चार दशकभन्दा बढी भयो, म यो यात्रामा छु— प्रकाश र छायाबीच जीवनका हजारौँ कथा टिप्दै । थुप्रै मोडहरू देखेको छु— फोटोकै लागि खाना त्यागिएको दिन, पाइन्ट डढाएर काम गुमाएको दिन अनि क्यामेरा जोगाउन घाइते भएर पनि फोटो नछोडिएको क्षण ।
त्यो सबैको जग एउटा थियो— फोटो । जसरी कलाकार रङसँग रमाउँछ र सङ्गीतकार सुरसँग । म भने दृश्यसँग रमाउँछु ।

हामी काठमाडौँ, खिचापोखरीका रैथाने नेवार हौँ । हाम्रो परिवारका चार दाजुभाइमध्ये म परेँ माइलो सन्तान । त्यस बेला बुबाले ‘विकास लज’ सञ्चालन गर्नुभएको थियो र उहाँ ट्रक र बस व्यवसायमा पनि जोडिनुभएको थियो ।
जब दाइ ९ कक्षामा र म ७ कक्षामा पढ्दै थिएँ, बुबाले एक दिन हामीलाई खाना खाने बेलामा भन्नुभयो, ‘अब तिमीहरू पनि ठूला भयौँ, अबदेखि भविष्य के गर्ने, कसले के जिम्मा लिने भन्ने कुरा सोच्नुपर्छ ।’ त्यस दिनको कुराकानी हाम्रो जीवनको दिशानिर्देशक बन्दै थियो ।
बुबाले हामी दाजुभाइको काम बाँडफाँड गर्दै जेठो दाइलाई भन्नुभयो, ‘तँ त अब मसँगै गाडीमा हिँड्, गाडीको काम सिक् ।’ म केही नबोली चुप लागेँ । त्यसपछि साइँलो भाइतिर हेर्दै भन्नुभयो, ‘तँ डाइनोमा मेकानिकल काम सिक् ।’
मतिर पुलुक्क हेरेर भन्नुभयो, ‘यो त जीउले पनि सानो छ, यसलाई टेलर मास्टर बनाउँछु ।’ त्यस बेला ‘जुजुभाइ टेलर्स’ निकै चर्चित थियो— सायद त्यसैले मेरा निम्ति टेलरको काम सोच्नुभएको हुनुपर्छ । त्यो रात म सुत्न सकिनँ । मनमा अनेक सोचहरू आइरहे— के म टेलर मात्रै हुने हो ? मेरा लागि अरू केही सम्भावना छैन ?
दुई दिनपछि बुबालाई ‘म टेलर मास्टर बन्छु, मेसिन किनिदिनुपर्यो’ भनेँ । बुबाले ‘पहिला सिक्’ भनेपछि म खिचापोखरीस्थित सुनिता टेलर्समा तीनमहिने कोर्स गर्न गएँ । त्यो काठमाडौँको पहिलो टेलर्स थियो । त्यसपछि गीता सिलाइ भोटाहिटी, नमुना सिलाइ, न्युरोड र जुजुभाइ सिलाइ थियो । मैले तीन महिनामा हनुमान कट्टुदेखि सर्ट, पाइन्ट, ब्लाउज, पेटिकोट, चौबन्दी चोली, दौरा–सुरुवाल काट्न र सिलाउन सिकेँ, जुन बेला म ८ कक्षामा पढ्दै थिएँ । पहिलो पटक मैले बाहिरको सर्ट सिलाउँदा २ रुपियाँ ५० पैसा ज्याला लिएको थिएँ । त्यो मेरो जीवनको पहिलो कमाइ थियो ।
पछि मैले ‘क्याटलक’हरू हेरेर टोल, छिमेकी र आफन्तहरूको गाउन, कुर्ता, बख्खुसमेत सिलाइ दिन थालेँ । मेरो काम देखेर डेल अलमोडा टेलर्समा काम गर्ने ‘अफर’ आयो । १४ वर्ष पुग्दानपुग्दै टेलरिङ पसलमा काम सुरु गरेँ । महिनाको दुई सय तलबमा । तर, एक दिन गफ गर्दै आइरन गरिरहेको थिएँ, पाइन्ट डढेछ । तलबभन्दा बढी मूल्यको पाइन्ट डढेपछि म भागेँ र त्यसपछि फर्केर गइनँ ।
त्यसै समय कलाकार बन्ने हुटहुटी जाग्दै थियो । बुबाले डबलीमा नाटक अभिनय गरेको देखेर हुर्किएको थिएँ । स्टेजमा उभिने रहरस्वरूप ‘लालुपाते कल्चर ग्रुप’ मा आबद्ध भएँ । नाच्न सिकेँ, गाउन थालेँ । शंकर होटलमा प्रस्तुति दिन थालेँ । विदेश जाने सपना थियो । त्यो सपना ‘चिनजान नभएको’ कारण टुट्यो ।

एकपटक दाइको ‘बिजनेस पार्टनर’को भिडियो क्यामेरा घरमा ल्याउँदा मैले खिचेको भिडियो राम्रो हुने तर दाइ, भाइ र अरूले खिचेको भिडियो हल्लिने देखियो । मलाई हौसला मिल्यो र ‘म यो काम गर्न सक्छु कि ?’ भन्ने लाग्यो । यो २०४१ सालतिरको कुरा हो । त्यसपछि मलाई बिहेको भिडियोका लागि ‘बुक’ गर्न थालियो । राम्रो खिच्न थालेपछि ‘डिमान्ड’ बढ्न थाल्यो ।
त्यस बेला न्युरोडमा धेरै भिडियो जक्सनहरू थिए । मलाईचाहिँ साथी अजय मानन्धरले आफ्नो भिडियो जक्सनबाट बुक गरिदिन्थ्यो । मसँग भिडियो क्यामेरा थिएन । भिडियो क्यामेरा ‘हायर’ गरेर बिहे खिच्न पुग्थेँ । हरेक बिहेको सिजनमा म पूरै ‘प्याक’ हुन्थेँ ।

बिहेको सिजनमा प्रशस्तै पैसा कमाइन्थ्यो । मैले जीवनमा प्राय: भोज र आफन्तका पार्टीहरू मिस गर्न थालेँ, किनकि बिहेको भिडियोका लागि वर्ष दिनअघि नै बुकिङ हुन्थ्यो ।

मोडिएँ चलचित्रतिर
कीर्तिपुरका मेरा साथी नवीन जोशीले एक दिन अफर गरे— नेपाल भाषामा बन्न लागेको ‘चरित्र’ नामक चलचित्रको भिडियो खिच्न । पारिश्रमिक थियो, ३५ हजार रुपियाँ । त्यो समय त्यति रकम मेरो लागि ठूलो भएको हुँदा उत्साहका साथ काम गरेँ ।
त्यसपछि ढोका खुल्दै गयो— भिडियो फिल्म, टेलिफिल्म र सिनेमाका अफरहरू आउन थाले । केही वर्षपछि नै मैले महसुस गरेँ, मलाई भिडियोभन्दा स्टिल फोटोमा अझ बढी रुचि रहेछ ।
त्यसपछि सिनेमाका पोस्टर, शोकार्ड र पब्लिसिटीका लागि फोटो खिच्न थालेँ । स्टिल फोटोग्राफीमा म आफूलाई अझ नजिक पाउँथेँ— रचनात्मक, संवेदनशील र कलात्मक । आज म गर्वका साथ भन्न सक्छु— नेपाली चलचित्र क्षेत्रमा स्टिल फोटो सबैभन्दा धेरै खिच्ने फोटोग्राफर म नै हुँ ।
फोटोग्राफर बन्ने मोड
वसन्तपुर, जहाँ म बाल्यकालदेखि खेल्दै हुर्किएँ । त्यो ठाउँ मेरो दोस्रो घरजस्तै थियो । त्यहीँनेरको कालभैरवअगाडि आरएनएसीले ठूला–ठूला पोस्टरहरू छापेर बेच्थ्यो । ती सबै फोटा आकर्षक भए पनि फोटोग्राफरचाहिँ प्राय: विदेशी नै हुन्थे ।
एक दिन ममा सोच आयो, ‘हाम्रो देशको फोटो हामी आफैँले किन नखिच्ने ? किन सधैँ विदेशीकै क्यामेरामा हाम्रो पहिचान देखिनुपर्ने ?’ त्यस बेलादेखि मभित्र आत्मविश्वास पलाउन थाल्यो ।
सोही क्रममा एक दिन रानीपोखरीको फोटो खिचेँ र त्यो फोटो आफैँलाई असाध्यै मन पर्यो । त्यसलाई राम्रोसँग धुलाएर माउन्ट गरेँ र घरको भित्तामा टाँसेँ । घर आउने जोकोही पनि त्यो फोटो देख्नेबित्तिकै भन्थे, ‘आहा ! कति राम्रो फोटो !’


त्यो एउटै प्रतिक्रिया, त्यो एउटै फोटोले मलाई फोटोग्राफर बन्ने हौसला दियो । म बुझ्न थालेँ— क्यामेरा केवल यन्त्र होइन, दृष्टिकोण हो, हेर्ने तरिका हो । त्यही दिनदेखि मेरो जीवनमा फोटो केवल सोख होइन, यात्राको दिशानिर्देशक बन्न थाल्यो ।
त्यस समय डिजिटल होइन, रिलको युग थियो । एउटा रिललाई ५० रुपियाँदेखि ८० रुपियाँसम्म पथ्र्यो । रिल खिचिसकेपछि धुलाउन मात्रै २० रुपियाँ लाग्थ्यो । प्रिन्ट गर्दाचाहिँ प्रत्येक फोटोको ३ रुपियाँ । यसरी एउटा फोटो तयार पार्न करिब १ सय ९० रुपियाँ लाग्थ्यो ।
त्यो खर्च थेग्नु सजिलो थिएन । तर, त्यो खर्चको पछाडि थियो, मेरा सपनाहरू । ती फोटोहरू म विभिन्न पत्रपत्रिकामा पठाउँथेँ । फोटो हेरेर पत्रिकाले एउटाको २० रुपियाँदेखि ५० रुपियाँ सम्म दिन्थे । कहिलेकाहीँ धेरै मन परेको खण्डमा अलिक बढी पनि मिल्थ्यो । त्यसपछि मैले सोच्न थालेँ, कसरी राम्रो फोटो खिच्ने ? कसरी बढीभन्दा बढी फोटो छपाउने ? यही सोच र मिहिनेतले मलाई धकेलिरहन्थ्यो । पोखराको लेकसाइडमा वाकम्यान, स्पिकर र १० वटा रिल हालेर जान्थेँ । तालमा डुङ्गा रिजर्भ गरेर बस्थे, राम्रो मौसमका लागि । त्यति बेलासम्म मसँग नयाँ क्यामेरा किन्ने सामथ्र्य थिएन । त्यसैले सेकेन्ड ह्यान्ड क्यामेरा र लेन्सहरू किन्थेँ ।

पासाङ ल्हामुको अफिसियल फोटोग्राफर
नेपाल टेलिभिजनका मित्र राजु सिलवालको माध्यमबाट मेरो परिचय सोनाम शेर्पासँग भयो । उहाँले भन्नुभयो, ‘मेरी श्रीमती पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्न लागिरहनुभएको छ, अफिसियल फोटोग्राफरको रूपमा तपाईंलाई जिम्मा दिन चाहन्छु ।’ त्यो जिम्मेवारी मेरा लागि केवल काम होइन, गर्वको अवसर थियो । म लुक्लासम्म पासाङ ल्हामुका साथमा गएँ । लुक्लामा सगरमाथा चढ्नुअघि पासाङ ल्हामुले मलाई हेर्दै भनेको कुरा आज पनि मनमा घन्किरहन्छ, ‘म सगरमाथा चढेर फर्किन्छु, अनि नाम्चेमा रमाइलो गर्दै फर्किनुपर्छ है ।’
तर… फर्किंदाखेरि पासाङ ल्हामुको पार्थिव शरीर मात्र आयो । उहाँलाई श्रद्धाञ्जली दिन रङ्गशालामा राखिएको बेला म निरन्तर फोटो खिचिरहेथेँ । एउटा यस्तो क्षण आयो, जहाँ मेरा आँखा धमिला भए र म भक्कानिन थालेँ । आज पनि ती दृश्य, ती भावना मनमा ताजा छन् । फोटोग्राफीले मलाई केवल दृश्य होइन, भावना पनि समात्न सिकायो । पासाङ ल्हामुको त्यो आखिरी यात्रा मेरो जीवनको गहिरो सम्झनाभित्र अमर भएर बसेको छ ।
कुमारीको फोटो : घाइते म, सुरक्षित क्यामेरा
२०४२ सालतिरको कुरा हुनुपर्छ, त्यो दिन वसन्तपुरको भीड बेग्लै थियो । जीवित देवी कुमारीलाई रथमा राख्न बोकेर ल्याउने क्षण । त्यो फोटो खिच्न लालायित थिएँ ।
एक एङ्गलबाट फोटो खिचिसकेपछि अर्काे कोणबाट झन् राम्रो फ्रेम मिलाउने चाहनाले म हतारिँदै अघि बढेँ तर भीड र हडबडबीच चिप्लिएँ । भुइँमा लडेँ, हात, खुट्टामा घाउ लाग्यो, छाती बजारियो । तर, त्यो क्षणमा मैले आफ्नो पीडाभन्दा पहिला क्यामेरालाई सम्झिएँ । लड्ने क्रममा हातमा रहेको क्यामेरा उचालेर जोगाएँ र लडेकै ठाउँबाट धूलो र घाउको बेवास्ता गर्दै फोटो खिच्दै रहेँ ।

२४ घण्टाको त्यो करामत
२०५४ सालतिर आइपुग्दा म विभिन्न ट्राभलर म्यागेजिनहरूका लागि फोटोसुट गर्न थालिसकेको थिएँ । त्यस बेला काठमाडौँमा कलर प्रिन्ट छाप्ने सुविधा थिएन, त्यसैले म्यागेजिनको प्रिन्टिङको काम बैंकक पठाउनुपथ्र्यो । एड्भेन्चर नेपाल म्यागेजिनको कभर पेजको लागि एउटा फोटो चयन भइरहेको थियो, जसमा टाढाबाट देखिने सानो हिमाल थियो । तर, त्यो फोटोले मलाई कतै पनि तान्न सकेन । मेरो बुझाइमा कभर फोटोले पाठकको ध्यान तान्नुपर्छ, कथा बोल्नुपर्छ, भावना जगाउनुपर्छ । त्यो फोटो त्यो स्तरमा पुगेको थिएन । मैले सम्पादकलाई भनेँ, ‘म आफैँ खिचेर ल्याउँछु ।’ उहाँले जवाफ दिनुभयो, ‘समय छैन, छिटो चाहिन्छ ।’ मैले अठोट गरेँ, ‘आज नाइटमा पोखरा गएर २४ घण्टामै ल्याउँछु ।’ त्यसपछि म नाइट बस चढेर आवश्यक दृश्यको खोजीमा निस्किएँ । बिहान सबेरै गन्तव्यमा पुगेँ र फोटो खिचेँ । त्यसका लागि मैले विशेष जुम लेन्स किन्नुपरेको थियो । खिचिएको फ्रेमले मलाई सन्तोष दियो भित्रैदेखि । बिहान ७:३० बजेभित्र काठमाडौँ फर्किएर फोटो बुझाएँ । त्यस फोटोको पारिश्रमिक थियो एक हजार रुपियाँ ।

१९९७ देखि मिस नेपालको अफिसियल फोटोग्राफर
म सन् १९९७ सालदेखि मिस नेपालको अफिसियल फोटोग्राफर भएँ । गोपाल कक्षपति दाइले प्रतियोगीहरूलाई कसरी फोटोपोज दिने, कसरी मिडिया ह्यान्डल गर्ने सिकाउनुपर्छ भन्नुभयो । सुरुमा डर लाग्यो । घर आएर चारवटा किताब पढेँ, पोट्र्रेट, फेसन, मोडलिङ र फोटोग्राफी सम्बन्धी । नोट बनाएँ, कक्षा लिएँ । त्यो कक्षा प्रतियोगीहरूलाई मात्र होइन, मलाई पनि मोडल फोटोग्राफीमा प्रशिक्षणजस्तै बन्यो ।
आज पनि पुराना मिस नेपालहरू भेट्दा भन्छन्, ‘सर, तपाईंबाट नै सिकेका थियौँ । अहिले अरूलाई सिकाइरहेका छौँ ।’ त्यो सुन्दा दङ्ग हुन्छु ।

आज पनि जब क्यामेरा समाउँछु, पहिलो पटक समाउँदाखेरिको ऊर्जा ब्युँतिन्छ मभित्र । फोटोलाई म पेसा हैन, अभिव्यक्तिको माध्यम मान्छु । म फोटोमा जिन्दगी देख्छु, सजीव, संवेदनशील र उत्तिकै सत्य पनि ।

हुन त म धेरै कुरामा फेल भएँ— एसएलसीमा, पसलमा, अभिनयमा । तर फोटोग्राफीमा म कहिल्यै पछि परिनँ । किनकि म थाकिनँ । हरेस खाइनँ । मैले जीवनमा यही सिकेँ, ‘काम छोडिएन भने सफलता निश्चित हुन्छ ।’ म फोटोग्राफर त हुँ, तर वास्तवमा म एक कथाकार हुँ, प्रकाश र छायाको भाषामा जिन्दगी लेख्ने !



Leave a Reply