बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’ पुस्तक विमोचन


बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ। विश्व मुटु दिवसको अवसर पारेर नेपाल एनसीडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा बिहीबार विशेष समारोह गरी पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकको विमोचन ओपन हार्ट सर्जरीबाट स्वस्थ भएका दुई बालबालिका—विशाल गजमेर र कल्पना तामाङ—को हातबाट गरिएको थियो। समारोहमा बोल्दै…

बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी लिखित ‘मुटुका कुरा’ पुस्तक विमोचन गरिएको छ। विश्व मुटु दिवसको अवसर पारेर नेपाल एनसीडी एलायन्स र रोटरी क्लब अफ पाटनको संयुक्त आयोजनामा बिहीबार विशेष समारोह गरी पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकको विमोचन ओपन हार्ट सर्जरीबाट स्वस्थ भएका दुई बालबालिका—विशाल गजमेर र कल्पना तामाङ—को हातबाट गरिएको थियो।

समारोहमा बोल्दै डा. रेग्मीले पुस्तक आफ्ना अध्ययन, कार्यानुभव र विभिन्न अन्तरक्रिया कार्यक्रममा भेटिएका सेवाग्राहीका प्रश्न, समस्या र सुझावलाई आधार बनाएर तयार गरिएको बताए। उनले थपे,
“मैले सकेसम्म आम जनजीवनमा उपयोगी हुने विषयवस्तु समेट्ने प्रयास गरेको छु। पुस्तकका सामग्रीहरू पाठकलाई रोचक र लाभदायी हुने विश्वास लिएको छु।”

यसअघि पनि मुटुरोगसम्बन्धी उनका विभिन्न पुस्तक प्रकाशित भइसकेका छन्। तर, यस पुस्तकमा अघिल्ला पुस्तकमा छुटेका विषय तथा केही नयाँ र अद्यावधिक जानकारी समावेश गरिएको उनले बताए।

पुस्तकले आम पाठक, बिरामी तथा उनीहरूका आफन्तलाई मुटु स्वस्थ राख्न खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सरल उपाय प्रस्तुत गरेको छ।

पुस्तकका सम्पादक लक्ष्मण अधिकारीका अनुसार, यसमा मुटु र मुटुरोगसँग सम्बन्धित ६१ वटा शीर्षक समेटिएका छन्। दैनन्दिन जीवनमा उपभोग हुने अण्डा, घिउ, चिया, कफी, दूध, नुन, पानी, तेल, चामल, चिनी, खुर्सानी, जंक फुड, रक्सी, धूमपान, निद्रा, औषधिको अन्तरक्रिया जस्ता विषयलाई समेत पुस्तकमा विस्तृत रूपमा समावेश गरिएको छ।

समारोहमा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती र लेखक/पत्रकार श्रीराम सिंह बस्नेतले पुस्तक समीक्षा गर्दै यसलाई आमजनका लागि अत्यन्त उपयोगी कृति भने। त्यस्तै, रोटरी क्लब अफ पाटनका खड्ग विष्ट, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका डा. सत्य नारायण सुवाल, नेपाल एनसीडी एलायन्सका सहअध्यक्ष डा. शान्तलाल मुल्मी लगायतले डा. रेग्मीले मुटुरोगको उपचार र रोकथाममा पुर्‍याएको योगदानको प्रशंसा गरे।

‘मुटुका कुरा’ पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ। पुस्तक बिक्रीबाट उठ्ने सम्पूर्ण रकम मुटुरोग रोकथामका अभियानमा खर्च गरिने डा. रेग्मीले जानकारी दिए।

विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ मा मनाइन्छ। नेपालमा भने यसपटक दशैं विदा पर्ने भएकाले रोटरी र एलायन्सले कार्यक्रम अघिल्लै दिन अर्थात बिहीबार आयोजना गरेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *