सेयर बजारमा इन्भेस्टर्सभन्दा टेडर्स हाबी भए


–अहिले सेयर बजारको अवस्था कस्तो छ ?एक महिनाअघि दोहोरो अङ्कले बढेको थियो । त्यसपछि साइडवेजमै छ । बजार बढ्नेभन्दा पनि घट्ने क्रममै देखिन्छ । –अर्थमन्त्री विष्णु पौडेल ‘सेयर बजारमैत्री’ भनी चिनिनुहुन्छ । सेयरमैत्री नभएको भनिएका गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त हुनुभएको छ । त्यस्तै, नेप्सेले पनि कार्यकारी–अधिकृत पाएको छ । व्याजदर पनि घटेको छ । तैपनि…

–अहिले सेयर बजारको अवस्था कस्तो छ ?
एक महिनाअघि दोहोरो अङ्कले बढेको थियो । त्यसपछि साइडवेजमै छ । बजार बढ्नेभन्दा पनि घट्ने क्रममै देखिन्छ ।

–अर्थमन्त्री विष्णु पौडेल ‘सेयर बजारमैत्री’ भनी चिनिनुहुन्छ । सेयरमैत्री नभएको भनिएका गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त हुनुभएको छ । त्यस्तै, नेप्सेले पनि कार्यकारी–अधिकृत पाएको छ । व्याजदर पनि घटेको छ । तैपनि सेयर बजार बढ्न सकेन । किन ?
हो, अहिले सेयर बजार बढ्नुपर्ने हो । तर पनि घटिरहेको छ । लगानीकर्तामा धेरै कुराले प्रभाव पारिरहेको हुन्छ । सेन्टिमेन्टलले पनि काम गरेको हुन्छ । कतिपय अवस्थामा समय–समयमा फैलिने हल्ला र अफवाहले पनि बजारलाई प्रभावित गरिरहेको हुन्छ । अहिले मुलुकको राजनीतिक अवस्था र सडक आन्दोलनले पनि बजारलाई डाउन गराएजस्तो लाग्छ ।

–बजार डाउन हुने क्रम लम्बिएला कि क्षणिक होला ?
राजनीतिक अवस्था, तरलता, विभिन्न अफवाह र नीतिगत पक्षले पनि सेयर बजारमा प्रभाव पारिरहेको हुन्छ । अहिले राजनीतिक अवस्था पनि स्थिर छैन । नीति पनि स्थिर छैन । अहिले सडक आन्दोलन भइरहेकाले लगानीकर्ता पनि अन्योलमा परेझैँ लाग्छ । अब आउने बजेट, नयाँ गभर्नर र नयाँ नीतिले पनि सेयर बजारको भविष्य निर्धारण गर्छ । अर्थमन्त्री विष्णु पौडेलले पनि बजारलाई दिगो बनाउन विभिन्न पहल गरिरहनुभएको छ । हामीले पनि विभिन्न सुझाव दिएका छौँ । नयाँ गभर्नर र नयाँ नेप्सेको सिइओमा नियुक्त चूडामणि चापागाईंको नेतृत्वको पनि अर्थपूर्ण भूमिका रहन्छ ।

–लगानीकर्ताले दिएको सुझाव कार्यान्वयन हुन्छ त ?
सेयर बजारमा विभिन्न पक्षको स्वार्थ हुने रहेछ । त्यो स्वार्थ बाझिन पुग्छ । एउटाले नगुमाएसम्म अर्कोले गुमाउँदैन पनि । लगानीकर्ताको सेन्टिमेन्टमा पनि खेल्ने काम हुँदो रहेछ । अब बिस्तारै राज्यले पनि सेयर बजारलाई अर्थतन्त्रको ‘ब्याकबोन’ हो भन्ने सोच राख्न थालेको छ ।
विगतमा हामीले कैयौँ नेताको ढोका ढकढक्यायौँ । सुरुमा कसैले पनि सुनुवाइ गर्दैनथे । आज हरेक राजनीतिक दलले आफ्नो घोषणापत्रमा सेयर बजारलाई सम्बोधन गरेका छन् । बिस्तारै सेयर बजार अर्थतन्त्रको ‘मिरर’ हो भन्ने सोच आएको छ । हामी लगानीकर्ताको अपेक्षा बिस्तारै पूरा हुन्छ जस्तो लाग्छ ।

–सेयर बजारमा दीर्घकालीन लगानीकर्ता (इन्भेस्टर्स) हाबी भएका छन् कि तात्कालिक फाइदा खोज्ने ट्रेडर्स ?
छोटो अवधिमै फाइदा खोज्ने टे«डर्सहरू नै हाबी भएझैँ लाग्छ । एक साताभित्रै फाइदा खोजिहाल्ने प्रवृत्ति देखिएको छ । यसले पनि सेयर बजार डाउन गराउन सहयोग गरेको छ । लामो अवधि (लङ टर्म) लगानी गर्नेभन्दा पनि छोटो अवधि (सर्ट टर्म) का लगानीकर्ता बढी हाबी भएका छन् । कतिपय व्यक्तिलाई सर्ट टर्ममा पनि राम्रै कमाइ भइरहेको देखिन्छ । तर छोटो अवधि लगानी गर्नेले कुन कम्पनीमा सर्किट लागेको छ, कुन कम्पनीको कारोबार कस्तो भइरहेको छ भन्नेबारे अपडेट भइरहनुपर्ने भएकाले जोखिम बढी हुन्छ ।

