वरिष्ठ बाल आँखा रोग विशेषज्ञ, प्राध्यापक, साहित्यकार र कलाकार , यी सबै परिचय एउटै नामसँग जोडिन्छन् : प्रा. डा. सविना श्रेष्ठ । चिकित्सा विज्ञानको कठोर अनुशासन र कलाको स्वतन्त्र उडानलाई एउटै जीवनमा सन्तुलनमा राख्न सक्ने डा. श्रेष्ठले दोस्रोपटक आफ्नो एकल चित्रकला प्रदर्शनीमार्फत काठमाडौंका कला पारखीहरूलाई फेरि एकपटक मन्त्रमुग्ध बनाएकी छन्।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको उक्त प्रदर्शनीको उद्घाटन वरिष्ठ चित्रकार श्री हरिप्रसाद शर्माज्यूले गर्नुभएको हो। उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ कलाकार श्री कान्छा कुमार कर्माचार्यज्यू, नेपाल ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख कलाकार श्री गोविन्द डंगोलज्यूलगायत विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। उपस्थित वक्ताहरूले डा. श्रेष्ठको सिर्जनामा देखिने भाव, रङ्ग संयोजन र दृष्टिकोणलाई ‘चिकित्सकीय संवेदनशीलता र कलाकारको आत्मा मिसिएको दुर्लभ संगम’का रूपमा व्याख्या गरे।
चार वर्षको साधना, १२५ चित्र




डा. श्रेष्ठले पछिल्लो चार वर्षको अवधिमा कोरेका १२५ वटा चित्रहरू यस एकल प्रदर्शनीमा राखिएका छन्। उनका क्यानभासहरूमा प्रकृति, जीवन, जगत, प्रेम, करुणा र मानवीय अनुभूतिका सूक्ष्म तहहरू अभिव्यक्त भएका छन्। कतिपय चित्रहरू स्पष्ट रूपात्मक छन् भने कतिपयमा अमूर्त भाव (Abstract Expression)को सशक्त उपस्थिति देखिन्छ। रङ्गहरूको सन्तुलित छनौट, साहसी मिश्रण र भावात्मक गहिराइले दर्शकलाई चित्रभित्र प्रवेश गराएको अनुभूति दिलाउँछ।
चिकित्सक, प्राध्यापक र कलाकार
डा. सविना श्रेष्ठ केवल कलाकार मात्र होइनन्, उनी एक समर्पित चिकित्सक र प्राध्यापक पनि हुन्। बंगलादेशबाट चिकित्सा शास्त्र अध्ययन गरेपछि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)बाट आँखा रोग (Ophthalmology) विषयमा विशेषज्ञता हासिल गरेकी हुन्। लामो समयसम्म नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरमा नेत्र विशेषज्ञका रूपमा सेवा दिँदै अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारी पनि सम्हालेकी उनले भारतबाट बाल आँखा रोगमा फेलोसिप समेत हासिल गरेकी छन्। हाल उनी काठमाडौं मेडिकल कलेजमा प्राध्यापकको रूपमा कार्यरत छन्।

कला, साहित्य र समाजप्रति प्रतिबद्धता
यो डा. श्रेष्ठको दोस्रो एकल चित्रकला प्रदर्शनी हो। यसअघि वि.सं. २०७८ सालमा शताब्दी पुरुष स्व. सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा ‘Vibration’ शीर्षकमा पहिलो एकल प्रदर्शनी गरिसकेकी थिइन्।
साहित्यमा पनि उतिकै सक्रिय डा. श्रेष्ठका तीनवटा कविता संग्रह र जीवनीमा आधारित पुस्तक ‘एउटा जीवन छामेर हेर्दा’ प्रकाशित भइसकेका छन्। हालै मात्र उनले १०२ जना कैदीहरूसँगको अन्तर्वार्तामा आधारित पुस्तक ‘अकथ्यको प्रतिध्वनि’ सार्वजनिक गरेकी छन्, जसले समाजका अदृश्य पीडाहरूलाई शब्द दिएको छ।
यस प्रदर्शनीको अर्को महत्वपूर्ण पक्ष भनेको यसको सामाजिक उद्देश्य हो। प्रदर्शनीबाट संकलन हुने रकम ‘प्रोफेशनल सपोर्ट सर्भिस नेपाल’ नामक गैरसरकारी संस्थामार्फत सञ्चालन गरिने सामाजिक कार्यमा सहयोगका लागि प्रदान गरिनेछ।

इच्छाशक्ति भए असम्भव केही हुँदैन
डा. सविना श्रेष्ठको जीवन यात्राले एउटा स्पष्ट सन्देश दिन्छ— इच्छा, अनुशासन र निरन्तर अभ्यास भए चिकित्सा, कला, साहित्य र समाजसेवा एकसाथ सम्भव छन्। सेतो कोटमा बिरामीको आँखामा उज्यालो बाँड्ने हातहरूले क्यानभासमा पनि जीवनका रङ्ग छरिरहेका छन्।
उनको उर्जा र सक्रियता हेर्दा लाग्छ— केही गर्ने चाहना भयो भने असम्भव भन्ने शब्द केवल बहाना मात्र हो । चित्रकला प्रदर्शनी पौष २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा सञ्चालन हुनेछ।



Leave a Reply