हरेक व्यक्तिले जीवनको उत्तराद्र्ध खण्ड बिताउने आ–आफ्नै शैली र तरिका पछ्याएका हुन्छन् । कसैले अवसादका दिनहरू गुजारिरहेका होलान्, कसैले सक्रिय जीवनशैली । ८५ वर्षीय उमेर–वयमा हिँडिरहेकी वरिष्ठ कलासाधिका शारदादेवी चित्रकारका निम्ति भने यो उमेरमा पनि दिनचर्यालाई सुगम बनाउने माध्यम तिनै चित्रकारिता बनेको छ, जुन कला–माध्यमलाई उनले करिब सात दशकयता पछ्याउँदै आएकी छन् । उमेरको के कुरा भयो र ! उनी कला–सिर्जनामै आफूलाई अझ पारङ्गत बनाउन खटिरहेकी हुन्छिन् अहोरात्र । भन्छिन्, ‘मलाई चुप लागेर बस्न मन लाग्दैन, केही न केही काम गरिरहन्छु ।’
उनी जुन कालखण्डमा जन्मिएर नेपाली चित्रकला फाँटमा विचरण गर्दै थिइन्, त्यस समय नेपाली चित्रकला क्षेत्रमा नारी प्रतिभाहरू शून्यःप्राय थिए । नारी प्रतिभाहरूले चित्रकारिता क्षेत्र अँगालेर आफ्ना कला, भावना, संवेगलाई क्यानभासको विशाल पटाङ्गिनीमा सजाउने अवसर छँदै थिएन भन्दा हुन्छ । त्यस्तै पारिवारिक माहोल र सामाजिक परिवेशबीच हुर्किएकी उनले भने चित्रकारिताको गोरेटोमा आफूलाई डो¥याउने अवसर पाइन् । कारण थियो, पारिवारिक परिवेश ।
बुबा : प्रेरणाको स्रोत
उनका बुबा हुन्, तेजबहादुर चित्रकार । परम्परागत कला–शैली पछ्याउँदै गतिशील नेपाली चित्रकलालाई आधुनिक रङ र स्वरूप प्रदान गर्न तेजबहादुर–प्रदत्त योगदान सदैव उच्च र सम्मानयोग्य छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको ‘निगाह’ मा कलकत्ता गई चित्रकारितासम्बन्धी उच्च अध्ययन गर्ने अवसर पाएका तेजबहादुरले अध्ययन सिध्याएर नेपाल फर्किएपछि कला–सिर्जना र अध्यापनमा नै बाँकी जीवन खर्चिए ।
बुबाप्रति उनको दृष्टिकोण छ, ‘मेरा बुबा प्रवीण कलाकार हुनुका साथै एक कला प्रशिक्षक पनि हुनुभएकाले हाम्रो घर सधैँ चित्रकला सिक्न आउने दाइहरूले भरिएको हुन्थ्यो । तलैपिच्छे कलाका विद्यार्थीहरूले चित्र बनाइरहेको देख्दा बाल्यकालदेखि नै कला विधाप्रति मेरो रुचि र प्रेरणा बढ्दै गयो ।’
उनको स्वीकारोक्ति छ, ‘बुबा नै मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।’ थप भन्छिन्, ‘बुबाले मलाई चित्रकलामा अघि बढ्न सघाउनुभयो भने आमाले चाहिँ घर–व्यवहार सम्हाल्ने तरिकाहरू सिकाउनुभयो ।’
फलफूलको आसमा चित्रकलातिर
सन् १९४१ मा काठमाडौँको भित्री सहर असन, तलाछी टोलमा जन्मिएका थिए उनी । बुबा तेजबहादुर चित्रकार प्रसिद्ध कला–साधक । तात्कालिक समयमा काठमाडौँका चित्रकार (पुं) समुदायको मुख्य पेसा नै चित्रकारिता थियो । कतिसम्म भने कुनै–कुनै पर्व वा उत्सवहरूमा चित्रकार समुदायका मानिसले कुनै चित्र नबनाई त्यो कार्यको मुहूर्त नै हुँदैनथ्यो ।
त्यस समयताका बाह्य मुलुकहरूमा गई चित्रकलासम्बन्धी अध्ययन गरेर फर्किएकाहरूमा आधुनिक चित्रकलाको घनीभूत प्रभाव देखिन्थ्यो । उनका बुबा पनि त्यस्तो प्रभावबाट टाढा थिएनन् । कलकत्ता गई अध्ययन गरेर फर्किएपछि नेपालमै (नेपालका राणा परिवारका साथै जुद्ध स्कुल) मा कला–प्रशिक्षक भएका उनका पिताले आफ्ना सन्ततिले विरासत धानिदिऊन् भन्ने चाहन्थे सायद !
त्यस्तै सात–आठ वर्षकी थिइन् उनी । घरमा केरा, भुइँकटहर र रुखकटहरलगायतका फलफूलहरू राखिएका हुन्थे । बिहान कला–प्रशिक्षण दिन निस्किने बेला बुबाले टेबुलमाथि केही फलफूल राखिदिँदै भन्थे, ‘तिमीले यी फलफूलका चित्र बनाएर राख । तिमीले यी फलफूलका चित्र बनायौ भने भरे खान पाउँछौँ ।’
टेबुलमाथि राखिएका तिनै फलफूलहरू खान पाइने आसस्वरूप उनी ती फलफूललाई हेर्दै कला–सिर्जना गर्न थाल्छिन् । निकै मिहिनेत खन्याएर बनाउँथिन् फलफूलका चित्रहरू । भन्छिन्, ‘मेरो चित्रकारिताको प्रथम स्कुल आफ्नै घर बन्न पुग्यो ।’ यसरी नजानिँदो तरिकाले उनी चित्रकारिताको विस्तृत धरातलमा विचरण गर्न पुगिन् ।
चित्रकला : बिक्रीयोग्य सिर्जना
उनले चित्रकला ‘बिक्रीयोग्य सिर्जना रहेछ’ भन्ने यथार्थ सानै उमेरदेखि नै बुझिसकेकी थिइन् । बुबाको प्रेरणास्वरूप २०१० सालमा उनले बनाइन्, ‘पहेँलो फूल’ । त्यो चित्रकलामुन्तिर लेखिन्, ‘शारदादेवी, मूल्य– ३ रुपियाँ ।’ त्यो कला सिर्जिएको केही महिनापछि गुलाबको फूललाई ‘पेन्टिङ’ मा सजाइन् र मूल्य राखिन्, ५ रुपियाँ । २०११ सालमा फलफूलहरूको चित्र बनाउँदा भने मूल्य बढाएर ३१ रुपियाँ पु¥याइन् ।
सात दशकअघि, आफ्नो चित्रकारिताको प्रारम्भिक चरणमा एउटा पेन्टिङ ३ रुपियाँमा बेचेकी चित्रकारले अहिलेसम्म सर्वाधिक महँगो मूल्यमा १ लाख ५० हजारसम्मका पेन्टिङ बेचेकी छन् । त्यो पेन्टिङ थियो, ‘बुङ्गद्य’; अर्थात् रातो मछिन्द्रनाथ । ललितपुरको भित्री सहर र बुङ्मती भेकको सांस्कृतिक परम्परालाई प्रतिनिधित्व गर्ने त्यो चित्रकलाले उनीभित्र व्याप्त सांस्कृतिक चेतको राम्रै झलक दिन्छ । उनी भन्छिन्, ‘सन् १९६७ को कुरा हो, त्यो दिन पानी परिरहेको थियो । पानी परिरहे पनि मैले बुङ्मतीमा गएर सो पेन्टिङ गरेकी थिएँ ।’
आफ्ना कलाकृतिमा महँगो ‘मूल्य–सूची’ टाँस्ने प्रवृत्तिबाट परै छिन् उनी । राम्रा र स्तरीय सिर्जना भए पनि महँगो मूल्यमा बेच्नुपर्छ भन्ने मान्यताबाट सदैव पन्छिइरहिन् । भन्छिन्, ‘आफ्नो जति श्रम परेको हुन्छ, त्यतिमा बेच्दा भइहाल्छ नि ! किन महँगो मूल्यमा बेच्नुप¥यो र !’
‘भाइ मुम्बई, म काठमाडौँमा’
उनले विद्यालय तहदेखि कलेजसम्मको अध्ययन नेपालमै सिध्याइन् । १४ वर्ष हुँदासम्म विद्यालय टेक्न नपाएकी उनले पछिल्लो समय एसएलसी उत्तीर्ण गरेपछि भने पद्मकन्या कलेजमा भर्ना भई पढ्न थालिन् । अध्ययनप्रतिको तीव्र रुचिका कारण ललितकला पाठशाला (तत्कालीन जुद्धकला पाठशाला) बाट कला सीप र ज्ञान आर्जन गरिन् ।
उनले नेपालमै कलासम्बन्धी शिक्षा लिए पनि भाइ मदन चित्रकार (प्रसिद्ध कलासाधक) ले भने त्यस समयमा मुम्बईमा गई कलासम्बन्धी उच्च अध्ययन गर्ने अवसर पाए । बुबा तेजबहादुरको विरासतस्वरूप अहिले दुवै दिदी–भाइ कला सिर्जनामै व्यस्त छन् । आठ दशक जीवन–यात्रा पार गरेका मदन पनि कला–सिर्जनामै रमाइरहेका छन् । उनी भन्छिन्, ‘भाइले मुम्बईमा गई कलासम्बन्धी उच्च अध्ययन गरे पनि मैले भने नेपालमै आफूलाई कलाक्षेत्रमा समर्पित तुल्याएँ ।’
भोरोस्लाभको पेन्टिङ
२०१६ सालमा बीपी कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन सोभियत संघको राष्ट्रपति भोरोस्लाभको नेपालमा राजकीय भ्रमण भएको थियो । त्यो नेपाल–सोभियत संघबीच गाढा मैत्री सम्बन्धको समयावधि थियो । भोरोस्लाभको नेपाल भ्रमणको बेला उपत्यकाका विभिन्न ठाउँमा स्वागत–द्वारहरू बनाउने क्रममा भोरोस्लाभको मुहार–चित्र बनाउने जिम्मा पाएका थिए, उनका बुबाले । बुबाको आग्रहबमोजिम उनले पनि भोरोस्लाभको मुहार–चित्र बनाउन सघाइन् । भन्छिन्, ‘भोरोस्लाभको मुहार–चित्र बनाएबापत मलाई बुबाले एकै पटक चार थान साडी किनिदिनुभएको थियो ।’
उनीप्रति बुबाको स्नेह र प्रेमभाव यति व्याप्त थियो, बुबाले स्थापना गरेका स्टुडियोको नाम नै ‘शारदा आर्ट स्टुडियो’ राखिएको थियो । पछि उनले बुबाकै आग्रह शिरोपर गरेर जनक शिक्षा सामग्री केन्द्रमा ‘कलाकार’ को पदमा जागिर खान थालिन् । उनी भन्छिन्, ‘जनक शिक्षाको जागिर मेरो निम्ति चित्रकलाको कक्षाजस्तै थियो ।’
पहिलो पुरस्कार पाउँदाको गौरवबोध
२०२३ सालमा प्रथम राष्ट्रिय कला–प्रदर्शनी आयोजना हुँदा सान्त्वना पुरस्कार पाएकी थिइन् उनले । आफ्नी बज्यै (हजुरआमा) को मुहार–चित्राङ्कित उनको कलाले २ सय रुपियाँ पुरस्कारस्वरूप पाएको थियो । तत्कालीन युवराज वीरेन्द्र थिए, ललितकला संघका संस्थापक अध्यक्ष । त्यस समय संघका अध्यक्ष लैनसिंह बाङ्देल र सचिव ठाकुरप्रसाद मैनालीको हस्ताक्षरअङ्कित सम्मानपत्रलाई उनले ललितपुर, जावलाखेलस्थित आफ्नो निवासमा सुरक्षित राखेकी छन् अझै ।
उनको चित्रकारिताले गतिशील मार्ग समात्न पारिवारिक विरासत र माहोलको पनि अहम् भूमिका रह्यो । भन्छिन्, ‘मेरो घर चित्रकलाको पाठशाला नै थियो । पछि विवाह भएर म जुन घरमा भित्रिएँ, त्यो घर पनि चित्रकलामा आबद्ध परिवारकै घर थियो । माइती र घर दुवैतिर चित्रकलाको मर्म बुझ्ने परिवारजन रहेका हुँदा मलाई यो क्षेत्रमा अघि बढ्न उत्प्रेरणा मिल्यो ।’
चित्रकलाको संसार
सात दशकीय लामो चित्रकला यात्रामा उनले पानी–रङलाई पछ्याउँदै आइन् । किन त ? उनी भन्छिन्, ‘यो कुरामा आर्थिक पक्ष जोडिन्छ । किनभने आयल पेन्टिङ महँगो पर्ने भएको हुँदा मैले पानी–रङलाई नै प्राथमिकतामा राख्दै आएँ ।’
२०२४ सालमा उनले बनाएकी थिइन्, पहिलो ल्यान्डस्केप । काठमाडौँको बुढानीलकण्ठस्थित खरले छाएको र रातो माटोले पोतिएको एउटा घरलाई उनले रङ–आवरण दिइन् । आफ्नो कार्यशालामा टाँगिएको करिब ६ दशक पुरानो त्यो ल्यान्डस्केपतिर औँल्याउँदै भन्छिन्, ‘अहिले त्यो घर कहाँ होला र ? स्मृति मात्र बाँकी छ ।’
कलासाधकहरूका तीर्थस्थलजस्तै
काठमाडौँको तलाछी टोलस्थित उनको घर कलासाधकहरूका निम्ति तीर्थस्थलजस्तै थियो । बुबा तेजबहादुरलाई भेट्न आउनेमा पर्थे, अमर चित्रकारलगायत कलासाधकहरू । भन्छिन्, ‘पहिला बुबालाई पनि आफ्ना सन्तानलाई कला सिकाउन राणाहरूले दरबारमा बोलाइरहनुहुन्थ्यो ।’
उनको माइतीघरमा बुबाका शिष्यहरूको आवतजावत चलिरहन्थ्यो । पछिल्लो समय उनले बुबाकै पदचिह्न पछ्याउन चाहिन् । जावलाखेलस्थित आफ्नो घरमा महिला कलाकारहरूलाई चित्रकलासम्बन्धी तालिम दिन थालिन् । त्यसो त महिला कलाकारहरूमा जागरण–भाव उत्पन्न गराउने हेतुले उनले एउटा आफ्नै मुहार–चित्र बनाइन्, जुन पेन्टिङको छेउमा उनले एउटा घण्टी राखेकी छन् ।
महिला शक्ति र जागरण, काग र रङ्गीबिरङ्गी फूलहरू उनको हरेकजसो चित्रकलामा प्रतिविम्बित भइरहने विषयवस्तु हुन् । अझ २०६७ सालमा गठित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ र पछि सोही प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेकी उनले दुई कार्यकालमा महिला सशक्तीकरणलाई कला माध्यमद्वारा सुदृढ तुल्याउन अनेक भूमिका निर्वाह गरिन् । कहिले महिला हिंसाविरुद्ध चित्रकला कार्यशाला, कहिले वसन्त महिला कला प्रदर्शनी र कहिले राष्ट्रिय लोककला प्रदर्शनी गरेर आफ्नो कार्यकाललाई उपलब्धिमूलक र सम्झनायोग्य बनाइन् ।
वरिष्ठ कलासाधक किरण मानन्धर कुलपति हुँदा प्राज्ञ भएकी उनले अर्का कलासाधिका रागिनी उपाध्यायको कुलपतीयकालमा उपकुलपतिको जिम्मेवारी पाएकी थिइन् । उनी भन्छन्, ‘पहिलो पटक प्रतिष्ठान गठन भएको हुँदा हामीलाई काम गर्न निकै सजिलो भयो ।’ समय र जिम्मेवारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कलामा पारङ्गत उनले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत रहँदा केही न केही गतिविधि गरेर आफूलाई क्रियाशील तुल्याइरहिन् ।
कला–साधनामा अहोरात्र व्यस्त रहे पनि उनले एकल कला–प्रदर्शनी भने धेरै पछि मात्र गरिन् । बल्ल सन् २००२ मा पहिलो पटक कला प्रदर्शनी गरेकी उनको कला सिर्जनाबारे प्रसिद्ध कलाकार लैनसिंह बाङ्देलले गरेको यो मूल्यांकन उनको कलासंसारलाई बुझ््न धेरै हिसाबले सघाउनेछ, ‘उनका चित्रहरू सुन्दर चमकले सजिएका छन् । उनका कला एक जना परिपक्व कलाकारका सिर्जनाजस्तै प्रतीत हुन्छ ।’
००



Leave a Reply