जनकवि दुर्गालाल श्रेष्ठ द्वारा रचित र न्ह्यू बज्राचार्य र कारेन शाक्य द्वारा गाइएको नेपालभाषाको ‘चुलबुल चञ्चल’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

नेपाल संवत् ११४६, चिल्लागा द्वादशी (चैत्र २ गते, सोमबार) का दिन कीर्तिपुर सिनेप्लेक्स मा आयोजित विशेष कार्यक्रममा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सेवा अभियान अन्तर्गत निर्माण गरिएको यस म्युजिक भिडियोका निर्माता सुनिल कुमार शाक्य हुन्। सार्वजनिक कार्यक्रममा पनि शाक्यकै सभापतित्व रहेको थियो।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सो अवसरमा लोककवि नेपाल रत्न राजभाइबाट गायिका कारेन शाक्यलाई बधाईसहित ‘सुवाः’ शीर्षकको सम्मान चिन्ह प्रदान गरिएको थियो।




कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको सन्देश भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

ज्योति म्युजिक समूहद्वारा निर्माण गरिएको ‘चुलबुल चञ्चल’ म्युजिक भिडियोका निर्देशक विश्वास बज्राचार्य हुन् भने कोरियोग्राफी रोहिया महर्जनले गरेका छन्। छायांकन सोहन मानन्धरले गरेका हुन्।
म्युजिक भिडियोमा श्वेता शाक्यको प्रस्तुति रहेको छ। सह-निर्देशन सविनरत्न शाक्यले गरेका छन् भने पोस्ट–प्रोडक्सन विजनराज बज्राचार्यले गरेका छन्। परियोजना व्यवस्थापन उजय शाहीले गरेका छन् र सहायक भूमिकामा लसता महर्जन रहेका छन्।
यस भिडियोमा गायिका कारेन शाक्यसँगै जापानी कलाकार युकाको यामामाटो र मिक्का कानेयुकीले पनि अभिनय गरेका छन्।

कार्यक्रमको अन्त्यमा निर्माता सुनिल कुमार शाक्यले सेवा अभियानका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए। साथै निर्देशक विश्वास बज्राचार्य, कोरियोग्राफर रोहिया महर्जन तथा जनकवि दुर्गालाल श्रेष्ठकी छोरी सुचित्रा श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो।

‘चुलबुल चञ्चल’ म्युजिक भिडियो “म्हा म्हा इन्टरटेनमेन्ट” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।



Leave a Reply