कुनै व्यक्तिले जीवनको सुरुवात संगीतसँगै गर्न सक्छन् भन्ने कल्पना गर्न सकिएला, तर त्यस्तो कल्पनालाई यथार्थमा उतार्न सक्ने संयोग कमैलाई मात्र मिल्छ । अभिज्ञा घिमिरे तिनै भाग्यमानीमध्ये एक हुन्, जसमा बाल्यकालदेखि नै संगीतप्रति असाधारण मोह देखियो ।

यतिखेर ‘बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ’ बोलको गीत चर्चामा छ । गायक स्वप्न सुमन र अभिज्ञाले गाएको उक्त गीतलाई युट्युबका दर्शकले निकै रुचाएका छन् । यसै गीतमार्फत अभिज्ञा अहिले थप चर्चामा छिन् । केही फिल्महरूमा समेत स्वर दिइसकेकी उनी भन्छिन्, “दर्शक तथा स्रोताको सकारात्मक प्रतिक्रियाबाट म निकै खुसी छु ।”
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो चर्चा चुलिँदै गर्दा गायिका अभिज्ञा भन्छिन्, “गीतसंगीतलाई नै आफ्नो करिअर बनाउने सोचमा छु ।”
चार वर्षकै उमेरमा अभिज्ञाले आमा–बुबासँग ढिपी गर्दै भनेकी थिइन्, “म संगीत सिक्न चाहन्छु, मलाई संगीत सिकाउने गुरु चाहियो ।” उनको बाल्यकालको यो स्मरण आज पनि प्रेरणादायी लाग्छ । त्यतिबेला धेरै संगीत–गुरुहरूले उमेर सानो भएको भन्दै सिकाउन अस्वीकार गर्थे । तर अभिज्ञा अडिग रहिन्, हार मानिनन् ।
अन्ततः उनको संगीत–यात्रा बानेश्वर संगमचोकमा पुगेर टुंगियो, जहाँ ८४ वर्षीय वरिष्ठ भजन–गायक माधवलाल श्रेष्ठसँग उनको औपचारिक संगीत–शिक्षा सुरु भयो ।
भजनबाट सुरु भएको संगीत यात्रा
‘तिम्रो घुम्रिएको बाल…’ जस्ता कालजयी भजनका गायक माधवलाल श्रेष्ठ अभिज्ञाका पहिलो गुरु बने । उनीसँगै अभिज्ञाले भजन गाउन सिकिन् र हारमोनियमको धुनसँग आत्मीयता बढाउन थालिन् ।
६–७ वर्षकै उमेरमा उनले किरातेश्वर मन्दिरको मञ्चमा पहिलोपटक सार्वजनिक प्रस्तुति दिइन्, जसले उनको आत्मविश्वास र सम्भावनाको ढोका खोलिदियो ।
दैनिक अभ्यासको साधना
बिहानै संगीत अभ्यास, त्यसपछि नियमित क्लास—यस्तै थियो अभिज्ञाको बाल्यकाल । अरू बालबालिका खेलकुदमा रमाउने उमेरमा उनी स्वर–साधनामा व्यस्त हुन्थिन् ।

तीन कक्षामा पुगेपछि बुबाको प्रेरणामा उनले शास्त्रीय संगीत पनि सिक्न थालिन् र गुरु श्री केसीसँग औपचारिक प्रशिक्षण सुरु गरिन्, जुन यात्रा आजसम्म निरन्तर छ ।
समर्पण र साधनाको कथा
अभिज्ञाको संगीत यात्रा केवल प्रतिभाको कथा मात्र होइन, यो निरन्तर अभ्यास, पारिवारिक साथ र दृढ इच्छाशक्तिको संगम हो । बाल्यकालदेखि नै संगीतमा समर्पित उनीका लागि संगीत अब केवल रुचि होइन, जीवनको आधार बनिसकेको छ ।
उनी भन्छिन्, “संगीत मेरो आत्मा हो, जसले मलाई चिन्ने, बुझ्ने र व्यक्त गर्ने माध्यम दिएको छ ।”
भजन र शास्त्रीय संगीतबाट सुरु भएको उनको यात्रा विस्तारै विभिन्न विधातर्फ फैलियो । लकडाउनको समयमा गुरु श्री केसीमार्फत उनी ‘सारेगम लिटिल च्याम्प्स’को अडिसनसम्म पुगिन्, जसमा उनले सहभागिता लिने कुनै योजना बनाएकी थिइनन् ।
१५ वर्षकै उमेरमा उनी ‘सारेगम लिटिल च्याम्प्स नेपाल’ को पहिलो सिजनकी फाइनलिस्ट बन्न सफल भइन्, जसले उनलाई नेपाली संगीत क्षेत्रमा परिचित बनायो ।
त्यसपछि उनले चारवटा गीत रेकर्ड गरिन् । प्रतियोगितामा पप, आधुनिक, भजनदेखि शास्त्रीय गीतसम्म प्रस्तुत गर्दै उनले सबैबाट “भर्सटाइल सिंगर” को पहिचान पाइन् ।
सहकार्य र ‘सुर–ताल’ ब्याण्ड

अभिज्ञाले न्ह्यू बज्राचार्य, सुरेश अधिकारी, महेश खड्काजस्ता प्रतिष्ठित संगीतकर्मीसँग सहकार्य गरिसकेकी छन् ।
‘युनिगोल्ड स्टार अप मेला’ नामक कार्यक्रममा पाँच जना साथीहरूसँगको सहकार्यपछि उनले ब्याण्ड बनाउने सोच विकास गरिन् । यही सोचबाट जन्मियो ‘सुर–ताल ब्याण्ड’ ।
उक्त फ्युजन ब्याण्डले लोक, पप, आधुनिक र शास्त्रीय संगीतमा आधारित प्रस्तुति दिँदै आएको छ, जहाँ अभिज्ञा प्रमुख भोकलिस्ट हुन् ।
निरन्तर उडान
‘सुर–ताल ब्याण्ड’ सँगै उनी आफ्नो सोलो करिअरमा पनि उत्तिकै सक्रिय छिन् । गोपाल योञ्जन र नारायणगोपालको स्मृतिमा आयोजित विभिन्न कार्यक्रमहरूमा उनले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत पाइसकेकी छन्, जसले उनको यात्रालाई अझ प्रेरणादायी बनाएको छ ।



हाल उनी नयाँ पुस्तालाई लक्षित गर्दै गीतहरू रेकर्ड गरिरहेकी छिन् । केही समयअघि मात्र उनले गायक स्वप्निल सुमनसँग ‘बिजुली बलेको होला’ शीर्षकको गीत रेकर्ड गरेकी छन् ।
१९ वर्षकी अभिज्ञा नेपाली संगीत क्षेत्रको नयाँ पुस्ताको प्रतिनिधि हुन् । पछिल्लो समय उनलाई ‘पलेँटी’ शृंखलामा पनि सुन्न सकिन्छ, जुन कार्यक्रम प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुन्छ । सो मञ्चमार्फत उनले आफ्नो सांगीतिक विविधता प्रस्तुत गर्दै आएकी छन् ।
अभिज्ञाको कथा सुमधुर सुरुवात मात्र हो । अझै धेरै गीतहरू बाँकी छन्, धेरै मञ्चहरू बाँकी छन् र लाखौं मुटुहरू बाँकी छन्, जहाँ उनले आफ्नो स्वरको जादु फैलाउन बाँकी छ ।



Leave a Reply