अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस १५ अप्रिलमा सरकारले विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको पर्यटनमन्त्री खडकराज पौडेल सहितको उच्चस्तरीय आयोजक समितिको बैठकले उक्त दिन देशभरका ७५३ स्थानीय तह र सातै प्रदेशमा व्यापक रूपमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
मन्त्री पौडेलले योग र ध्यानको परम्परालाई नेपालको पहिचानसँग जोड्दै वेलनेसलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए । उनले नागरिकमा बढ्दो निरासा कम गर्न र देशको पहिचान जोगाउन वेलनेस महत्वपूर्ण रहेको बताए ।
प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले वेलनेसलाई नेपालको सांस्कृतिक र आध्यात्मिक विरासतसँग जोडेर अघि बढाउन सुझाव दिए । उनले विद्यालय, होटल तथा हिमाली क्षेत्रमा ध्यान, स्वस्थ जीवनशैली र माइन्डफुलनेससम्बन्धी गतिविधि सञ्चालन गरेर छोटो समयमा प्रभाव पार्न सकिने बताए ।
मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले वेलनेसलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै यसलाई विश्वमा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले वेलनेस पर्यटन नेपालको प्रमुख सम्भावना भएको र यसको विकास, प्याकेजिङ र प्रवर्द्धनमार्फत आम्दानी वृद्धि गर्न सकिने बताए ।
जीवन विज्ञानका संस्थापक सदस्य एलपी भानुले वेलनेसलाई जीवन जिउने कला भन्दै नेपालले विश्वलाई दिन सक्ने महत्वपूर्ण विषय भएको उल्लेख गरे ।
नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेको हो । जसलाई नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ ।
हाल नेपालको पर्यटन आम्दानी ६१२ मिलियन अमेरिकी डलर रहेकोमा वेलनेस पर्यटनको हिस्सा करिब २५ मिलियन (४ प्रतिशत) रहेको बोर्डको भनाइ छ ।



Leave a Reply