दसैंको रमझम प्रारम्भ भइसकेको छ । हरेकजसो नेपाली समुदायले धूमधाम एवं भक्तिभावसहित देवीको पूजा–अर्चना गर्न थालिसकेका छन् । परिवारजनसँग भेटघाट गर्ने र परिवारबीच सौहार्दपूर्ण वातावरण बन्न–बनाउनसमेत तरखर हुन थालेको छ । यो दसँै उत्सव आउनै लागेको शुभसङ्केत पनि हो । यस बेला टाढा–टाढा पुगेका आफन्तजनहरू दुई दिनका लागि मात्र भए पनि आ–आफ्नो मूल घर फर्कने गर्छन् । वृद्धवयका बाबु–आमाकहाँ टीका थाप्न जस्तोसुकै दुःख खप्नुपरे पनि घर पुग्ने गर्छन् । रिस–राग पखालेर सुमधुर वातावरणमा हाँस्ने–खेल्ने र रमाइलो अनुभूति सँगाल्ने अवसर हो, यो चाड ।

धेरैले ध्यान नदिएको कुराचाहिँ यस बेला यी सबै क्रियाकलापहरूको केन्द्रबिन्दु हुने गर्छ, महादेवी । महादेवी भनेका आराध्य देवी भगवती, काली अनि महिषासुरमर्दिनी हुन् । सबै देवताहरू मिलेर महिषासुर राक्षसलाई मार्न नसकेपछि सबैले आ–आफ्ना शक्ति दिएर सिर्जना गरिएको महिषासुरमर्दिनीले महिषासुरलाई मारेको किंवदन्ती छ । सोही समयदेखि अपार शक्तिको पर्यायवाचीका रूपमा देवी देखा परेकी भन्ने गरिन्छ । सोही बेला देखा परेको वज्रयान अनि महिलाको सहभागिता, सेक्सको अपरिहार्य सहभागिता आदिमा पनि कहीँ न कहीँ नारीकै अर्थात् देवीकै उपस्थिति महसुस गरेको देखिन्छ ।
त्यस समय देखा परेका देवी महिषासुरमर्दिनी भए पनि हाम्रो समाजमा यसअघि र पछिसमेत अनेकौँ देवीको परिकल्पना गरिएको छ । समुदायमा रहनुपर्ने सम्पूर्णताको सन्दर्भमा, शक्ति–सन्तुलनको अर्थमा यी र यस्ता देवीहरू विभिन्न रूप र शक्तिका साथ अनेक भूमिकामा देखा पर्दै गरेको हाम्रो इतिहास छ । कहिले देवी शान्त स्वरूपमा देखिन्छन्, कहिले उग्र र भयानक रूपमा देखिन्छन् । यी सबैलाई आ–आफ्नै ढङ्गले विधिपूर्वक पूजाआजा गर्ने हाम्रो संस्कार छ । कुनै देवीलाई बलिका लागि हाँस चाहिन्छ, कुनैलाई बोका र कतिलाई मात्र कुखुरा बलि दिएर भक्तिभाव जनाइन्छ । शक्तिको पूजा–आराधना गरी आफू सुरक्षित हुन र शान्तपूर्वक जीवन बिताउन पनि मानवले यस्तै–यस्तै परिपाटी बसालेको सन्दर्भ पनि गजबकै देखिन्छ ।
सेक्सको उपादेयता र अस्तित्वबिना समाजको कल्पनासमेत गर्न नसकिने आदि–इत्यादि भाष्य पनि गहन रूपमा विकास भएको हाम्रो इतिहास छ, हाम्रो परम्परा छ । यो परम्परालाई जोगाइराख्न नै हरेक वर्ष आराध्य देवीलाई सम्झिने र भक्तिभावका साथ पूजाआजा गर्दै धूमधामले यो चाड अनि यस्तै चाड, जात्रा र पर्वहरू हामी मनाउने गर्छौं ।

उहिले धर्मशास्त्रीले धर्म–गाथाको निर्माण गरे । सोहीअनुसार सुहाउँदो संस्कार बन्यो । सो संस्कारलाई बचाइराख्न अनेक चाडबाड र जात्रा आदि पनि मनाउँदै आए । आम समुदायले देवीलाई केन्द्रमा राखेर यस्तै–यस्तै चाडपर्व मनाउँदै आए । साथै, भौतिक स्वरूपमा सामुन्ने बसेर भक्तिभाव दर्साउनका लागि देवीका मनमोहक मूर्तिचाहिँ कलाकारले बनाए । युवा देवीको रूपमा सौन्दर्यले भरपुर देखाउन सेक्सका अनेक प्रतीकात्मक विम्बहरू, लयात्मक, आकर्षक र कामुक शारीरिक बनोटको परिकल्पना कलाकारले गरे । किसिम–किसिमका आसन, आयुध र मुद्राहरू आकर्षक ढङ्गले बनाउन थालियो । मूर्ति कलाकारले नै बनाउने हुँदा पनि लालित्यपूर्ण मूर्ति बनाउन आङ्गित अनुपात मिलाउन कलाकार नै अग्रसर भए । शान्त–करुण रसका त्यस्ता मूर्ति बनाउन कलाकारहरू सक्रिय रहे । तसर्थ कलाकारको योचाहिँ अद्भुत परिकल्पना र रचना हुन गएको शाश्वत सत्य हो । सोही कारण कलाकारहरू पुजनीय मानिन्छन् । विधिवत् रूपमा कलाकारको हातलाई पूजाआजा गरेपछि मात्र कलाकारले देवीदेवताका चित्र वा मूर्ति बनाउने हाम्रो परम्परा छ । तर, हिजोआजचाहिँ यसको निर्वाह कत्तिको हुन सकेको छ, यो अर्कै सन्दर्भ हो ।
भक्तिभाव जगाउन धर्मगाथा बन्यो । भक्तिभाव दर्साउन लावण्यपूर्ण मूर्तिहरू बने । भाव हिजो पनि थियो, यस्तै मूर्तिहरू बने । भावभक्ति आज पनि छ, आज पनि अर्कै खाले मूर्ति बने । यी दुरुस्त बन्ने देवीका मूर्तिहरू हिजो अर्कै ढङ्गले र आज अर्कै ढङ्गले बन्दै जाँदाचाहिँ यही मूर्तिभित्रै पनि भक्तिभावका साथ कलाको एस्थेटिक मूल्य–मान्यताको पनि विचार गर्न थालियो । यसरी देवीकै मूर्ति पनि उस्ताउस्तै देखिँदा पनि आज यसको महत्व धार्मिक मात्र होइन, सांस्कृतिक, सामाजिक, आर्थिक रूपमा समेत उच्च स्तरमा पुग्यो । विश्वभरका श्रद्धालु भक्तजनका लागि पनि यी देवीका मूर्तिहरू अपरिहार्य बन्न पुगे । पर्यटकको आकर्षणको केन्द्रबिन्दु पनि तिनै देवीको मूर्ति बन्न गयो । प्रतिकृतिको रूपमा तिनै देवीका मूर्तिहरू बेचबिखन पनि हुँदै आए । आज देवीका मूर्तिहरूलाई भक्तिभावले पूजाआजा मात्र गरिँदैन, यसको एस्थेटिक मूल्य–मान्यतालाई उजागर गर्ने गरिन्छ । जतिजति यो सोच र समझ विकसित हुँदै जान्छ, त्यति नै समाज, राष्ट्र विकसित हुन्छ भन्ने भाष्य पनि अहिले विश्वभर प्रचलनमा छ ।
देवीको परिकल्पना मूलतः शाक्त सम्प्रदायको उद्भवपछि स्पष्ट रूपमा देखिन थाले पनि आजभन्दा ५ हजार वर्षपूर्व अस्तित्वमा आइसकेको थियो । सिन्धु घाँटीको सभ्यतामा समेत देवीको रूप स्पष्ट देखा परिसकेको थियो । त्यस बेला मातृदेवीको पूजा हुने परम्परा रहेको ऐतिहासिक आलेख छ । व्यवस्थित सहर, सभ्य भइसकेको मानव सभ्यतामा सामाजिक संरचना पनि व्यवस्थित नै देखिन्छ । यस बेलाको धार्मिक प्रतीक चिह्नहरूमा पनि नारीलाई प्रतिनिधित्व गर्ने अंश देखिन्छ । यस बेला माटाका कैयौँ स–साना नारीका मूर्तिहरू प्राप्त भएका छन् । प्राचीन बेबिलोनमा भूतपे्रत हटाउन आफ्नो घरको भुइँमुनि माटाका यस्ता नारी मूर्तिहरू राख्ने प्रचलन थियो । यसबाट नारीलाई शक्तिको रूपमा मान्ने र आदरभाव प्रकट गर्ने सामाजिक मान्यता रहँदै आएको देखिन्छ ।
‘सुप्रिम पावर’को रूपमा रहेको महादेवीलाई फेफिनाइन इनर्जीको प्रतीकका रूपमा परिकल्पना गरिएको छ । महादेवीको अनेक रूप छन् । दुर्गा, लक्ष्मी, सरस्वती, पार्वती, गायत्री, त्रिपुरा–सुन्दरी आदि । विशेषतः यी देवीहरूले देवीचक्र, पास, अङ्कुश, त्रिशूल आदि आयुधहरू धारण गर्ने गर्छन् । देवीको प्रतीकात्मक विम्बको रूपमा श्रीयन्त्रलाई लिने गरिन्छ । अनेक चाडपर्वहरू जस्तै ः नवरात्रि, दुर्गापूजा, वसन्त–पञ्चमी, लक्ष्मीपूजा, काली पूजा, दुर्गा अष्टमी आदिमा देवी–पुजन र बलि दिने प्रचलन छ । हेलेन टि बोर्सिसका अनुसार हिन्दू फिलोसफीमा लक्ष्मी र पार्वतीलाई महादेवीको, शक्ति र आध्यात्मिक शक्तिको रूपमा मान्ने गरिन्छ । यस हिसाबमा यसलाई ८ हजार वर्षअघिसम्म तान्ने गरिन्छ । मदर गडेशको रूपमा देवी पूजा गर्ने परम्परा पूर्ववैदिक कालदेखि नै हुँदै आएका विद्वान्हरूको मत छ । प्यालियोलिथिक एरादेखि नै देवीलाई पूजाआजा गर्ने चलन भएको पनि मान्ने गरिन्छ । ऐतिहासिक तथ्य शत प्रमाणसहितचाहिँ शक्तिइज्म वा शाक्त सम्प्रदायको उदय भएको चाहिँ गुप्त काल (इसाको ३०० देखि ७०० वर्ष) मा भएको मानिन्छ । जहाँबाट देवीका अनेकानेक धर्मगाथाहरू लेखिन थाल्यो, यसैअनुसार देवीका चित्र वा मूर्तिहरू पनि बन्न थालेको देखिन्छ ।

एक अर्को मान्यताअनुसार नारीलाई शक्तिको रूपमा मान्ने प्रचलन प्राचीन कालदेखि चल्दै आए पनि यसैलाई प्रत्यक्ष कलाद्वारा स्थापित गर्ने काम नेपालमा चाहिँ नवौँ शताब्दीको उत्तराद्र्धमा देखा प¥यो । हुन त ललितपुरमा प्राप्त गजलक्ष्मीलाई कलाकार लैनसिंह वाङ्देलले इसापूर्व दोस्रो शताब्दीका मानेका छन् । तथापि आधिकारिक रूपमा चाहिँ नेपालमा वज्रयानको प्रवेश अनि सेक्सको अवधारणाले प्रवेश पाएपछि अत्यधिक रूपमा देवी अनौठो रूपमा देखा पर्छन् । नारी र सेक्सको सन्दर्भ त बौद्ध धर्मको वज्रयान सम्प्रदायमा अझ तीव्र रूपमा आएको देखिन्छ । सो बेला नारीलाई मूल आधारबिन्दु बनाएर तन्त्र, मन्त्र, यन्त्र र सोहीमा आधारित चित्र, मूर्तिहरूको निर्माण भएका छन् । तान्त्रिक कलाको रूपमा विकास भएका यस्ता कलाहरूले विशेषतः मल्ल कालमा निकै उचाइ लियो । चित्रकलामा मात्र होइन, राजा–महाराजाहरू (प्रताप मल्ल) ले पनि तान्त्रिक बलबाट देवीलाई बोलाएर पासा खेल्ने गरेका अनेक लोकगाथा छन् । पासा खेल्दाखेल्दै राजाबाट एकपटक कुनियत प्रस्फुटन हुँदा देवी तत्कालै अलप भएकी थिइन् रे ! सोही बेलादेखि जीवित देवी कुमारीको प्रचलन पनि चलेको देखिन्छ । साक्षात् देवीको रूपमा पुजिँदै आएको यो कुमारी प्रथा अद्यावधि कायमै छ ।
सोही बेलादेखि ग्रन्थचित्र पनि भौतिक रूपमै प्राप्त हुन थालेपछि तन्त्रकला मात्र नभई अन्य विविध कला, लिपि, भाषा आदिमा अनेकौँ परिवर्तन भएका छन् । युगल जोडी लिच्छविकालमै प्रशस्तै रूपमा देखा परे पनि यसैबीच सेक्सको सन्दर्भ जोडिएपछि देखा परेका देवीदेवताका युगल जोडीहरू एक अलग्ग संयोजनमा देखिन्छन् । छिमेकी मुलुक (भारत) को गहिरो प्रभाव पर्न थालेपछि यसैसँग गाँसिएर धेरै चाडबाड नेपालमा पनि भित्रिएको देखिन्छ । दुवै राष्ट्रको स्रोत–आधारबिन्दु पूर्वीय दर्शन, समान धर्म र संस्कृति रहेको हुनाले पनि एकअर्कामा प्रभाव पर्ने सन्दर्भ यसपछिका कालमा औधी बढेर गएको देखिन्छ ।

तन्त्रकलाले पहिला बौद्ध धर्ममा र पछि हिन्दू धर्ममा गहिरो प्रभाव पार्दा नारीको अनिवार्य उपस्थितिको महसुस भएको देखिन्छ । यसले सम्पूर्णताको आभास दिलाउने कामसमेत गरेको देखिन्छ । पाँचौँ शताब्दीका शक्तिशाली राजा मानदेव प्रथमको आधिकारिक मुद्रा मानाङ्कमा कमलमाथि बसेको देवीको चित्र अङ्कित छ । कसैले यसलाई मानदेवकी महारानी (धर्मपत्नी) भने पनि अधिकांश विद्वान्ले चाहिँ देवीकै हुनुपर्छ भन्ने अभिमत राखेको पाइन्छ । मानदेवकी आमा सति नगएर आफ्नो छोरा मानदेवलाई सक्षम र आदर्श राजा बनाउने कार्यमा जुटेको सन्दर्भ पनि नारीको भूमिकासँग गहिरोसँग जोडिएको देखिन्छ । तिरहुतका राजा हरिसिंहदेवले आफू पराजित भई शरणका लागि उपत्यकामा प्रवेश गर्दा उनले तलेजु भवानी साथै लिएर आएका थिए । उनको बीच बाटोमै मृत्यु भए पनि उनका पत्नीलगायत अन्यचाहिँ उपत्यकामा रहेको भक्तपुरका राजाकहाँ शरण लिन पुगेका थिए । सोही समयदेखि नै मल्ल राजाहरूको तलेजु भवानी इष्ट देवीको रूपमा रहिआएकी छन् । तलेजु भवानी भगवतीको एक प्रभावशाली रूप हो ।
(मल्ल, कलाकार एवं कला समीक्षक हुनुहुन्छ ।)
००



Leave a Reply