हरिराम जोशी : मौरीजस्तै परिश्रमी


आजपर्यन्त प्राज्ञिक कर्मलाई पछ्याइरहेका छन्, हरिराम जोशीले । नौ दशकीय यात्रामा हिँडिरहेका उनको जीवन–डायरीमा संस्कृति, इतिहास, पुरातत्व, साहित्य–लेखनका साथै कोशकारका परिचय अटाएका छन्, स–सम्मान । केही वर्षयता फुटकर सिर्जना गरिरहे पनि जीवनको पछिल्लो कालखण्डमा थालनी गरेको ‘महाभारत कोश’ लाई भने अझै पूर्णता दिन सकेका छैनन् उनले । किन त ? भन्छन्, ‘मैले करिब पाँच वर्षअघि…

आजपर्यन्त प्राज्ञिक कर्मलाई पछ्याइरहेका छन्, हरिराम जोशीले । नौ दशकीय यात्रामा हिँडिरहेका उनको जीवन–डायरीमा संस्कृति, इतिहास, पुरातत्व, साहित्य–लेखनका साथै कोशकारका परिचय अटाएका छन्, स–सम्मान । केही वर्षयता फुटकर सिर्जना गरिरहे पनि जीवनको पछिल्लो कालखण्डमा थालनी गरेको ‘महाभारत कोश’ लाई भने अझै पूर्णता दिन सकेका छैनन् उनले ।

किन त ? भन्छन्, ‘मैले करिब पाँच वर्षअघि महाभारत–कोश लेख्न थालेको थिएँ । चार वर्षअघि अचानक मेरी धर्मपत्नी कदमकेशरी बितिन् । उनी बितेपछि यो कार्य स्थगितजस्तै भएको छ ।’ अर्कोचाहिँ, बेलाबखत ब्युँतिने स्वास्थ्य समस्याले पनि सो कार्यलाई गति दिन सकिरहेका छैनन् । करिब दस प्रतिशतजति लेखन कार्य सिध्याएपछि रोकिएको सो कोश के नेपाली वाङ्मयको सम्पत्तिका रूपमा दर्ता हुन सक्ला ? जोशी भन्छन्, ‘मैले यो कोशलाई पूरा गर्ने सङ्कल्प लिएको छु ।’

जीवन–यात्राको आखिरी चरण नियाल्दै रहेका जोशी अचेल ३–४ घण्टाभन्दा बढी सुत्दैनन् । राति १० बजे सुतेपछि रात्रिकालीन १–२ बजेतिर उठ्ने बानी लागेका उनलाई त्यसपछिका समयले चिन्तन–मनन र लेखनमा केन्द्रित रहन बाध्य तुल्याएको छ । यो उनको पहिलेदेखिकै स्वभाव हो । भन्छन्, ‘म निकै कम सुत्छु । पहिलेदेखिको यो बानीले निरन्तरता पाइरहेको छ ।’

अखबारले डो¥यायो लेखनतिर
पाटनस्थित मङ्गलबजारमा जोशी परिवारले अपनाउँदै आएको थियो, कपडा–व्यापार । उनका हजुरबुबाले थालनी गरेको कपडा–व्यापार पूरै जमेको थियो । सोही व्यापार अपनाएका पितालाई फुर्सदको समय सघाउँथे उनी । उनी सम्झिन्छन्, ‘म बीस वर्षसम्म बुबालाई सघाउन कपडा पसलमा बसेँ ।’ पछि भने उनले पुर्खाले अपनाएको व्यापारलाई पछ्याउन चाहेनन् र लेखन÷प्राज्ञिक कर्मतिर आफूलाई डो¥याउन उचित ठाने । तात्कालिक समय मङ्गलबजार सामान्य बजार थियो । सो इलाकामा ताम्राकार समुदायको बाहुल्य थियो ।

२००४ सालपछि काठमाडौँ, पाटनलगायत क्षेत्र नयाँ राजनीतिक परिघटनामा रङ्गिन थालिसकेका थिए । राणा शासनविरोधी आन्दोलनले गति समात्न लागिरहेको त्यस समय उनीभित्र पनि राजनीतिक सचेतना पलाउन थालिसकेको थियो । आफू १२–१३ वर्ष हुँदादेखि नै उनमा पत्रपत्रिका पढ्ने बानी बस्यो । भन्छन्, ‘त्यस समय काठमाडौँको बाङ्गेमुडास्थित सन्देश गृहमा मात्र भारतीय पत्रपत्रिकाहरू आउँथे र म दिनहुँजसो सो ठाउँमा गई पत्रिका किनेर पाटन फर्किन्थेँ । त्यो समयदेखि अखबार पढ्न बानी लागेको हुँदा अहिलेसम्म छुटेको छैन ।’
त्यस समय ‘नवभारत टाइम्स’, ‘टाइम्स अफ इन्डिया’, ‘आज’, ‘अमृत बजार’जस्ता अखबारहरू आउँथे । ती अखबारले कहिलेकाहीँ नेपालमा चलिरहेको राणा शासनविरोधी आन्दोलनबारे समाचारसमेत छाप्थे । उनी तिनै अखबारहरू पढेर आफूलाई राजनीतिक घटनाक्रमप्रति ‘अपडेट’ राख्थे ।

प्रेरणादायी रहे आफ्नै मामा
२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको संस्थापकमध्ये थिए, निरञ्जन गोविन्द वैद्य । वैद्य उनका आफ्नै मामा परे । मामाको प्रेरणास्वरूप किशोर÷युवाकालीन दिनहरूमा उनी विद्यार्थी आन्दोलनमा समेत होमिए । भन्छन्, ‘२००८÷००९ सालतिरको विद्यार्थी आन्दोलनमा म सक्रिय थिएँ ।’

कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएपछि उनलाई मामा वैद्यले सम्पर्क गर्दै भनेका रहेछन्, ‘भान्जा बाबु ! हामीले नेपाल कम्युनिस्ट पार्टी स्थापना ग¥यौँ, यो पार्टी संसारका धेरै मुलुकमा फैलिइसकेको छ । अब तिम्ले पनि यही पार्टीमा आबद्ध रहेर काम गर्नुपर्छ ।’ त्यस समय वैद्य भने वीरगन्जवरपरका क्षेत्रमा क्रियाशील थिए ।
पछिल्लो समय भने उनमा कम्युनिस्टप्रति वितृष्णा जाग्दै गयो । भन्छन्, ‘स्टालिनको मृत्युलगत्तै सोभियत सत्ता सम्हाल्न पुगेको खु्रश्चेभले स्टालिनलाई गद्दार घोषणा गरे । मृत्यु नहुन्जेलसम्म देउताजस्तै ठानिएका स्टालिनलाई मृत्युलगत्तै गद्दार घोषणा गर्दा म चकित परेँ । यस्तो पार्टीमा बस्न मन नलागेपछि मैले कम्युनिस्ट पार्टी छोडेँ ।’

लेखनतिर झुकाव
२०११ सालको कुरा थियो त्यो । एक दिन टुँडिखेलमा पुग्दा उनीभित्रका भावना प्रस्फुटित हुन थाल्यो र लेखे, एउटा कविता । तात्कालिक समय राजनीतिज्ञहरूप्रति जनपङ्क्तिमा देखिएको असन्तोषलाई प्रतिविम्बन गर्दै सो कविता लेखेका थिए । कविता–लेखनअघि भने उनले अनुवाद कार्यमा हात हालिसकेका थिए । २०१० सालमा त उनीद्वारा अनूदित ‘समाजको विकास’ नामक पुस्तक बजारमा आइसकेको थियो । हिन्दी भाषाबाट अनूदित सो पुस्तक रसियन लेखक लियोन्टियोवले लेखेका थिए ।
उनी २०१४ सालतिरको एउटा घटना सम्झिन्छन् । त्यस समय तारिणीप्रसाद कोइरालाले निकाल्थे, ‘दियालो’ । प्रकाशनको केही समयपछि नै सरकारले ‘दियालो’ माथि प्रतिबन्ध लगायो । उनी सम्झिन्छन्, ‘सो पत्रिका बन्द गरिएपछि जनताले जुलुस निकाले । पत्रिका बन्द गर्न पाइँदैन भनी जुलुस निस्किएको त्यो नै पहिलो घटना हुनुपर्छ ।’
त्यसो त उनको लेखन–धरातल नियालेका साहित्य–सर्जकहरू प्रशस्तै थिए, दसको दशकताका । बीपी कोइराला, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, केदारमान व्यथित, भवानी भिक्षुका साथै राजनीतिज्ञ डिल्लीरमण रेग्मीले उनको लेखनमाथि टिप्पणीसमेत गरेका थिए । २०१४ सालमा बीपीले लेखेका थिए, ‘श्री हरिराम जोशीको पुकार कविता पढेँ । कोमल भावनाले ओतप्रोत भएका कविताहरू रसिला छन् ।’

