धातु मूर्तिशिल्पका सौम्य सर्जक : प्राज्ञ कालु कुमाले


आजपर्यन्त आफूभित्र निहित अपरिमित एवं अजस्र ऊर्जाको मुहानलाई सुक्न दिएका छैनन्, वरिष्ठ मूर्ति–साधक कालु कुमाले (कुम्हा:) ले । करिब एक दशकअघि जनतहबाट ‘क्रोध–कला शिरोमणि’ को उपाधि पाएयता होस् वा विक्रमाब्द १० को दशकताका मृत्तिका–कलामा आफ्ना युवा वयका उन्मुक्त औँलाहरू रगड्दाखेरि होस्, बितेको सात दशकभन्दा लामो समयावधिमा उनले मूर्ति–सिर्जनालाई नै पछ्याउँदै आए, जुन आजको दिनाङ्कसम्म चलिरहेको…

आजपर्यन्त आफूभित्र निहित अपरिमित एवं अजस्र ऊर्जाको मुहानलाई सुक्न दिएका छैनन्, वरिष्ठ मूर्ति–साधक कालु कुमाले (कुम्हा:) ले । करिब एक दशकअघि जनतहबाट ‘क्रोध–कला शिरोमणि’ को उपाधि पाएयता होस् वा विक्रमाब्द १० को दशकताका मृत्तिका–कलामा आफ्ना युवा वयका उन्मुक्त औँलाहरू रगड्दाखेरि होस्, बितेको सात दशकभन्दा लामो समयावधिमा उनले मूर्ति–सिर्जनालाई नै पछ्याउँदै आए, जुन आजको दिनाङ्कसम्म चलिरहेको छ ।
उनले पूर्ववर्ती वर्षहरूमा मूर्ति–शिल्पका जुन दिनचर्या अँगालेका थिए, अचेल त्यसमा आंशिक रूपमा मात्रै कटौती भएको छ । उस्तै लय र गति अँगाल्दै साधनालाई निरन्तरता दिइरहेका छन् । नौ दशक उमेर–अवधि पार गरिसकेका उनले बाल्यकालीन समयदेखि आफूभित्र उत्पन्न क्रियाशीलतालाई पूर्णविराम दिन चाहिरहेका छैनन् अझै । वृद्ध–वयका दिनहरू गनिरहँदा पनि दैनिक कर्मलाई अनुशासनको दरिलो खम्बाका रूपमा स्विकार्दै नित्य क्रियाशील छन् । हुन पनि बिनाअनुशासन जीवन–रथलाई कसरी गतिशील तुल्याउन सकिन्छ र ! अचेल पनि ब्रह्ममुहूर्त प्रारम्भ भएपश्चात् उनको दिनचर्या आरम्भ हुन्छ । अचेल उनको दिनचर्याको सूची यस्तो छ—
१. बिहान ३ बजे उठिसक्छन् र नित्य कर्म सिध्याउँछन् । दिनभरिको समय धातु मूर्तिशिल्पमा समय अर्पण गर्छन् ।
२. राति सातदेखि साढे सात बजेसम्म खाना खाइसक्छन् र राति नौ बजे परिवारका सदस्यहरूलाई भन्छन्, ‘अब म सुत्न गएँ, तिमीहरू पनि सुत्न जाओ ।’

उनले आफ्नो दिनचर्यालाई पूर्ववत् रूपमै कायम राख्दै आएका छन् । आफूलाई एक अनुशासननिष्ठ व्यक्तिका रूपमा ढाल्न आजका मितिसम्म कन्जुस्याइँ गरेका छैनन् ।
उनको समृद्ध विरासतलाई पुस्तान्तरणको जलप लगाउन प्रतिबद्ध साइँला सुपुत्र राकेश अवाले भन्छन्, ‘अचेल जाडो मौसम सुरु भइसकेको छ, जाडो महिनामा चाहिँ उहाँ दिउँसोपख मात्र काम गर्नुहुन्छ ।’ चाहे चिसो मौसम होस् वा गर्मी । आफ्नो कलाकर्मप्रति हरेक मौसम समर्पित हुन्छन् उनी ।

सिर्जन–कर्मबाट पर रहेका बेला दिनहुँजसो नै हेर्छन्— नेपाल (नेवारी) भाषाका कार्यक्रमहरू प्रसारण हुने टेलिभिजन र रेस्लिङ । उनी रेस्लिङ मनोरञ्जनका लागि मात्र हेर्दैनन्, उनका दृष्टि कुन खेलाडीले जिते वा हारे भन्नेतिर पनि केन्द्रित हुँदैन, रेस्लरहरूका हावभाव, भावभङ्गी र मुद्रातिर केन्द्रित हुन्छ, जुन एक हिसाबले उनको क्रोधकला–साधनाको कच्चा पदार्थसमेत हुन् ।

मृत्तिका कलामा पारङ्गत
परापूर्वकालदेखि काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नेवार समुदायका बासिन्दाहरूका शिल्पगत आधारमा ‘थर’ कायम गरियो । कुमाले समुदायले अपनाए— माटाका भाँडाकुँडा बनाउने काम । माटो–कलालाई निरन्तरता दिँदै जाँदा उनीहरू सोही कलामा दक्ष र पारङ्गत ठहरिए ।

कालुले विरासतकै रूपमा आर्जन गरे— मृत्तिका कला–ज्ञान र शिल्प । पिता सानु कुमालेले परम्परागत रूपमा माटाका भाँडा निर्माण र खेती–किसानी अपनाउँदै आएका थिए । पिताको शिल्पलाई छेउमै बसेर नियाल्थे, उनी । युवाकालीन कुइनेटोहरू छिचोल्दै जाँदा उनको व्यस्तता हरेक वर्ष दुई महिनासम्म तन्किन थाल्यो— फागुन/चैततिर । त्यस समय मच्छिन्द्रनाथ, मीमनाथ, आदिनाथ र बसुन्धरादेवीकहाँ माटाका भाँडाकुँडाहरू चढाइन्थे, जसमा उनका सिद्धहस्त कला प्रदर्शित हुन्थे ।

उनका पुर्खाहरू थिए, हाँडीगाउँका बासिन्दा । मच्छिन्द्रनाथ, मीमनाथ, आदिनाथ आदिलाई चढाइने माटाका भाँडा बनाइनुपर्ने भएपछि प्रजापतिहरूमध्ये दक्ष शिवसिंह प्रजापतिका तीन खलकलाई विक्रमाब्द १७१७ मा पाटनका राजा श्रीनिवास मल्लले आफ्नो सहरमा निम्त्याए । मच्छिन्द्रनाथलगायतमा चढाइने भाँडा बनाइँदा कडा अनुशासनमा बस्नुपथ्र्याे । माटाका भाँडाकुँडा बनाइने समयावधिमा अरूकहाँ गएर खान पाइँदैनथ्यो र आफ्नी पत्नीसँग समेत अलग्गै बस्नुपथ्र्यो ।

पिताको मृत्तिका कला हेर्दै हुर्किएका उनले सोही शिल्पमा आफूलाई समर्पित गर्ने सङ्कल्प लिए, बाल्यकालीन दिनहरूमै । ३० को दशकयता भने उनले आफूलाई धातु शिल्पमा सङ्केन्द्रित तुल्याउँदै लगे, जसले जीवनको नौ दशकीयभन्दा बढी यात्रासम्म निरन्तरता पाइरहेको छ । यसलाई प्रामाणिक आधारमा नियाल्दा सिङ्गो कुमाले समुदायको ३ सय २६ वर्ष लामो इतिहासको निरन्तरतासमेत मान्न सकिन्छ ।

प्रारम्भिक दिनहरूमा मूर्तिकला अँगाल्दा जीवन धान्न सकस भएपछि उनले खेती–किसानीका साथै अरू कर्ममा आफूलाई समर्पित तुल्याए । कहिले परालको चप्पल बनाउने, कहिले मुखुन्डो बनाउने । सन् १९६४ यता भने उनको पेसागत जीवनमा बहारका दिनहरू भित्रिन थाले । मूलत: सन् १९५९ यता तिब्बतीयन शरणार्थीहरू आफ्नो मुलुकबाट बाहिरिन थालेपछि उनीहरू धातुका मूर्ति बनाउने कार्यमा दक्ष पाटनका संघरत्न शाक्यको सम्पर्कमा आए । एक दिन उनै शाक्यले कालुलाई भने, ‘कालु, तिमी धातुशिल्पमा पारङ्गत छौ, खेती–किसानी गरेर के हुन्छ ? म तिम्लाई काम दिन्छु, काम गर । राम्रो आम्दानीसमेत हुन्छ ।’

सुरुमा उनले अस्वीकृति जनाए । तर, संघरत्नले ‘म तिमीलाई दिनको पाँच रुपियाँ दिन्छु’ भनेपछि उनले धातुका मूर्तिहरू मर्मत गर्ने कार्यमा दक्षता देखाउन थाले । पछिल्ला दिनहरूमा दैनिक ज्यालादारीमा नभई गोटाका आधारमा कमाइ हुन थाल्यो— १५ देखि २५ रुपियाँसम्म । त्यस समय उनी एकाध घण्टामात्रै सुत्थे र अधिकांश समय धातु मूर्तिकलामै घोटिन्थे ।

मूर्तिकलामा चार भाइ समर्पित
किशोरकालीन सिँढीहरू उक्लिँदै गर्दा १२ वर्षमा वैवाहिक सम्बन्धमा बाँधिएका कालुको पहिलो बिहे असफल भएपछि १५ वर्षमा अर्को विवाह गरे र जन्मिए— १३ सन्तान (६ छोरा, ७ छोरी) । उनले अँगालेका मूर्तिशिल्पलाई चार छोराहरूले अँगाले— जेठो राजेश, साइँला राकेश, काइँला सुरेन्द्र र अन्तरे वीरेन्द्रले । अहिले सुरेन्द्र र वीरेन्द्र भौतिक रूपमा छैनन् ।
दुई छोरा राजेश र राकेशले उनको विरासतलाई अघि बढाइरहेका छन् । राकेश भन्छन्, ‘बुबाको कलालाई उजागर गर्नुपर्छ भन्ने बोध भएपछि मैले पनि २०४३ सालदेखि यही क्षेत्र अँगालेँ र बुबाका काममा सघाउन थालेँ । त्यसअघि भने उहाँका कलाकृतिहरू ओझेलमा परेका थिए ।’

उनका मूर्तिहरू ३० को दशकदेखि नै विभिन्न मन्दिर, मठ, गुम्बाहरूमा स्थापित भइसकेका थिए । यद्यपि, कतिपयले भने उनलाई कला–सर्जकका रूपमा मान्यता दिन भने कञ्जुस्याइँ गरिरहेका थिए । आफ्नो सिर्जना संसारमा निमग्न रहे पनि गुमनामजस्तै रहे, धेरै वर्षसम्म । तर छोराहरूले ‘छ्वास्कामुनि अजिमा (पाल्देन ल्हामु) को मूर्ति कालु कुमालेले बनाएका हुन्’ भन्ने कुरा उजागर गरेपछि उनी नेपाली मूर्तिकलाको क्षेत्रमा एकाएक चिनिन थाले ।

अर्घाखाँचीको मूर्ति : ठूलो मूर्ति
पछिल्लो समय उनको परिकल्पना र निर्देशनमा स्थापित मूर्ति हो, अर्घाखाँची जिल्लाको अर्घा दरबारमा प्रतिस्थापित अर्घा भगवतीको मूर्ति । जुन मूर्ति २१ फिट अग्लो छ र निर्मित भएको थियो, करिब दुई वर्षअघि । सो मूर्ति प्रतिस्थापनापश्चात् उनले आफ्नो व्यक्तिवृत्त ‘देउता बनाउने मान्छे’ मा लेखेका छन्, ‘मसँग भएको मूर्तिकलासम्बन्धी ज्ञान केवल ममै सीमित नहोस्, कुनै न कुनै हिसाबले पुस्तान्तरण होस् भन्ने चाहना पनि केही हदसम्म पूरा भयो ।’
उनीद्वारा सिर्जित मूर्तिहरू नेपाल, फ्रान्स, भारत, चीन (तिब्बत) का विभिन्न सङ्ग्रहालय र गुम्बाहरूमा छन् । काठमाडौँ उपत्यकाभित्र उनका मूर्ति नसजिएका मन्दिर र गुम्बाहरू सायदै होलान् !

कपिराइटको समस्या
हामीकहाँ सिर्जनाका हरेकजसो विधामा कपिराइट (प्रतिलिपि अधिकार) कानुन छ, मूर्तिकलामा भने त्यस्तो कानुन नहुँदा कला–सर्जकहरू प्रताडित देखिन्छन् । जीवित छँदाखेरि शताब्दी–पुरुष/संस्कृतिविद् सत्यमोहन जोशीले मूर्तिकलालाई कपिराइट दिलाउन पहल गरेका थिए । जोशीले कालुलाई भनेका पनि रहेछन्, ‘नारायणहिटी सङ्ग्रहालयमा मूर्तिहरू राख्ने कुरा अघि बढेको छ, तपाईंले पनि आफ्ना मूर्ति दिनुस्, सो सङ्ग्रहालयमा राखेपछि कलाकारको पनि पहिचान हुन्छ ।’ जोशीको निधनपश्चात् भने सो कार्य अघि बढ्न सकेन । विदेशतिर भने मूर्तिकलाको प्रतिलिपि अधिकार दिइने चलन छँदै छ ।

त्यसो त, २०७३ साल वैशाख २९ गते जनतहबाट ‘क्रोध–कला शिरोमणि’ द्वारा सम्मानित भए पनि उनलाई राज्यतहबाट भने कुनै सम्मान दिने तत्परता देखाइरहेको पाइँदैन, ‘क्रोध–कला शिरोमणि’ सम्मानको एक दशक बिते पनि । ललितपुर महानगरपालिकाले ‘महानगर गौरव पुरस्कार’ दिनुका साथै अरू संघसंस्थाले उनका कलाकृतिप्रति उच्च सम्मान र पहिचानसमेत गरे पनि राज्यतह मौन रहनु सुखद पक्ष होइन ।

ललितपुर, हात्तीवनस्थित घर एवं कार्यक्षेत्रमा उनीद्वारा सिर्जित अधिकांशमध्ये एक बज्रभैरवको मूर्ति राखिएको छ, जुन मूर्तिको सिर्जन कार्य निकै जटिल प्रतीत हुन्छ । सो मूर्ति तयार हुन साढे तीन वर्ष समय लागेको उनी बताउँछन् । अत: आकार, संयोजन एवं प्रतीकलगायत अनेक दृष्टिले उनका मूर्तिशिल्पले अति नै विशिष्टताबोध दिलाउँछ । साथै, नेपालका सर्वश्रेष्ठ धातु मूर्ति–शिल्पी कालु आफ्नो सिर्जनामा असामान्य व्यक्तित्व महसुस हुनुमा समेत कुनै द्विविधा देखिँदैन । उनका मूर्ति–शिल्पतिर दृष्टि लगाउँदा उनका व्यक्तित्व र कृतित्वका रेसा–रेसा अभिव्यक्त हुन्छन् । भलै, धातुशिल्पका सशक्त हस्ती कालुले ‘क्रोध–कला’ लाई सिर्जनाको माध्यम बनाए तर उनका हरेक कलाकृतिले उनलाई ‘सौम्य सर्जक’ का परिभाषामा ढालेको सहजै अनुभूत गर्न सकिन्छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *