‘कुचो’को कमाल


घर, अफिस, होटल— जतासुकै बस्ने ठाउँ सफा होस्, कीरा–फट्याङ्ग्राले दुःख नदेओस् भन्ने चाहना सबैको हुन्छ । सफा वातावरणमा बस्दा मानिसमा सकारात्मक ऊर्जा भरिन्छ भन्ने धारणा छ । खासगरी आजकाल घरको इन्टेरियरदेखि किचेन र बाथरुमसम्म ‘लाभिस डिजाइन’ र स्टाइलमा ध्यान दिइन्छ तर यस्तो घर–ठाउँ सफा राख्ने ‘टेक्निक’ र ‘प्रोफेसनालिज्म’ पनि उत्तिकै आवश्यक छ । घर सफा…

घर, अफिस, होटल— जतासुकै बस्ने ठाउँ सफा होस्, कीरा–फट्याङ्ग्राले दुःख नदेओस् भन्ने चाहना सबैको हुन्छ । सफा वातावरणमा बस्दा मानिसमा सकारात्मक ऊर्जा भरिन्छ भन्ने धारणा छ । खासगरी आजकाल घरको इन्टेरियरदेखि किचेन र बाथरुमसम्म ‘लाभिस डिजाइन’ र स्टाइलमा ध्यान दिइन्छ तर यस्तो घर–ठाउँ सफा राख्ने ‘टेक्निक’ र ‘प्रोफेसनालिज्म’ पनि उत्तिकै आवश्यक छ ।

घर सफा गर्न ‘कामदार राख्ने’ चलन छ । बिहान–बेलुकी झ्याल ढोका पुछ्ने, भुइँ कुचो लगाउने, भाँडा माझ्ने काम उनीहरूकै जिम्मा हुन्थ्यो । तर, आजका आधुनिक घर, स्मार्ट अपार्टमेन्ट, ठूला कार्यालय र फाइभ स्टार होटलहरूमा सफाइ सामान्य कार्य होइन, यो त पेसागत सीप, उपकरण र समयपालनको विषयसमेत बनेको छ । केवल देखिने फोहोर मात्र होइन, डिप क्लिनिङ, स्यानिटाइजेसन, पेस्ट कन्ट्रोलजस्ता सेवाहरू पनि विदेशमा जस्तै हामीकहाँ पनि अनिवार्य हँुदै गएको छ ।

सन् २०१८ मा अस्ट्रेलियाबाट नेपाल फर्किएका सौजन दुलाल र विदेशका धेरै देशहरुमा बसेर फर्कैका गगन विष्टले चार वर्ष अघि नेपालमा सफाइ सम्बन्धी विदेशको अनुभवलाई उतारेर कुचो संचालनमा ल्याएका हुन् ।

सौजन दुलालले मोबाइल एप्लिकेसन डेभलपमेन्टमा ब्याचलर गरेका थिए । नेपाल फर्केपछि तीन वर्षसम्म उनले सफ्टवेयर व्यवसाय चलाए— हिमालयन टिभीको मोबाइल एप र ‘भ्वाइस अफ नेपाल’ को एप्स बनाए र आइटीसम्बन्धी विभिन्न प्रोजेक्टमा काम गरे । उता गगन विष्ट भने एजुकेसन कन्सल्टेन्सी खोलेर काम गरिरहेका थिए ।

सौजनको आइटी अफिस सार्ने ‘डिप क्लिनिङ’ गर्नुपर्ने भयो । त्यस क्रममा आएको क्लिनिङ कम्पनीको सेवा देखेर उनीहरू चकित परे । ‘हामीले विदेशमा देखेजस्तो सफा, व्यवस्थित क्लिनिङ त्यहाँ थिएन । एकदमै बेसिस्ट काम, न उपकरणको प्रयोग, न प्रोफेसनलिज्म,’ सौजन सम्झिन्छन् । विदेशमा देखेका सफाइमा मापदण्ड, उपकरणको प्रयोग र इमानदार सेवा उनीहरूले नेपालमा पाएका थिएनन् । उनीहरूले भोगेको डिप क्लिनिङको असन्तोषजनक अनुभवबाट नै ‘कुचो’को जन्म भयो ।

‘हामीले विदेशमा देखेजस्तो सेवा किन नेपालमा छैन ?’ सौजन भन्छन्, ‘त्यही प्रश्नले हामीलाई ‘कुचो’ सुरु गर्न प्रेरित ग¥यो ।’

‘कुचो’ भन्नेबित्तिकै नेपाली मनमा आउँछ— बिहान–बिहान ढोकामा हतारिएकी महिलाले हातमा कुचो वा झाडु बोकेको दृश्य । तर, अहिलेको ‘कुचो’ त्यसभन्दा धेरै फरक छ । यो एक सेवा हो, जुन नेपाललाई सफा, व्यवस्थित र स्वास्थ्यसम्मत बनाउने अभियान हो ।

कुचोले ल्याएको फरकपन
कुचोले सेवा सुरु गर्नुअघि पनि नेपालमा क्लिनिङसम्बन्धी काम गर्ने केही कम्पनी थिए तर तीमध्ये धेरै अव्यवस्थित, अनट्रेन्ड स्टाफ अनि उपकरणविहीन थिए । ‘कुचो’ ले भने यो धारणा बदल्न खोज्यो । आधुनिक क्लिनिङ उपकरण (मेसिन, स्टिमर, स्यानिटाइजिङ टुल्स) प्रशिक्षित र युनिफर्ममा टिम, अफिस, घर, रेस्टुरेन्ट, होटल, अपार्टमेन्ट सबैका लागि फरक–फरक प्याकेज, सोफा र कार्पेट वास, पेस्ट कन्ट्रोल, बाथरुम, किचेन फोकस क्लिनिङ आदि ।
अहिलेको टेक्नोलोजीको जमानामा जसरी हामी खाना अर्डर गर्न एप चलाउँछौँ, सामान मगाउन ई–कमर्समा जान्छौँ, सफाइको सेवा पनि प्रोफेसनल तरिकाले बुक, ट्र्याक र मूल्याङ्कन गर्न सकिने हुनुपर्छ । ‘कुचो’ यही सोचको प्रतिनिधि बनेको छ ।

चार वर्षअघि स्थापना गरिएको ‘कुचो’ आज काठमाडौँ उपत्यकामा व्यावसायिक र घरायसी क्लिनिङ सेवाको विश्वासिलो नाम बनिसकेको छ । ‘कुचो’ शब्दले हाम्रो समाजमा झ्याल–ढोका सफा गर्ने पुरानो झल्को दिन्छ । तर, सोही नामलाई नयाँ सोच, नयाँ प्रविधि र व्यावसायिक दृष्टिकोण दिएर दुई युवाले सफाइ क्षेत्रमै क्रान्ति ल्याउने प्रयास गरिरहेका छन् । नेपालमै बसेर नेपाललाई सफा बनाउने सपना बोकेका सौजन र गगनजस्ता युवाहरूले प्रमाणित गरिरहेका छन्, इच्छा, योजना र इमानदारिता भए कुनै पनि पेसा सानोतिनो हुँदैन ।

चार जना कर्मचारीबाट सुरुवात गरेको ‘कुचो’ अहिले ३० भन्दा बढी कर्मचारी समेटिएको कम्पनी बनिसकेको छ । काठमाडौँ उपत्यकामा मात्र ‘कुचो’ ले प्रत्येक महिना करिब १ सय ५० घरमा नियमित सेवा दिइरहेको छ ।

सौजन सम्झन्छन्, ‘हामीले जब काम सुरु गर्यौं , विदेशमा आइटी पढेर क्लिजिङको काम गर्ने भन्थे तर अहिले हाम्रा सेवाबाट सन्तुष्ट भएर ग्राहक आफैँ साथीहरूलाई सिफारिस गर्छन् । कतिपयले त घरको मार्बल चम्किएको देखेर झस्किएरै फोन गरेका छन् ।’

यद्यपि सबै ग्राहकको सोच एउटै देखिँदैन । कसैले भन्छन्, ‘सफा गर्न यति खर्च लाग्छ र ?’ तर, विदेशबाट फर्केका ग्राहकहरू, जो प्रोफेसनल क्लिनिङ सेवा बुझ्छन्, उनीहरूले कुचोको काम देखेर सन्तुष्टि व्यक्त गर्छन् ।

केही समयअघि पुल्चोकस्थित नेपालमा ल्याइने ‘अलकत्रा’ जाँच गर्ने कार्यालयमा सफा गर्नै पनि यति महँगो भने, तर जापानबाट आएका एक व्यक्तिले ‘कुचो’को प्रस्तावमा विश्वास गरे । काम सकेपछि अफिस स्टाफ र सञ्चालक सबैै खुसी देखिए ।

अहिलेसम्म ‘कुचो’ले ६ हजारभन्दा बढी घर÷स्थानमा सेवा प्रदान गरिसकेको छ । काठमाडौँका अपार्टमेन्टदेखि नयाँ बन्ने घर, पुराना घरहरूको नवीकरणदेखि अफिस, रेस्टुरेन्ट, स्कुल– सबै क्षेत्रमा ‘कुचो’ पुगिसकेको छ ।

सफाइ संस्कृतिमा जागरण आवश्यक
सौजन भन्छन्, ‘नेपालमा अझै पनि क्लिनिङ सर्भिसप्रति चेतना कम छ । प्रायः मानिसहरू घर अत्यधिक फोहोर भएपछि मात्र सेवा सम्झिन्छन् ।’ तर, नियमित सफाइ गर्दा स्वास्थ्य, घरको दीर्घायु र जीवनशैलीमा सकारात्मक असर पर्छ भन्ने बुझाइ विस्तार हुँदै गएको छ ।

पेस्ट कन्ट्रोल सेवा ः कुचोको अर्को भरपर्दो पाटो
हालै ‘कुचो’ले सुरु गरेको पेस्ट कन्ट्रोल सेवा अत्यन्तै रुचाइएको छ । घर र अफिसहरूमा मुसा, साङ्ला, उडुस, झिँगा, धमिराजस्ता कीराहरूको समस्याले धेरैलाई सताइरहेको देखिन्छ । प्रशिक्षित टिम र सुरक्षित केमिकल प्रयोग गरेर ‘कुचो’ले त्यस्ता समस्या समाधान गर्दै आएको छ । ‘पेस्ट कन्ट्रोलको सर्भिसमा हाम्रा ग्राहकहरू पुनःपुनः फर्किन्छन्,’ दुलाल मुस्कुराउँदै भन्छन् । ‘कुचो’को सेवाबाट स्पष्ट हुन्छ— सफाइ अब केवल चोख्याउने काम होइन, यो जीवनशैली सुधार्ने प्रक्रिया हो । आधुनिक जीवनशैली, डिजाइन्ड घर, अपार्टमेन्ट र अफिसहरूले प्रोफेसनल क्लिनिङलाई अनिवार्य बनाइरहेका छन् ।

सीपसहित विदेश जाऔँ ः कुचोको नयाँ पहल
नेपालबाट विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । धेरैजसो हाउसकिपिङ, क्लिनिङ, केयरगिभिङजस्ता कामका लागि नै गएका हुन्छन् । तर, सीप नहुँदा त्यहाँ पुगेर कम तलब, अपमानजनक व्यवहार वा अस्थायी रोजगारीमा सीमित हुनुपरेको अनुभव सामान्य छ ।

नेपालीहरू पनि क्लिनिङमै जाँदा पनि प्रशिक्षित भएर जाऊन् भनेर ‘कुचो’ ले विदेश जान चाहने युवालाई सीपमूलक क्लिनिङ तालिम दिन थालेको छ, यसमा उनीहरूलाई पेसागत सफाइका टेक्निक, मेसिन प्रयोग, सेफ्टी मापदण्ड र व्यावहारिक सीप सिकाउने गर्छ ।

‘स्किल लिई विदेश जानेले राम्रो तलब, सम्मान र स्थायित्व पाउँछ,’ सौजन भन्छन्, ‘हामीले यहाँ सीप सिकाएर उनीहरूको जीवन सजिलो बनाउने कोसिस गरेका छौँ ।’

अब होम सर्भिस सोलुसन पनि
ग्राहकको माग र विश्वाससँगै ‘कुचो’ले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै कुचो सफाइ कम्पनीको साथमा सम्पूर्ण घरभित्रका समस्याहरू जस्तै, धारा बिग्रिएमा मर्मत, बत्ती, स्वीचबोर्ड, वायरिङ जाँच र फिक्सिङ वाल प्लास्टर, टायलिङ, कौसीबाट पानी चुहावटको समाधान, कोठा थप्ने (मिनि–सिभिल कन्स्ट्रक्सन), इन्टेरियर डिजाइन सल्लाह र कार्यान्वयनसमेत गर्ने गर्छन् । यसका लागि कुचो टिममा इन्जिनियर, इलेक्ट्रिसियन, प्लम्बर र इन्फेरियर डिजाइनरको टोलीसमेत रहेको छ ।

सफाइ सोचको पनि कुरा हो – सौजन दुलाल
–‘कुचो’ सुरुवात गर्ने विचार कहिले आएको हो ?
ठ्याक्कै भन्नुपर्दा, हामीले यो काम सुरु गर्नुपर्छ भनी न सोचेका थियौँ, न त योजना बनाएका थियौँ । एक दिन बागबजारमा अफिस सार्दा ‘डिप क्लिनिङ’ गर्न कम्पनी बोलाएका थियौँ । तर, उनीहरूको काम देखेर हामी छक्क पर्यौं– न उपकरण, न सिस्टम, न मापदण्ड । विदेशमा क्लिनिङ सेवा कति प्रोफेसनल हुन्छ भन्ने अनुभव हामीसँग थियो । त्यसैले हामीले सोच्यौँ, ‘यस्तो काम त हामी पनि गर्न सक्छौँ, अझ राम्रो गर्न सक्छौँ भनी म र गगन विष्ट दाइ मिलेर चार वर्षअघि सुरु गरेका हौँ ।’

क्लिनिङ कम्पनी चलाउन जोखिमपूर्ण लागेन ?
जोखिमपूर्ण लाग्नु स्वाभाविकै थियो, किनकि हाम्रो पृष्ठभूमि बेग्लै थियो । मेरो पढाइ र काम सफ्टवेयर, डिजाइन, टेक्नोलोजी हो । तर हामीले बुझ्यौँ— नेपालमा सफाइप्रति धारणा पुरानै छ । सफा गर्नु भनेको केवल कुचो लगाउने भन्ने बुझाइ छ । तर आजको घर, अपार्टमेन्ट वा होटलको सन्दर्भमा यो व्यावसायिक सेवा हो । हामीले यसलाई टेक्नोलोजी, ट्रेन्ड टिम र स्पष्ट प्रणालीसहित अघि बढाउने निर्णय गर्यौं ।

सुरुका दिनहरू कस्ता रहे ?
सुरुमा हामीसँग ठूला मेसिन थिएनन् । तर सोच स्पष्ट थियो— हामी ‘सफा काम, सीधा सेवा’ दिन्छौँ । सुरुको दुई–तीन महिनापछि नै ग्राहक आफैँ आइपुग्न थाले । सन्तुष्टि यति थियो कि उनीहरूले फेरि पनि कल गर्थे । हामीलाई त्यही बेलादेखि थाहा भयो— नेपालमा पनि प्रोफेसनल क्लिनिङको बजार छ ।

‘कुचो’ अरू क्लिनिङ सेवाभन्दा कुन हिसाबले फरक छ ?
हामी ग्राहकलाई सेवा बेच्दैनौँ, भरोसा दिन्छौँ । हाम्रो टिम प्रशिक्षित छ, उपकरणहरू आधुनिक छन् र बुकिङदेखि फिडब्याकसम्म सिस्टमै–सिस्टम छ । हामी केवल बाहिरी सफाइ गर्दैनौँ, भित्री आत्मसन्तुष्टिको अनुभव दिन चाहन्छौँ ।

अबको लक्ष्य के हो ?
‘कुचो’लाई केवल काठमाडौँमा सीमित नराखी अरू सहर र देशभर फैलाउने सोच छ । साथै, हामी यो पेसालाई इज्जतिलो र करियर बन्न सक्ने क्षेत्र बनाउन चाहन्छौँ । हामी चाहन्छौँ— क्लिनिङ सेवा दिने व्यक्ति पनि गर्वसाथ भन्न सकोस्, ‘म कुचो टिमको हुँ ।’
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *