वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ‘ललितरत्न’ उपाधिसहित भव्य नागरिक सम्मान


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन दरबार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक–सांगीतिक समारोहमा उक्त सम्मान अर्पण गरिएको हो। कार्यक्रममा कलाकार समितिसँगै समाजसेवी सरीता महर्जन, शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल, मुनासः, वाद्य शिरोमणि घराना,…

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले उहाँलाई ‘ललितरत्न’ उपाधि प्रदान गर्दै भव्य सम्मान गरेको छ। अक्षयतृतीयाको पावन दिन पाटन दरबार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक–सांगीतिक समारोहमा उक्त सम्मान अर्पण गरिएको हो।

कार्यक्रममा कलाकार समितिसँगै समाजसेवी सरीता महर्जन, शाक्य बज्राचार्य समाज, नेपालभाषा मंकाः खलः यल, मुनासः, वाद्य शिरोमणि घराना, ललितपुर सुनचाँदी व्यवसायी संघ, स्यस्यः समाज, ज्योति म्यूजिक, ताम्राकार समाज, यल नेवाः समाज, लकस नेपाल, ललितपुर हस्तकला संघ, थ्रीस्टार क्लब, डिलाइट स्कुल, ललितपुर तयारी पोशाक व्यापार संघ, मंगल टोल सुधार संघ, भुल्खु टोल सुधार समिति, प्रोजेक्ट बाजा नेपाल, प्लेइङ फर चेञ्ज, नेवाः पत्रकार राष्ट्रिय दबू यल कचा, नेपाः पासा पुचः गुथि अमेरिका लगायत २१ भन्दा बढी संस्थाले सम्मानपत्र अर्पण गर्दै नागरिक अभिनन्दन गरेका थिए।

नेवार परम्पराअनुसार धाःबाजाको गुञ्जनबीच वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरबार क्षेत्रमा भव्य स्वागत गरिएको थियो। स्वागत यात्रामा चर्या कलाकार, विभिन्न जातीय भेषभूषामा विद्यार्थी, वडा समिति, कलाकार समिति, विभिन्न संघसंस्था तथा जनसमुदायको उत्साहजनक सहभागिताले वातावरण जात्रामय बनेको थियो।

कार्यक्रमको सुरुवात परम्परागत धाःबाजा वादनबाट गरिएको थियो भने प्रसन्ना बज्राचार्य र प्रिजा शाक्यले आर्यतारा अमोघसिद्धि चर्यानृत्य प्रस्तुत गरेका थिए। नेवार संस्कारअनुसार समितिका पदाधिकारीहरूले फूल, माछा, वः, रक्सी लगायत पञ्चतत्वको प्रतीक अर्पण गर्दै सगुन दिएका थिए। साथै समितिका सचिव अमोघवीर बज्राचार्यले स्वस्तिवाचन गर्नुभएको थियो।

डिलाइट स्कुलका विद्यार्थीहरूले ‘सयथरी बाजा एउटै ताल’ गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने वाद्य शिरोमणि संगीत घरानाका बाल वाद्यवादकहरूले सोही गीतको भ्वाइलिन वादन प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई औपचारिक भाषणभन्दा फरक अन्तरवार्ता शैलीमा सञ्चालन गरिएको थियो, जसले दर्शकहरूको मन जितेको थियो। संवादकै क्रममा मदनकृष्ण श्रेष्ठका लोकप्रिय गीतहरू उहाँकै स्वरमा गुञ्जिँदा उपस्थित सबै थप उत्साहित बनेका थिए।

उहाँले ‘अरबौं मान्छेहरूमा’, ‘फुलबुट्टे सारी’, ‘खोलावारी खोलापारी’ लगायत गीत प्रस्तुत गर्नुभयो। साथै सरीता महर्जनसँग नेपालभाषाको गीत ‘न्ह्यलय् छि हे ज्वलय् छि हे’ तथा निशा देसारसँग ‘मय्जु छ दः गुलि यः गुलि यः’ प्रस्तुत गर्नुभएको थियो।

संवाद कार्यक्रममा वडा अध्यक्ष निर्मलरत्न शाक्य, मदनकृष्ण श्रेष्ठ, उहाँका छोरा–बुहारी यमन श्रेष्ठ र रिंकु बज्राचार्य श्रेष्ठ, तथा गायिका एवं समाजसेवी सरीता महर्जनको उपस्थिति रहेको थियो। संगीत संयोजनमा भूपेन्द्र बज्राचार्यले गितारवादन तथा यमन श्रेष्ठले किबोर्ड वादन गर्नुभएको थियो।

कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्य र सुजाता शाक्य बज्राचार्यद्वारा सञ्चालन गरिएको कार्यक्रमअघि बिहान १० बजेदेखि २ बजेसम्म रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो।

स्थानीय तहमा पहिलोपटक स्थापित कलाकार समितिले नवप्रतिभाको खोजी, युवा कलाकारका लागि मञ्च निर्माण तथा वरिष्ठ कलाकारहरूको सम्मान गर्दै कला–संस्कृतिको संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *