संसद् भवनअगाडि ‘जेन–जी बलिदानी छाप’ कला प्रदर्शनी


युवा पुस्ताको बलिदान र राष्ट्रिय एकताको सन्देश बोकेको ‘जेन–जी बलिदानी छाप’ शीर्षकको भिजुअल आर्ट प्रदर्शनी सोमबार बानेश्वरस्थित संसद् भवनको मुख्य दक्षिण गेटअगाडि सम्पन्न भएको छ। कलाकार रवीन्द्र श्रेष्ठले समसामयिक राजनीतिक तथा सामाजिक घटनालाई कलामार्फत अभिव्यक्त गर्दै यो प्रदर्शनी आयोजना गरेका हुन्। जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले तयार गरिएको यस कलाकर्ममा दर्शकलाई…

युवा पुस्ताको बलिदान र राष्ट्रिय एकताको सन्देश बोकेको ‘जेन–जी बलिदानी छाप’ शीर्षकको भिजुअल आर्ट प्रदर्शनी सोमबार बानेश्वरस्थित संसद् भवनको मुख्य दक्षिण गेटअगाडि सम्पन्न भएको छ।

कलाकार रवीन्द्र श्रेष्ठले समसामयिक राजनीतिक तथा सामाजिक घटनालाई कलामार्फत अभिव्यक्त गर्दै यो प्रदर्शनी आयोजना गरेका हुन्। जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले तयार गरिएको यस कलाकर्ममा दर्शकलाई समेत सहभागी गराइएको थियो।

ठूलो क्यानभासमा बनाइएको औँठाछापको आकृतिभित्र जेन–जी आन्दोलनका सहिदहरूको श्यामश्वेत तस्बिर समावेश गरिएको थियो। औँठाछापका मसिना रेखाबीच देखिने मसिनो रातो रेखाले राष्ट्रिय एकता र साझा रगतको प्रतीक प्रस्तुत गर्छ। कलाकार श्रेष्ठका अनुसार, “अनुहार, पहिचान र पृष्ठभूमि फरक भए पनि हामी सबैमा एउटै रगत बगिरहेको छ भन्ने सन्देश दिन खोजिएको हो।”

प्रदर्शनी स्थलमा राखिएको क्यानभासमा अवलोकनकर्ताहरूलाई आफ्नै तरिकाले शब्द, रेखा वा चित्र कोरेर श्रद्धाञ्जली अर्पण गर्न खुला गरिएको थियो। त्यसका लागि क्यानभासको तल्लो भागमा ‘आफूलाई जस्तो आउँछ, त्यस्तै चित्र कोरेर श्रद्धाञ्जली अर्पण गरौँ’ भन्ने सूचना राखिएको थियो।

यसरी निर्माण गरिएको पेन्टिङले जेनजी आन्दोलनसँग जोडिएको घटनालाई सयौँ वर्षसम्म जीवित राख्न सक्ने विश्वास गरिएको छ।

जेन–जी पुस्ताको बलिदानले देशको राजनीतिक र सामाजिक परिवेशमा ल्याएको परिवर्तनलाई स्मरण गराउँदै आयोजित यो प्रदर्शनीले संसद् भवनअगाडि उपस्थित दर्शकको ध्यान तानेको थियो। सहभागीहरूले औँठाछाप कलामा फूलका चित्र र अक्षर कोरी सम्मान तथा श्रद्धाको भाव व्यक्त गरेका थिए।

तस्बिर ः रविन्द्र श्रेष्ठ र सुशिला तामाङको फेसबुक वालवाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *