बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका आठ वटा बालसाहित्यिक कृतिको एकसाथ विमोचन गरिएको छ।
तेस्रो बालसाहित्य महोत्सवको अवसरमा प्युठान वाङ्मय केन्द्र, काठमाडौँद्वारा पाटन दरबार सङ्ग्रहालयको भण्डारखाल हलमा आयोजित कार्यक्रममा आचार्यका ‘दसैँको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरू कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’ र ‘डेढ गगरिया’ सहित आठ वटा बालसाहित्यिक कृतिको विमोचन गरिएको हो।

कार्यक्रममा पुस्तक विमोचन गर्दै सङ्गीत नाट्य प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ नाट्यकर्मी हरिहर शर्माले एकैपटक आठ वटा बालसाहित्यिक कृति प्रकाशन हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले प्रकाशित कृतिहरू समयसापेक्ष रहेको बताउँदै भने, “जुन वर्गलाई लक्षित गरेर लेखिन्छ, त्यसै उमेर समूहको मनोविज्ञान र रुचिलाई समेट्न सक्नुपर्छ। आज विमोचन भएका बालसाहित्यिक कृतिहरूले ती पक्ष समेटेका छन्।”
राष्ट्रिय समाचार समिति (रासस)का पूर्वसम्पादक प्रमोद प्रधानले बालसाहित्य लेखनमा व्यक्तिगत धारणा मात्र होइन, विश्वव्यापी अभ्यास र अवधारणालाई समेत ध्यान दिनुपर्नेमा जोड दिए। उनले बालबालिकाको रुचि, मनोविज्ञान र सोचाइलाई केन्द्रमा राखेर लेखन गर्नुपर्ने धारणा व्यक्त गरे।
विमोचित कृतिहरूमाथि समीक्षा गर्दै प्राध्यापक डा. गोविन्द पौडेलले इतिहासलाई सरल र कलात्मक शैलीमा प्रस्तुत गरिएको बताए। त्यस्तै, ‘डेढ गगरिया’ कृतिको समीक्षा गर्दै साहित्यकार कृष्णराज सर्वहारीले यसमा समावेश पाँच वटा लोककथासँग मेल खाने गीतहरू राखिएको भए अझ प्रभावकारी हुने सुझाव दिए। थारु समुदायका बालबालिकाका लागि यो कृति विशेष रूपमा उपयुक्त रहेको उनको भनाइ थियो।



Leave a Reply