मिस नेपाल-२०२५ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था हिडन ट्रेजरले यो वर्षबाट ‘मिस कोस्मो’को उपाधि थप गरिएको जानकारी गराउँदै आवेदन खुला गरेको हो ।

मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । यो वर्ष प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछन् । मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल अर्थ र थप गरिएको मिस नेपाल कोस्मो रहेको छ । ‘मिस नेपाल कोस्मो’को उपाधि जित्नेले भियतनाममा हुने ‘मिस कोस्मो’मा सहभागी हुन पाउनेछन् । आयोजक संस्था मिस नेपाल २०२५ को खोजीका लागि देशका विभिन्न सहरमा पुग्नेछ । त्यहाँबाट छानिएका सुन्दरीहरुले ग्रान्ड फिनालेका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।
हिडन ट्रेजरका निर्देशक सुवर्णबहादुर क्षेत्री विगतका उपलब्धिमा टेक्दै सुनौलो भविष्यतर्फ मिस नेपाल अगाडि बढेको धारणा राखे । ‘गत वर्ष हामीले मिस नेपालको २९ औं वर्ष पूरा गरेको खुशीयाली मनायौं । यो वर्ष ३० औं वर्षमा आइपुगेका छौं । यो वर्ष हामीसँग विगतमै अड्किएका छौं कि ? भविष्यतर्फ लम्कँदै छौं भन्ने प्रश्न छ,’ उनले भने, ‘यहाँसम्म आउँदा हामी विगत र वर्तमानका उपलब्धिसँगै भविष्यतर्फ अगाडि बढ्दैछौं ।’
मिस नेपाल २०२४ आश्माकुमारी केसीले हिडन ट्रेजरले आफूलाई हिल जुत्तामा हिँड्नुभन्दा पनि जीवनको यात्रामा हिँड्न सिकाएको बताइन् । ‘यो यात्रा विश्व स्टेजमा आफूलाई पुर्याउनु मात्रै थिएन । आफ्नै अगाडि आफू कसरी प्रस्तुत हुने भन्ने पनि थियो । मिस नेपालको यो यात्रामा मैले कहिल्यै नभेटेको आश्माकुमारी केसीलाई भेटें । आफ्नो कमजोरी देखाउनु कमजोरी होइन भन्ने जानें । कोमलताबीच पनि तपाईं बलियो बन्न सक्नुहुन्छ भन्ने सिकें,’ आश्माले भनिन् ।

२०२३ की मिस नेपाल श्रृच्छा प्रधानले नेपालको हिमाल पग्लिरहेकोले यो मुद्दामा सबैको गम्भीर ध्यान पुग्नुपर्ने बताइन् । मिस नेपालको प्लेटफर्मबाट विश्वमै परिवर्तन ल्याउन सुन्दरीले भूमिका खेल्न सक्ने पनि उनको धारणा छ । ‘अहिले हाम्रो हिमालहरु पग्लिन थालेका छन् । त्यसैले यसमाथि हामीले काम गर्नुपर्ने समय आएको छ,’ श्रृच्छाले भनिन्, ‘मिस नेपाल भएर विश्व मञ्चमा पुगिरहँदा मैले धेरै कुरा सिक्न पाएँ । थुप्रै देशका सुन्दरीहरुसँग भेट्न पाएँ । खासमा हामी परिवर्तनका दूत हौं । त्यसैले मिस नेपालको यो मञ्चले प्रदान गर्ने सबै प्लेटफर्ममार्फत हामीले परिवर्तन ल्याउन जरुरी छ ।’
मिस नेपाल अर्थ २०२४ सुमना केसी, आफूले मिस अर्थको मञ्चमा ‘आउटफिट’को उपाधि जित्नुसँगै मिस नेपालको यो यात्राले डेन्टिस पेसालाई बेग्लै तरिकाले काम गर्न उत्साह थपिदिएको बताइन् । ‘अहिले मैले मेरो डेन्टिस पेसामार्फत कसरी अरुको सेवा गर्ने ? भन्ने जिम्मेवारीप्रति संवेदनशील बनाइदिएको छ,’ उनले भनिन् ।
मिस नेपाल इन्टरनेसनल २०२४ करुना रावत विश्वका ७६ सुन्दरीसँग मिस इन्टरनेस्नलको मञ्च उक्लिरहँदा त्यहाँ आफूले नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्विलो अनुभव भएको सुनाइन् । ‘मिस नेपाल बन्ने मेरो सानैदेखिको सपना हो । तर, जीवनको यात्राले कोरिया पुर्यायो । तर, मिस नेपालको सपनाले देशमा फर्कायो । तीन महिनाको तालिमले मलाई सबै दायरा फराकिलो बनाइदियो,’ उनले भनिन्, ‘विश्वका मञ्चमा पुग्नु देशको प्रतिनिधि गर्नु हो । त्यसैले सबैको जितमा हामी खुसी बनौं, हाम्रो जित नै देशको जित हो ।‘ हिडन ट्रेजरले सुन्दरलाई एकत्रित मात्रै नगरी महिला सशक्तीकरण गर्दै महिला नेतृत्त्व निर्माणमा काम गरिरहेको पनि बताइन् ।



Leave a Reply