आत्मखोज र स्वतन्त्रताको उडान : संगी श्रेष्ठको ‘अन्तरदृष्टि’


काठमाडौंको ठमेलस्थित छाया सेन्टरभित्र रहेको ‘द कला सलुन’ ११६ वटा कला सिर्जनासहित यतिबेला रङ्ग, भाव र आत्मअनुभूतिले भरिएको छ। कलाकार संगी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘अन्तरदृष्टि’ सञ्चालन भइरहेको छ। रङ्गभित्रको भावना, क्यानभासभित्रको कथा “प्रत्येक रङ्गले सन्देश बोकेको हुन्छ,” संगी भन्छिन्। उनका क्यानभासमा चम्किला रङ्गहरू ऊर्जा र जीवन्तताको स्पन्दन बनेर देखा पर्छन्। रातो र नीलो रङ्गले…

काठमाडौंको ठमेलस्थित छाया सेन्टरभित्र रहेको ‘द कला सलुन’ ११६ वटा कला सिर्जनासहित यतिबेला रङ्ग, भाव र आत्मअनुभूतिले भरिएको छ। कलाकार संगी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘अन्तरदृष्टि’ सञ्चालन भइरहेको छ।

रङ्गभित्रको भावना, क्यानभासभित्रको कथा

“प्रत्येक रङ्गले सन्देश बोकेको हुन्छ,” संगी भन्छिन्। उनका क्यानभासमा चम्किला रङ्गहरू ऊर्जा र जीवन्तताको स्पन्दन बनेर देखा पर्छन्। रातो र नीलो रङ्गले रूपान्तरण, स्वतन्त्रता र भावनात्मक गहिराइको संकेत गर्छन्।

रातो रङभित्र उडिरहेको पुतली स्वतन्त्रताको प्रतीकझैँ फर्फराउँछ। “कहिलेकाहीँ स्वतन्त्र हुन आफ्नै सीमाहरू बिर्सनुपर्छ,” उनी भन्छिन्। पुतलीको त्यो उडानसँगै दर्शक आफ्नै जीवनका बन्धन, चाहना र आकांक्षासँग साक्षात्कार गर्न पुग्छ।

पीडाबाट सिर्जनासम्म

आमाको निधनपछि आएको एकान्तपन संगीका लागि मोड बन्यो। माया र ममताको छहारी गुमेपछि उम्लिएको भावनालाई उनले क्यानभासमा रङ्गका धारामा उतारिन्। त्यसैले उनका चित्रहरूमा वैराग्य मात्र होइन, जीवनको पुनर्जागरण पनि छ।

पात, फूल र पुतलीजस्ता प्राकृतिक प्रतीकहरूले पीडाभित्र लुकेको उमङ्ग र आशालाई उजागर गर्छन्। दुःखलाई दबाएर होइन, स्वीकारेर सिर्जनामा रूपान्तरण गर्ने उनको यात्राले चित्रहरूलाई अझ सजीव बनाएको छ।

आत्मपहिचानको खोज

‘अन्तरदृष्टि’ केवल शीर्षक होइन, कलाकारको आत्मस्वर हो—आफ्नै भित्री आवाज सुन्ने र पहिचान खोज्ने प्रयास। “एक्लै आएर हेर्नुभयो भने, चित्रमा आफूलाई भेट्न सक्नुहुन्छ,” संगीको विश्वास छ।

उनका अनुसार समाजमा विषयहरूको कमी छैन, तर कलाकारको दायित्व ती विषयबीच आफ्नो कथा भन्नु हो। त्यसैले प्रत्येक क्यानभास फरक छ—फरक रङ्ग, फरक आकृति, फरक भाव।

माध्यम र विस्तार

प्रदर्शनीमा क्यानभासदेखि सेरामिकसम्मका कलाकृतिहरू समावेश छन्। ११६ सिर्जनाहरूले उनको प्रयोगशीलता र कलात्मक विविधतालाई स्पष्ट देखाउँछन्।

नेपाली चित्रकला क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएकी संगी श्रेष्ठको ‘अन्तरदृष्टि’ आत्मखोज, स्वतन्त्रता र भावनात्मक रूपान्तरणको संवेदनशील यात्रा हो—जहाँ हरेक दर्शकले आफ्नै कथा, आफ्नै रंग, आफ्नै उडान भेट्न सक्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *