उपन्यासकार नीलम कार्की निहारिका को नयाँ औपन्यासिक कृति ‘राजमाता’ सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप मा आइतबार आयोजित एक विशेष समारोहमा संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखिका निहारिकाले संयुक्त रूपमा कृतिको लोकार्पण गरे।

कार्यक्रममा प्रा. पौड्यालले ‘राजमाता’ उपन्यासबारे समीक्षात्मक धारणा राख्दै इतिहासलाई आधार बनाएर साहित्य सिर्जना गर्ने महिला स्रष्टा अत्यन्तै न्यून रहेको उल्लेख गरिन्। निहारिकाको यस कृतिमा लामो समयको गहन अनुसन्धान समेटिएको बताउँदै उनले भनिन्—
“यस उपन्यासले इतिहासको एक महत्वपूर्ण हिस्सालाई सुन्दर र विशिष्ट दस्तावेजका रूपमा प्रस्तुत गरेको छ।”
उनका अनुसार ‘राजमाता’ ले निश्चित ऐतिहासिक कालखण्डको राजकीय वैभव, सामाजिक संरचना र सांस्कृतिक जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गर्छ। “त्यतिबेलाको सामाजिक र राजनीतिक प्रतिबिम्ब यस उपन्यासमा स्पष्ट झल्किन्छ,” उनले थपिन्, “त्यस कालखण्डका अनेक आयाम यसले समेटेकाले पुस्तक अत्यन्तै पठनीय छ।”
कार्यक्रममा लेखिका निहारिकाले आफ्नो लेखन यात्राबारे अनुभव साझा गरिन्। सन् २०१९ बाट सुरु गरिएको यस उपन्यास लेखन बीचमा कोभिड–१९ महामारी का कारण प्रभावित भएको उनले बताइन्। “त्यो समयमा ‘लेख्दै लेख्दै मर्ने हो कि?’ भन्ने डरले निकै विचलित बनायो,” उनले स्मरण गरिन्।
तर, सबै चुनौती पार गर्दै ‘राजमाता’ लाई पाठकमाझ ल्याउन सफल भएकोमा आफू अत्यन्तै सन्तुष्ट रहेको उनले बताइन्। “आज यो पुस्तक प्रकाशन गर्न पाउनु मेरो जीवनकै अमूल्य उपलब्धि हो,” उनले भनिन्। उपन्यास फाइनप्रिन्ट ले प्रकाशन गरेको हो।





Leave a Reply