छ । जसले गर्दा परम्परागत र ऐतिहासिक महत्व बोकेको पेकिङ ओपेरा ओझेलमा परेको छ । परम्परागत सांस्कृतिक यो सम्पदालाई आधुनिकतासँग जोड्ने कुरा अहिले चीनका लागि चुनौती बनेको छ । ओपेरा कलाकार झ्याङ चिवामेई भन्छिन्, ‘सन् २०१० मा युनेस्कोले मानवीय सांस्कृतिक सम्पदाको सूचीमा राखेपछि चीन सरकार यसको प्रवद्र्धनमा अझ बढी केन्द्रित भएको छ । डिजिटल पुस्तालाई ओपेरालगायतका परम्परागत संस्कृतिहरूमा रुचि जगाउन लागिपरेको छ । र, अहिले युवापुस्ता आकर्षित हँुदै गएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *