नेपाल मेडिकल काउन्सिल (एनएमसी) को आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। काउन्सिलले काठमाडौँबाहिर पुस ४ र ५ गते तथा काठमाडौँ उपत्यकाभित्र पुस ११ र १२ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको छ।
निर्वाचनमा एक उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् भने आठ सदस्य पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ।
नेपाल मेडिकल काउन्सिल (एनएमसी) को आगामी निर्वाचनमा सदस्य पदका लागि मानसिक रोग विशेषज्ञ डा. निना राईको उम्मेदवारीले चिकित्सक समुदायको ध्यान तानेको छ। उनी आफूलाई केवल उम्मेदवारको रूपमा होइन, काउन्सिलभित्र आवश्यक सुधार र संरचनात्मक परिवर्तनको पक्षमा उठेको आवाजका रूपमा प्रस्तुत गर्छिन्।
उपचारका क्रममा लापरबाही भएको आरोपपछि अस्पतालमा हुने तोडफोड, चिकित्सकमाथि हुने हातपात तथा हिंसाका घटनालाई पनि डा. निनाले गम्भीर चुनौतीका रूपमा हेरेकी छन्। यस्ता संवेदनशील विषयमा काउन्सिलको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै उनले समन्वय समिति र ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरेर तत्काल समाधान खोज्नुपर्ने धारणा राखेकी छन्। यसले सेवाग्राहीको विश्वास र चिकित्सकको सुरक्षालाई एकसाथ सम्बोधन गर्ने उनको विश्वास छ।

प्रदेश संरचनाको कार्यान्वयनपछि पनि चिकित्सकहरू सानो कामका लागि काठमाडौं आउनुपर्ने बाध्यता अझै अन्त्य नभएको उनको गुनासो छ। काउन्सिलले लिने परीक्षा, प्रमाणपत्र नवीकरणदेखि अन्य प्रशासनिक प्रक्रियाका लागि राजधानीमै धाउनुपर्दा चिकित्सकहरूले समय, पैसा र ऊर्जा गुमाइरहेको उनी बताउँछिन्। यही कारण हरेक प्रदेशमा नेपाल मेडिकल काउन्सिलको शाखा कार्यालय स्थापना हुनुपर्ने उनको ठोस प्रस्ताव छ।
काउन्सिलभित्र बसेर चिकित्सक र सेवाग्राहीबीचको विश्वास पुनःस्थापित गर्न तथा मेडिकल काउन्सिललाई आधुनिक, उत्तरदायी र समावेशी संस्थामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्छिन्।



Leave a Reply