–सेयर बजारमा लगानी गर्ने भनेकै नाफा कमाउन हो । नाफा कमाउने सूत्र के छ ?
सबै काम छोडेर सेयर बजारलाई मात्र व्यवसाय बनाउनु हुँदैन । सेयर बजारलाई मात्र आम्दानीको स्रोत बनाउनु हुँदैन । अन्य क्षेत्रमा काम गरेर बचत भएको रकमलाई बैंकको मुद्दती खातामा राखेजसरी सेयर बजारमा लगानी गर्नुपर्छ । किनकि नेपालको सेयर बजार तीन÷चार वर्षसम्म पनि डाउन ट्रेन्डमा जान सक्छ । त्यस्तो अवस्थामा पनि अन्य क्षेत्रको आम्दानीबाट सर्भाइभ गर्न सक्छु कि सक्दिनँ ? त्यो विश्लेषण गर्नुपर्छ ।
त्यसैले अरूको सल्लाहमा सेयर बजारमा लगानी गर्नु उचित होइन । सल्लाह–सुझाव दिनेहरूले आफूअनुकूल दिने हो । त्यसैले आफूले नै बुझेर र अध्ययन गरेर लगानी गर्नुपर्छ । लगानी गर्दा आफ्नो पोर्टफोलियोमा विविधता हुनुपर्छ । सेयर बजार सधैँ बढ्दैन । सधैँ घट्दैन पनि । त्यसैले बजार बढ्दैमा मात्तिने र बजार घट्दैमा आत्तिने पनि गर्नु हुँदैन । बजार बढेको बेला अझै बढी रिटर्न हुन्छ कि भन्ने लोभ गर्ने प्रवृत्ति छ । त्यस्तै बजार डाउन भएको बेला एकदमै राम्रो स्टक छ भने पनि पित्तलझैँ सम्झेर बिक्री गर्न हतारिने बानी हुन्छ । यस्तो कार्य लगानीकर्ताले भुलेर पनि गर्नु हुँदैन ।

–लगानीकर्ताको कमजोरी कहाँ हुने गर्छ ?
बजार बढेको बेला सुनझैँ ठानेर राखिरहने र घट्नेबित्तिकै पित्तलझैँ सम्झेर बेचिहाल्ने प्रवृत्तिलाई कमजोरीको रूपमा लिन सकिन्छ ।

–अहिले संस्थागत लगानीकर्ताहरूको मुड कस्तो छ ? के अहिले सेयर बजारबाट बाहिरिएका हुन् ?
सिंहदरबारवरिपरिका मात्र होइन, दूरदराजमा रहेकाहरू पनि संस्थागत लगानीकर्ता हुन् । विभिन्न ग्रुप बनाएर वा क्लब हाउसमा रहेर पनि छलफल भइरहेको हुन्छ ।

–सीमित व्यक्तिले समग्र सेयर बजारमा उतारचढाव ल्याउन भूमिका खेल्छन् भनिन्छ, कति सत्य हो ?
सेयर बजारलाई भन्दा पनि कम्पनीलाई गर्न सक्छन् । पहिला सेयर बजारलाई नै प्रभावित गर्न सक्ने अवस्था थियो । अहिले अनलाइन सिस्टमका कारण पनि सेयर बजारलाई प्रभावित गर्न सक्ने अवस्था छैन । सीमित कम्पनीलाई सीमित व्यक्तिले उतारचढाव ल्याउन सक्छन् । सीमित व्यक्तिले केही कम्पनी चलाइरहेको हामीले देखिरहेका छौँ ।

–सेयर लगानी गर्न महिला, युवाहरूमा कस्तो आकर्षण देखिन्छ ?
एक–डेढ दशकअघि पहिला–पहिला त औँलामा गन्न सकिन्थ्यो । अहिले भने महिला, युवाहरूको लगानीकर्ताका रूपमा आकर्षण देखिएको छ । पहिला पैसा भएकाहरूले लगानी गर्ने ठाउँ भनिन्थ्यो । अहिले न्यून आय भएकाहरूले पनि सेयर बजारमा लगानी गरेका छन् । विद्यालय तहको पाठ्यक्रमदेखि नै सेयर बजारको जानकारी दिने हो भने विद्यार्थी, युवाहरूले लगानी गर्ने क्रम बढ्थ्यो ।

–सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्तालाई सुझाव के छ ?
पहिला त सेयर बजारमा आँखा चिम्म गरेर लगानी गर्नु हुँदैन । लगानी गर्दा कत्तिको जोखिम वहन गर्न सकिन्छ, त्यो ख्याल गर्नुपर्छ । छोटो अवधि (सर्ट टर्म), मध्य अवधि (मिड टर्म) र दीर्घकालीन (लङ टर्म) कुन अवधि लगानी गर्ने हो, यकिन गर्नुपर्छ । विविधिकरण गरेर पोर्टफोलियो बनाउनुपर्छ । विभिन्न सेक्टरमा लगानी गर्दा जोखिम कम हुन्छ, किनभने एउटा क्षेत्र खस्किँदा अर्कोमा भएको लाभबाट नोक्सान कम हुन्छ । यो सन्तुलनले लगानीलाई सहज बनाउँछ । बुझेर र अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ । अवकाशपछिको जीवन (रिटायर्ड लाइफ) का लागि हुन्छ भनेर लगानी गर्दा फाइदा पनि हुन्छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *