जेन जी पुस्ताकी इन्दु वर्मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘टस’ गर्छिन् । ब्याटिङ् वा फिल्डिङ् छनोट गर्छिन् । ११ वर्षको उमेरमै ब्याटिङ र बलिङ गरेकी इन्दु क्रिकेट ‘करिअर’को शिखरमा छिन् । २७ वर्षिया उनी एक वर्षदेखि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरिरहेकी छिन् । अन्तर्राष्टिय क्रिकेट मैदानको ‘क्रिज’मा उभिन्छिन् । विपक्षीलाई ‘बोल्ड आउट’ वा ‘क्याच आउट’ गर्दा खुसीले उफ्रिन्छिन् ।

इन्दुले कलिलै उमेरमा सफलताको चुली टेकेकी होइनन् । अभाव, दु:ख र संघर्षका पहाड चढ्दै करिब १५ वर्षसम्मको क्रिकेट–लगावले उनी अहिलेको उचाइमा पुगेकी हुन् । उनी आफ्ना समकालीन खेलाडीलाई म्याच सुधार्न गाइड गर्छिन् । फिटनेससँगै व्याटिङ र बलिङ तिखार्न सुझाव दिन्छिन् । क्रिकेटकी ‘अलराउण्डर’ खेलाडी हुन् उनी ।
उद्गमबिन्दु बन्यो विद्यालय मैदान
पहाड (बाग्लुङ) मा आयस्रोत सीमित हुँदा २०६१ सालमा उनको परिवार रूपन्देही झरे । सुरुमा सरकारी स्कुलमा भर्ना भए पनि उनलाई बोर्डिङ स्कुलमा पढ्न मन लाग्यो । भाइसँगै एपेक्स बोर्डिङ स्कुलमा कक्षा ५ मा भर्ना भइन् । छात्रहरु स्कुलको मैदानमा क्रिकेट खेलिरहेका हुन्थे । एकदिन उनी स्कुलको अतिरिक्त क्रियाकलाप हेर्ने शिक्षक उमेश श्रेष्ठसामु पुगिन् र छात्राहरुलाई पनि क्रिकेट खेल्ने वातावरण मिलाइदिन आग्रह गरिन् । छात्राहरुको ‘क्रिकेट–क्रेज’ देखेर प्रिन्सिपल दीपक गौतमले छुट्टै क्रिकेट कोचमा वसन्त शाहीलाई नियुक्त गरे । अन्तत: सोही स्कुलको मैदान नै उनको क्रिकेट करिअरको उद्गमथलो बन्यो ।
इन्दु विभिन्न विद्यालय तहका क्रिकेट प्रतियोगितामा सहभागी हुँदै गइन् । खेलकुदमा व्यस्त रहँदा पढाइ कमजोर हुँदै गएपछि स्कुलले नै छुट्टै शिक्षकको व्यवस्था गरिदियो । २०६९ सालको एसएलसीमा ६८ प्रतिशत ल्याई प्रथम श्रेणीमा उत्तीर्ण भइन् उनी । क्रिकेटमा ‘पिकअप’ लिन थालेपछि खेल–प्रशिक्षक उमेश श्रेष्ठले धेरै हौस्याए ।


सरकारी स्कुलमा छँदा दौड प्रतियोगितामा प्रथम हुने उनले बोर्डिङ स्कुलमा भने बलिङ र ब्याटिङमा जादु देखाउन थालिन् । रूपन्देही जिल्लाको प्रतिनिधित्व गरेर यु–१६ खेल्न नेपालगन्ज पुगिन् । अद्भूत थियो उनको खेल–कौशल । नेपालगन्जमा चुनिएपछि उनलाई क्षेत्र नं. ४ को तर्फबाट राष्ट्रियस्तरमा खेल खेल्ने अवसर मिल्यो ।
उनले २०१० मा एसीसी यु–१९ मा सिंगापुरमा डेब्यु गरेकी थिइन् । यु–१९ मा छनोट भएपछि इन्दुको ‘पर्फर्मेन्स’ उत्कृष्ट देखियो । ब्याटिङभन्दा बलिङ झन् बबाल देखियो । नेपालले यु–१९ को एसीसी महिला कपको तीन संस्करणमा भाग लिँदा हरेक पटक टिममा छनोट भइन् । २०१४ मा उनले कोरियामा एसिया कप खेलिन् । २०१६ बाट नेपालका लागि नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेकी छन् । क्रिकेट खेल्ने क्रममा हालसम्म कोरिया, पाकिस्तान, बंगलादेश, कतार, मलेसिया, दुबई, थाइल्यान्ड, हङकङ, चीन, भारत, युगान्डासम्म पुगिसकेकी छन् । सशस्त्र प्रहरीमा आबद्ध उनको पढाइ प्लस टुमा स्टप भए पनि क्रिकेट खेलले भने गति लिएको छ ।

आमाको स्टेपअप
२०५४ सालमा बागलुङको हुग्दीसिरमा जन्मिएकी हुन् इन्दु । निम्नमध्यम वर्गीय परिवारमा जन्मेकी इन्दुको स्टेपअपमा आमा भूमा वर्माको अतुलनीय योगदान छ । बुबा रमेश रोजगारीको सिलसिलामा प्राय: विदेशमै हुन्थे ।
रुपन्देही झरेपछि खाजा पसल खोलेकी उनकी आमाले बोर्डिङ स्कुलमा भर्ना भएपछि क्रिकेटको जर्सी पनि किनिदिएकी थिइन् । उनी फुर्सदको समय आमालाई पसलमा सघाउँथिन् । उनी भन्छिन, ‘मलाई यहाँसम्म ल्याइपुर्याउन बाबाआमाकै भूमिका छ । स्टेपअप लिन भने आमाकै योगदान बढी छ ।’ सात महिनामै जन्मिएकी छोरी ‘लक्की’ भएको छ भन्ने लाग्छ भुमालाई । अचेल तिलोत्तमा–१, रुपन्देहीमा बस्दै आएको वर्मा परिवार अहिले छोरीको सफलता देखेर दंग छ ।

कलिलो काँधमा चुनौतीको भारी
किसान परिवारमा जन्मेर अमेरिकाको राष्ट्रपति बन्न सफल अब्राहम लिंकनले भनेका छन, ‘उत्कृष्टता एक शतत प्रक्रिया हो, कुनै दुर्घटना होइन ।’

वृत्ताकार मैदानमा खेलिने क्रिकेट फिल्डमा उत्कृष्टता हासिल गर्ने चुनौती झन् चुलिँदो छ । फिल्डको बाहिरी किनारा (बाउन्ड्री) मा रहेका होउन् वा दर्शक होउन्, सबैको मन जित्नुपर्छ । पिच टिक्दै उत्कृष्ट ब्याटिङ र बलिङ् गर्दै राष्ट्रिय झण्डा विदेशी भूमिमा पटकपटक फहराउने लक्ष्य राखेकी उनका लागि २२ गज लामो यार्डमा टिमलाई उत्कृष्ट सावित गराउने चुनौती छ । ‘खेलाडीको रुपमा काम गर्दा आफ्नो पफर्मेन्समा ध्यान दिए हुन्थ्यो,’ इन्दु भन्छिन, ‘क्याप्टेन भइसकेपछि भूमिका फरक हुँदोरहेछ । सबै प्रदेशबाट टिममा प्रतिनिधित्व हुन्छ । एकले अर्कालाई मोटिभेट गर्दै अघि बढाउनुपर्छ । टिम पर्फर्मेन्समा ध्यान दिनुपर्छ । खेलाडीको माइन्ट सेट बुझ्दै प्लान बनाउनुपर्छ । राष्ट्रिय टिम ह्याण्डल गर्ने जिम्मेवारी पाउँदा गर्व महसुस हुन्छ ।’
सानै उमेरमा ठुलो जिम्मेवारी पाएकोमा उनी गर्व गर्छिन् । टिम मेम्बर, कोच तथा क्यानका पदाधिकारी र अभिभावक मात्र होइन, करोडौं नेपालीको बधाईले चुनौती थपिएको महसुस गरिरहेकी छिन् । ५ फिट ४ इन्च उचाइकी इन्दु भन्छिन, ‘करिअरको उचाइ अझ अग्लो बनाउनु छ । मुलुकलाई केही न केही दिनु छ । विदेशी भूमिमा राष्ट्रिय झण्डा फहराउँदै पदक ल्याउनु छ ।’



Leave a Reply