पछिल्लो समय मानसिक स्वास्थ्यप्रति आममानिस चेतनशील छन् । मानसिक स्वास्थ्यका कारण सबैजसो उमेर समूहका मानिस प्रभावित छन् । मानसिक स्वास्थ्यको अवस्था, यसको पछिल्लो दर, उपचार प्रक्रिया, समाधानका केके पक्षहरू छन् ? नेपाल मनोचिकित्सक संघका अध्यक्ष तथा पाटन हस्पिटलका निर्देशक, प्राध्यापक रवि शाक्यसँग ‘वाह ! जिन्दगी’ टिमले गरेको कुराकानी :

हामीकहाँ मानसिक स्वास्थ्यको अवस्था कस्तो छ ?
मानसिक समस्या पहिलादेखिकै समस्या हो । पूर्ववर्ती समयमा भने चेतना थिएन । पहिले समस्या देखिएपछि मात्र मानिसहरू आउँथे । अहिले चेतनाको स्तर बढेको कारण सेवा लिने धेरै छन् ।
२०७२ सालको भूकम्पपछि मानसिक स्वास्थ्य समस्याबारे धेरै मानिस सचेत रहे । आफन्त गुमाउँदा तर्सिने र उदासी हुने मानिसहरूले अनुभव गरे । अर्को, कोभिडको कारण पनि मानिसहरूले ‘एन्जाइटी डिसअर्डर’ अनुभव गरे । पहिला लुकीलुकी अल्कोहल पिएर बस्थे । अहिले त्यस्तो छैन । तथ्यांकलाई नियाल्दा सिङ्गो समुदायमा १० प्रतिशतमा कुनै न कुनै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएको देखाउँछ । त्यस कारण मेन्टल इलनेस जति बेलादेखि दिमाग छ, त्यति बेलादेखि रहन्छ ।
मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने कारणचाहिँ केके हुन् ?
मानसिक स्वास्थ्यमा प्रभाव पार्ने कारण हामीलाई रिस्क फ्याक्टर थाहा नभएर हो । त्यसमा मुख्यत: शारीरिक, सामाजिक र वातावरणीय कारणहरू हुन्छन् । शारीरिक पक्षमा तपाईंको जिनमा त्यो रोगको बीउ छ भने तपाईंलाई हुन्छ नै । तर त्यस्तो बीउ सबैमा चाहिँ हुँदैन । स्ट्रेस भएमा त्यो बीउबाट रोग हुने वातावरण बन्छ । अर्को कुरा, तपाईंको व्यक्तित्व कस्तो छ, त्यसले पनि फरक पार्छ । विभिन्न शारीरिक रोगव्याधि र मादक पदार्थ सेवन पनि शारीरिक पक्ष हुन् । वातावरणीय पक्ष पनि अर्को कारक हो ।
तपाईंलाई सुत्न गाह्रो भएको छ वा सुरक्षित महसुस हुँदैन भने त्यस्तो अवस्थामा एकदमै गाह्रो हुन्छ । धेरै मान्छेले बुझेको जस्तो मेन्टल इलनेस भनेको स्ट्रेस होइन । यो सानो अंश मात्र हो । यो कतिपयमा जन्मजात पनि हुन्छ । अहिले डिप्रेसन बढेको देखिन्छ । यस्तो समस्या बुद्ध र दशरथलाई पनि भएको मानिन्छ । अहिले १० वटा इलनेसमा पाँचवटा त मानसिक स्वास्थ्य नै छन्, जसमा डिप्रेसन, एन्जाइटी, साइकोसिस डिसअर्डर आदि पर्छन् । पछिल्लो समय डिप्रेसन र एन्जाइटी बढेका देखिन्छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवा र बालबालिकाहरूसामु कस्ता समस्या निम्त्याएका छन् ?
मानसिक विषयलाई हेर्दा पछिल्लो समय मानिसहरू भर्चुअल रूपमा काल्पनिक दुनियाँमा बसे भन्ने छ । उनीहरूबीच अन्तरक्रिया छैन र एकलकाँटे भएका छन् । यसले केही समस्या निम्त्याए पनि इन्टरनेट प्रयोग गरेकै भरमा हुन गएको चाहिँ मान्न सकिँदैन । जेन–जीहरूमा शारीरिक गतिविधि कम हुन छोडेको चाहिँ पक्कै मान्न सकिन्छ । वास्तविक संसारलाई बुझ्ने कुरामा कमी आएको देखिन्छ । तर, इन्टरनेटको कारण मानसिक समस्या बढ्यो भनी मान्न सकिँदैन । यसमा एक्सेसिभ युजको कुरा आउँछ, जसको अत्यधिक प्रयोगले मानसिक समस्या थपिँदै गएको प्रमाणित हँुदै छ । यसमा बढी युज गर्दा एटेन्सन कम हुने, मेमोरी लस हुने, एक्जाइटी प्रोब्लम आउने, सोसाइटल कुराहरू फेस गर्न नसक्ने र देखासिकी गर्ने प्रवृत्ति बढेका छन्, जसले गर्दा आत्महत्याको दर उच्च देखिन्छ । डब्लुएचओको तथ्यांकलाई आधार मान्दा १ लाख मानिसमध्ये २५ जनाले आत्महत्या गर्छन् भन्ने देखाउँछ ।

तपाईंकहाँ मानिसहरू कस्ता मानसिक समस्या लिएर आउँछन् ?
संसारमा हुने सबै खाले रोग नेपालमा पनि छन् । मानिसहरूले प्रिजेन्टेसन गर्ने तरिका मात्र फरक छन् । यसमा अलिअलि सांस्कृतिक भिन्नताको पक्ष पनि जोडिन्छन् । अहिले इन्टरनेट हेरेर ‘मलाई यस्तो भयो’, ‘यो थेरापी गर्नुपर्यो’, ‘यस्तो औषधि चाहियो’ भनी आउने युवाहरू पनि छन् । यो गलत हो । तपाईंको दैनिक कामकाजमा असर पर्यो कि परेन, तपाईंले नियन्त्रण गर्दागर्दै भइरहेको छैन र तपाईंलाई झनै नोक्सान भइरहेको छ भने मात्र उपचार अपनाउने हो ।
एउटा राम्रो कुरा, इन्टरनेट पहुँचको कारण उनीहरू सबै खाले सूचना लिन सक्छन् । पहिलाजस्तो रोग पत्ता लगाउन डाक्टर नै चाहिन्छ भन्ने छैन । तर के हो भनी छुट्ट्याउनका लागि उनीहरूलाई हेल्दी डिस्कसन चाहिन्छ । होइन भने उनीहरू भ्रमित हुन सक्छन् । कुनै मानिसले लागूपदार्थ खान्छन् वा नियमित मदिरा सेवन गर्छन् भने त्यो पनि मानसिक समस्यासँग सम्बन्धित छ । हामीकहाँ मदिरा ठूलो समस्याको रूपमा देखिएको छ, जसको कारण मानसिक समस्याका साथै शारीरिक स्वास्थ्यमा समेत समस्या निम्त्याइरहेको छ । अपराध, सामाजिक समस्या, अनैतिक क्रियाकलाप सबै यसैसँग सम्बन्धित छन् ।
युवा पुस्ताहरू कस्ता समस्या लिएर आउँछन् ?
युवा पुस्तामा सबैभन्दा बढी उदासपनको समस्या देखिएको छ । यो डिप्रेसन नै हो । ‘म उदास छु’ भन्नेचाहिँ निकै कम छन् । पहिला–पहिला उदासी रोग हुन्छ भन्ने थाहा थिएन । अहिले किशोर/युवाका अभिभावकहरू ‘खाली मोबाइलमात्र हेर्छ’ भनी गुनासो लिएर आउँछन् । तर, कसैलाई उदास मात्र हुन्छ, डर लाग्छ, ट्रमा भएको छ, एभ्युज भएको छ भने एक्लै बसेर मोबाइल हेरी समय बिताउँछन् । यो लक्षण हो । इन्टरनेट डिसअर्डर पनि नयाँ कन्सेप्ट हो ।
मानसिक समस्या लिएर आउने दम्पतीहरू कति छन् ?
प्राय:जसोले पारिवारिक सम्बन्धका साथै यौन समस्या लिएर आउँछन् । सबै किसिमका रोगहरू नेपालमा छ । अहिले सेक्स चेन्जको कुरा खुलेर आयो । फरक यति मात्र हो कि, महाभारतकालीन समयमा पनि यो समस्या थियो ।

काउन्सिलिङमा जाने कस्तो अवस्थामा हो ?
काउन्सिलिङ भनेको सामान्य मानिसलाई दिइने स्ट्रक्चर गाइडेन्स हो । करिअर, म्यारिटल, कलेज चुज गर्ने काउन्सिलिङ हुन्छ । यो जहाँ पनि हुन्छ । कुनै लक्षण देखिएपछि त्यसलाई ठीक तुल्याउन सहयोग गरियो भने त्यसलाई थेरापी भन्छौँ । काउन्सिल गर्नु समस्या हुनु होइन, समस्या छ कि भनेर हेर्ने हो ।
तपाईंकहाँ सामाजिक सञ्जालको प्रयोगबाट समस्या उत्पन्न भएर आउनेहरू पनि छन् ?
इन्टरनेट डिसअर्डर भएर आउने थुप्रै छन् । प्लस टु मा अध्ययनरतहरू, सेयर मार्केट हेरेको हेर्यै गर्नेहरू र इन्टरनेटको लत लाग्नेहरू धेरै छन् । यस्ता सबै केसहरू नेपालमै छन् । तर, यसमा इन्टरनेट भएर मात्रै होइन, मेन्टल इलनेस भएर पनि हुन सक्छ । युवा पुस्ताले एकदमै मानसिक समस्या झेलिरहेको छ । महिलाहरूलाई शारीरिक रुपमा एकदमै गडबड हुन्छ । एभ्युजहरू हुँदा उनीहरू कसैलाई भन्न सक्दैनन् । यस्तो बेला हेर्ने भनेकै इन्टरनेट हो, जसले गर्दा सबै कुरा एक्सपोज पनि भएका छन् ।
मानसिक समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ ?
पहिलो त, सबैलाई मानसिक समस्या हुन्छ भन्ने चेतना हुनुपर्छ । यो समस्याबारे खुलेर सेयर गर्नुका साथै साइन्टिफिकल्ली ठाउँमा गएर उपचार गर्नुपर्छ । यो विषयलाई लुकाएर राखे जटिल समस्या उत्पन्न भई क्षतिसमेत हुन सक्छ । मानसिक समस्या हुनेबित्तिकै जिन्दगी समाप्त हुने होइन । समस्या भयो भनेर तिरस्कार गर्नु गलत धारणा हो । हामी मस्तिष्ककै कारण हरेक क्षेत्रमा सक्षम भएका हुँदा मस्तिष्कको कामकाजलाई महत्व दिऊँ । युवाको मानसिक स्वास्थ्य देशको सम्पत्ति हो । समयमा सुत्ने, पर्याप्त आराम गर्ने र रिफ्रेस हुनुपर्छ । त्यसैगरी शारीरिक गतिविधिका साथै स्वस्थ भोजन लिनुपर्छ । लागूपदार्थ लिनु हुँदैन । यदि अस्वाभाविक समस्या देखिनेबित्तिकै साइन्टिफिकल्ली रूपमा जानुपर्छ भन्ने मेरो सन्देश हो । अहिले हामीकहाँ मानसिक स्वास्थ्यसम्बन्धी राम्रो सेवा पनि हुँदै आएको छ । यो महँगो छैन । विगत २५ वर्षमा नेपालमा मनोचिकित्सा क्षेत्रले ठूलो फड्को मारेको छ ।
००



Leave a Reply