जीवनका प्रारम्भिक समयताका कविता–लेखनप्रति आकर्षित भएका उनले आफूलाई सो विधाबाट पृथक् तुल्याएर संस्कृति, इतिहास, पुरातत्वका साथै कोश–लेखनतिर ढल्काए । संस्कृतिको अध्ययन÷लेखनतिर झुकाव रहनुमा कसैको प्रेरणा थियो कि ? उनी भन्छन्, ‘मैले कुनै पनि कार्यको थालनी गर्दा स्वविवेकले गरेँ । संस्कृति लेखनमा पनि आफ्नै स्वविवेकले लागेको हुँ ।’

जीवनको घुम्तीमा भेटिएका केही प्रेरणादायी व्यक्तिको सङ्गतका कारण पनि उनले आफूलाई केही क्षेत्रमा खार्न पाए, जसमध्ये प्रो. गोकुलचन्द्र शास्त्री उनको स्मृतिको डबलीमा सदैव झुल्किइरहन्छन् । तात्कालिक समय पाटन हाई स्कुलमा शिक्षक रहेका शास्त्री पछि भने त्रिचन्द्र कलेजमा आबद्ध भए । सोही समय संस्कृति विभाग गठन भयो । संस्कृति विभाग स्थापना भएपछि त्यसको पहिलो ब्याचीका रूपमा जोशी पनि सामेल भए ।
केही उन्मुक्त स्वभावका जोशीलाई कक्षा–कोठाको बसाइ जेलजस्तै लाग्न थाल्यो । प्रो. शास्त्रीका ‘प्रिय विद्यार्थी’ मा गनिने उनले एक दिन भने त्रिचन्द्र कलेज छाडे । कलेज छाडेपछिको एक दिन बाटोमा हिँडिरहेका बेला प्रो. शास्त्रीसँग भेट हुँदाखेरि उनलाई शास्त्रीले स्पष्टीकरणको भाषामा सोधे, ‘तिम्ले कलेज किन छाडेको ?’ निकै चासोपूर्वक शास्त्रीले थप सोधे, ‘तिमी किन कलेज नआएका हौ ? पैसा नभएर नआएका हौ कि ? के भएर नआएका हौ ? यदि तिमी पैसा अभावको कारण नआएका हौ भने म तिम्रो सबै खर्च बेहोरिदिन्छु ।’
उनी भोलिपल्टदेखि कलेज जान थाले । प्रो. शास्त्रीले खालि चेक दिँदै भने, ‘तिमी आफ्ना बाँकी सबै फि तिरेर आऊ ।’ तर उनले शास्त्रीसँग पैसा लिएनन् । प्रो. शास्त्रीको उत्प्रेरणास्वरूप उनले संस्कृतिसम्बन्धी अध्ययनमा आफूलाई गहिरो रूपले डुबाउँदै लगे । भन्छन्, ‘त्यसपछिका दिनहरूमा मैले संस्कृति र इतिहाससम्बन्धी अध्ययन÷लेखनमा आफूलाई समर्पित तुल्याउँदै लगेँ ।’ उनी दाबी गर्दै भन्छन्, ‘नेपाली संस्कृतिबारे मैलेजति अरूले सायदै लेखेका होलान् !’
नेपाली संस्कृतिको गहन अध्ययन, अनुसन्धान र लेखनमा जीवनका ऊर्जावान् वर्षहरू खर्चिएका जोशीलाई २०५८ सालमा मदन पुरस्कारद्वारा सम्मानित गरिएको थियो । उनको ‘अभिनव संस्कृति कोश’ ले सो पुरस्कार पाएको थियो । करिब दुई दशकभन्दा लामो समयको अथक मिहिनेतपछि प्रकाशित सो कृति उनको संस्कृतिप्रतिको गहिरो मोहको दृष्टान्त हो ।

जागिरे जीवनमा पनि साधनामै व्यस्त
२०२३ सालमा सेक्सन अफिसरमा नाम निकालेपछि सरकारी सेवा प्रारम्भ गरेका जोशी उपसचिव तहबाट सेवानिवृत्त भए । उनका समकक्षी नारायणशमशेर थापालगायत भने सचिवसम्म भए । उनी भन्छन्, ‘म आफ्नै स्वभावको मानिस परेँ । अन्तरआत्माले नमानेका काम मैले गरिनँ । यिनै कारण हुनुपर्छ, म उपसचिवबाटै रिटायर्ड भएँ ।’
सरकारी सेवामा कार्यरत रहे पनि उनले लेखन कर्म भने छाडेनन् । संस्कृतिलगायत विषयमा निरन्तर अध्ययन गरिरहे र लेखिरहे पनि । सिर्जना र साधनाको नक्सांकनबाट आफूलाई कहिल्यै अलग राख्न चाहेनन् । जसको प्रतिफल, आज नेपाली संस्कृति र वाङ्मय क्षेत्रले जोशीकृत गहन कृतिहरू पाएका छन् ।

छोराको स्मृतिमा शब्दकोश
उनले ३१ वर्षसम्म ‘रोलम्ब’ नामक जर्नल निकाले । मौरीलाई संस्कृत भाषामा ‘रोलम्ब’ भनिन्छ । हुन पनि उनी जीवनभर मौरीजस्तै कर्तव्यपरायण र अथक परिश्रमी भूमिकामा रहिरहे । उनले ‘रोलम्ब’ निकाल्दाताका डा. जयराज आचार्य बानेश्वरस्थित एउटा कलेजका प्राचार्य थिए । उनी ‘रोलम्ब’ र आफ्ना अरू पुस्तकहरू बेच्नका लागि आचार्यकहाँ गइरहन्थे । एक दिन आचार्यले भने, ‘तपाईंले एउटा काम गर्नुप¥यो, जुन अहिलेसम्म नेपाल सरकार, एकेडेमी, युनिभर्सिटी, मदन पुरस्कार गुठीजस्ता संस्थाले गरेनन् । अब तपाईंले गर्नुप¥यो ।’ उनले उत्सुक हुँदै सोधे, ‘के काम हो त्यस्तो ?’
आचार्यले भने, ‘तपाईंले नेपाली संस्कृतिसम्बन्धी एउटा कोश तयार पार्नुप¥यो । तपाईंले चाहनुभयो भने गर्न सक्नुहुन्छ ।’ आचार्यलाई भेटेर घर फर्किएपछि थाले उनले लेख्न, ‘प्रदीप अभिनव विश्व संस्कृति कोश’ । जुन कोश उनले एक वर्षमै तयार पारेका थिए ।
२०७० सालमा उनले ज्येष्ठ सुपुत्र प्रदीपराम जोशीको दुःखद मृत्युको पीडा र शोक झेल्नुप¥यो । सुपुत्रको निधन–पीडाबीच बाँचेका उनले छोरालाई समर्पित गर्दै सो कोशको नाममा ‘प्रदीप’ राखे । सो कोश प्रकाशनको आफ्नै कथा पनि छ । सुपुत्रको निधनपश्चात् उनलाई भेट्न वामपन्थी नेता नारायणमान बिजुक्छे ‘रोहित’ पुगेका थिए । रोहितले उनको लेखनप्रति चासो राख्दै जाने क्रममा फ्याट्टै भने, ‘यो कोशको प्रकाशनको अभिभारा म लिनेछु ।’
उनी भन्छन्, ‘मेरो लेखन देखेर रोहितले यस्तो चासो राख्नुभएको रहेछ । सो कोश प्रकाशन भएपछि मलाई ५०–६० प्रति दिनुभएको थियो ।’

वसन्तप्रति मोहित
१९९२ सालको वसन्त ऋतुमा जन्मिएका उनले कुनै समय उपनाम राखेका थिए, ‘वसन्त’ । २०१५ सालमा प्रकाशित ‘बहिनी पूजा’ नामक कृतिमा उनले नामको पछाडि ‘वसन्त’ उपनाम झुन्ड्याएका थिए, जुन कृतिमा सत्यमोहन जोशीले भूमिका लेखेका थिए । उनी भन्छन्, ‘मलाई वसन्त ऋतु निकै मन पर्छ । त्यो ऋतुमा अनेक फूल फुल्नाका साथै पन्छीहरूका सुमधुर गान सुन्न पाइन्छ ।’
वसन्त ऋतुमा अनेक प्रजातिका फूलहरूले धर्तीलाई शोभान्वित तुल्याउँछन् । बिनासन्देह भन्नैपर्छ, जोशीले पनि नेपाली वाङ्मयलाई संस्कृति, इतिहास, पुरातत्व, काव्य, कोशजस्ता अनेक फूलरूपी कृतिहरूले नेपाली वाङ्मयलाई सुशोभित र शोभान्वित तुल्याउँदै आए । अर्चनीय छ उनको अनुपम कृत्य ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *