वातावरण इन्जिनियर सारिका गुरुघराना इलेक्ट्रिक भेइकल (इभी) को ‘टेस्ट ड्राइभ’ गर्नेबित्तिकै लोभिइहालिन् । पाँच वर्षदेखि उनी इभीमै हुइँकिन्छिन् । पहिले उनी पेट्रोलबाट चल्ने गाडी चलाउँथिन् । किन इभीमा चलाउन थालिन् त ? गुरुघराना भन्छिन्, ‘विद्युतीय कार सहज, आरामदायी र ध्वनिरहित छ । वातावरण इन्जिनियर भएकीले आफ्नो पेसाप्रति न्याय गरेकी हुँ ।’
४९ वर्षीय गुरुघराना सिटी स्प्रिट चलाउँछिन्, जुन सहरी क्षेत्रलाई लक्षित गरी बनाइएको हो । सो गाडीमा साढे ७ किलोवाटको ब्याट्री जडित छ । एकपटक चार्ज गरेपछि १ सय २० किलोमिटर दौडिन्छ । पूरै चार्ज गर्न करिब ६ घण्टा लाग्छ । सो गाडीमा चार जना बस्न मिल्छ । चारवटै चक्कामा डिस्क ब्रेक पनि छ ।
पछिल्लो समय इलेक्ट्रिक भेइकल (इभी) प्रतिको आकर्षण बढ्दो छ । विद्युतीय सवारी साधन किन्दा विशेष गरी मूल्य, माइलेज, ब्याट्री क्षमता, वारेन्टीलगायत पक्षको अध्ययन आवश्यक मानिन्छ ।

ब्याट्रीजडित सानो फुच्चे सिटी स्प्रिटदेखि महँगा लक्जरियस इभीहरू सडकमा देखिन थालेका छन् । विद्युतीय कारको आकर्षण काठमाडौंमा मात्रै नभई मुलुकभरि देखिएको छ । विशेषत: ३ सय किलोमिटर हाराहारी रेन्ज दिने विद्युतीय कार उपत्यकाबाहिरका सहरहरूमा समेत राम्रै संख्यामा बिक्री भइरहेका छन् ।
दुई वर्षअघिसम्म हाइवेमा विद्युतीय गाडी गुडेको देख्नै मुस्किल पथ्र्यो । अहिले हाइवेमा बाक्लो संख्यामा इलेक्ट्रिक कार गुडेको देख्न सकिन्छ । विद्युतीय कार आफ्नो यात्रा गर्ने दूरी हेरेर खरिद गर्नेहरू छन् । उकालोमा धेरै पावर खपत हुने हुँदा कसैले पनि अचानक पावर सकिएर दु:ख नपाओस् भनी कम्पनीहरूले धार्के, कुरिनटार, खुर्कोट, बर्दिवास, पोखरा, बुटवल, भैरहवा, विराटनगर, इटहरी, नेपालगन्जजस्ता क्षेत्रमा फास्ट चार्जरका साथै ७ किलोवाट क्षमताका चार्जर राखेका छन्, जसका कारण अहिले धेरै मानिस कम रेन्जको गाडीमा पनि ढुक्कले सवार हुन्छन् ।
नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेसन निर्माणलाई तीव्रता दिएको छ । सुरुमा विभिन्न भेकका ५० स्थान (बसपार्क वा सार्वजनिक क्षेत्र) मा चार्जर राखिएको थियो । साथै, प्राधिकरण र नेपाल प्रहरीले पनि थप २५ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने समझदारी गरेका छन् । अहिले नेपालमा बिक्री हुने विद्युतीय कार करिब ६० प्रतिशत उपत्यकाभित्र र ४० प्रतिशत उपत्यकाबाहिर बिक्री हुँदै आएको विक्रेताहरू बताउँछन् । ग्राहकको मागअनुसार विद्युतीय कारको उपलब्धता भने छैन । कम्पनीहरूले मागअनुसार सप्लाई नदिएका कारण पुर्याउन नसकिएको विक्रेताहरूको भनाइ छ ।
सन् २०२४ पछि हरेक ब्रान्डले ५ र ७ मोडल बजारमा ल्याउने तयारी गरिरहेका छन् । लिथियम आयोन ब्याट्रीमा नयाँ खोज, सोलिड स्टेट ब्याट्रीमा भएको खोज, ब्याट्री उत्पादनमा वृद्धिजस्ता कारण सन् २०२४ पछि इभीको बजारमा व्यापक वृद्धि हुने सङ्केत देखिएको छ । अहिले चल्तीमा रहेका विश्वका ठूला कार निर्माता कम्पनीहरूले विद्युतीय कार उत्पादनमा थप लगानी घोषणा गरेर सन् २०३० सम्मको योजना पनि सार्वजनिक गरिसकेका छन्, जसबाट विद्युतीय कारको प्रयोग तीव्र गतिमा बढ्ने देखिन्छ ।

नेपाली बजारमा अहिले दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय सवारी साधन पाइन्छ । तीमध्ये केही सवारी साधनका विशेषता यस प्रकार छन् :
१. आयोनिक–५
आयोनिक–५ ले वल्र्ड कार अफ द इयर, वल्र्ड इलेक्ट्रिक भेइकल अफ द इयर, वल्र्ड कार डिजाइन अफ द इयरजस्ता उपाधि पनि पाएको छ ।
नेपालमा आयोनिक–५ को आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । यसमा ५८ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा आयोनिक–५ अधिकतम ३७५ किलोमिटरसम्म चल्न सक्छ । गाडीको अधिकतम टर्क ३५० एनएम छ ।
आयोनिक–५ को अधिकतम स्पिड १८५ किलोमिटर प्रतिघण्टा हो । ब्याट्रीमा आठ वर्षको वारेन्टी छ । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम छ । यसले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको स्पिड समात्न ५ दशमलव २ सेकेन्ड लिन्छ । नेपाली बजारमा आयोनिक–५ विभिन्न नौ रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य १ करोड ३ लाखे हाराहारी रहेको छ ।
२. किया निरो
किया निरोको नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुप हो । यसमा ६४ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा किया निरो अधिकतम ४६० किलोमिटरसम्म कुद्न सक्छ । यसले अधिकतम ३९५ एनएमसम्म टर्क उत्पादन गर्छ ।
किया निरोको अधिकतम गति १६७ किलोमिटर प्रतिघण्टा छ । कम्पनीका अनुसार रेगुलर चार्जरबाट यसलाई फुल चार्ज गर्न….. देखि १० घण्टा लाग्छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड समात्न ७ दशमलव ८ सेकेन्ड लिन्छ ।
नेपाली बजारमा किया निरो विभिन्न ६ रङमा उपलब्ध छ । कम्पनीले निरोको मूल्य करिब ७० लाख रुपियाँ तोकेको छ ।
३. एटो थ्री
एटो थ्रीको नेपालको आधिकारिक विक्रेता साइमेक्स इन्क हो । सन् २०२२ मा साइमेक्सले नेपाली बजारमा एटो थ्री सार्वजनिक गरेको थियो । यसमा ६० दशमलव ४८ किलोवाट आवरको ब्याट्री छ । कम्पनीका अनुसार फुल चार्जमा एटो थ्री अधिकतम ४२० किलोमिटरसम्म चल्न सक्छ । गाडीको टर्क क्षमता ३१० एनएम छ ।
कम्पनीले एटो थ्रीको ब्याट्रीमा आठ वर्षको वारेन्टी दिएको छ । गाडीको मोटरको पावर १ सय किलोवाट छ । कम्पनीका अनुसार ८० किलोवाटको चार्जरबाट कारलाई फुल चार्ज गर्न ४५ मिनेट लाग्छ । शून्यदेखि १ सय किलोमिटरको गति लिन शून्य दशमलव ७ सेकेन्ड लाग्ने यो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।
नेपाली बजारमा एटो थ्री विभिन्न चार रङमा उपलब्ध छ । कम्पनीका अनुसार यसको मूल्य ६५ लाख रुपियाँ हाराहारी छ ।
४. निसान लिफ
निसान लिफको नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालि हो । जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो । पायोनियर मोटो कर्पले नेपालमा सन् २०२२ देखि निसान लिफ बिक्री गरिरहेको छ । यसमा ४० किलोवाट आवरको लिथियम आयन ब्याट्री छ । सात घण्टामा फुल चार्ज हुन्छ । यसको अधिकतम टर्क ३२० एनएम छ । निसान लिफलाई घरमै ३ दशमलव ४ किलोवाटको एसी चार्जर र ५० किलोवाटको डिसी चार्जरले चार्ज गर्न सकिन्छ ।
निसान लिफको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा छ । ब्याट्रीमा आठ वर्षको वारेन्टी छ । ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको गाडीले शून्यदेखि १ सय किलोमिटरको स्पिड समात्न ७ दशमलव ९ सेकेन्ड लिन्छ । निसान लिफ विभिन्न ११ रङमा उपलब्ध छ । कम्पनीका अनुसार गाडीको मूल्य करिब ६५ लाख रुपियाँ रहेको छ ।
५. कोना इलेक्ट्रोनिक
नेपालमा कोना इलेक्ट्रोनिकको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । नेपालमा अहिले एउटा मात्र १ सय किलोवाट क्षमताको कोना इलेक्ट्रोनिक उपलब्ध छ । कम्पनीका अनुसार गाडीले फुल चार्जमा ३९५ किलोमिटरसम्म माइलेज दिन्छ ।
कोना इलेक्ट्रोनिकमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीको क्षमता ३९ दशमलव २ किलोवाट आवर हो । ब्याट्रीलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । ब्याट्रीमा आठ वर्षको वारेन्टी छ ।
कोनाको अधिकतम स्पिड १ सय ५५ किलोमिटर प्रतिघण्टा हो । शून्यदेखि १ सय ५५ किलोमिटर प्रतिघण्टाको स्पिडमा पुग्न यसलाई ९ दशमलव ९ सेकेन्ड लाग्छ । नेपाली बजारमा कोना सात रङमा उपलब्ध छ ।
कम्पनीका अनुसार नेपाली बजारमा कोना एनएसको मूल्य ६१ लाख, कोना जीएलको ६२ लाख र कोना जीएलएसको ६४ लाख ५६ हजार रुपियाँ पर्छ ।
२९ अर्बको इभी आयात
गत आर्थिक वर्ष २०८०/८१ मा २० अर्ब ४७ करोड मूल्यका ११ हजार ७ सय युनिट चारपाङ्ग्रे इभी नेपाल भित्रिएको छ । नेपालमा नयाँ सवारी आयात हुँदा करिब ७५ देखि ८० प्रतिशत सवारी इभी छन् । आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब ४७ करोड मूल्यका ११ हजार ७ सय युनिट चारपाङ्ग्रे इभी नेपाल भित्रिएको देखिन्छ ।
(बक्स)
दुईपाङ्ग्रे इभीको सुस्त बजार
नेपालमा चारपाङ्ग्रेको तुलनामा दुईपाङ्ग्रे इभीको बजार विस्तार हुन सकेको छैन । यसको मुख्य कारण भौगोलिक अवस्था नै हो । रेन्ज कम भएका कारण पनि दुईपाङ्ग्रे इभी खुम्चिएको हो ।
जसरी चारपाङ्ग्रे सवारी साधनको माइलेज छ, त्यो किसिमको माइलेज दुईपाङ्ग्रेमा हुन सकेको छैन । स्कुटर, बाइक इभीमा रेन्ज नै राम्रो छैन । अलि राम्रो रेन्ज भएका दुईपाङ्ग्रेको मूल्य पनि धेरै महँगो छ । ठूलो क्षमताको ब्याट्री राख्दा महँगो हुन्छ । सहरी इलाकामा बसेर कार्यालय–घर ओहोरदोहोर गर्नेका लागि दुईपाङ्ग्रेप्रतिको आकर्षण कायमै छ, तर लामो दूरीअनुसार दुईपाङ्ग्रे इभीको प्रविधि विकास व्यावहारिक हुन सकेको छैन । दुईपाङ्ग्रे इभीको रेन्ज सुधार्ने प्रविधि आवश्यक रहेको विक्रेताहरू बताउँछन् । दुईपाङ्ग्रे इभीमा आकर्षण भए पनि चारपाङ्ग्रे इभीको तुलनामा बढ्न सकेको देखिँदैन ।
पेट्रोल इन्जिन भएका दुईपाङ्ग्रे सवारी साधनभन्दा इभी धेरै नै किफायती छ । तर रेन्ज र मूल्यका कारण बिक्रीले तीव्रता लिन सकेको छैन । यद्यपि नेपाली बजारमा पेट्रोलियम इन्जिन भएका दुईपाङ्ग्रे इभी सवारी साधनभन्दा इभी दुईपाङ्ग्रेका धेरै ब्रान्ड उपलब्ध छन् ।
गत आवमा ८३ करोड ४० लाख ७७ हजार रुपियाँ मूल्यबराबर दुईपाङ्ग्रे इभी आएको थियो । नेपालमा वार्षिक १ लाखभन्दा बढी नयाँ दुईपाङ्ग्रे सवारी साधन बजार आउँछन् ।
पछिल्लो तीन वर्षमा इभी आयात
आर्थिक वर्ष मोटरसाइकल कार/जिप/भ्यान माइक्रो बस
२०७८ /०७९ ५४५५ १८०७ ८४
२०७९/०८० १११८५ ४२२० २४१
२०८०/०८१ ९८९४ १२१४० ५३७
स्रोत : भन्सार विभाग



Leave a Reply