‘म लड्दा आफैँ उठूँ, तर उसले उठाएझैँ लागोस्
म आँसु आफैँ पुछूँ, तर उसले पुछेजस्तै लागोस्
माया अब कसैसँग गर्न मन छैन
माया मात्र अब महसुस गर्न मन छ ।’
कवि विप्लव प्रतीकको कविताका यी हरफहरूझैँ भावनात्मक प्रेममा मनको गहिराइबाट उत्पन्न ध्वनि सुन्ने गरिन्छ । जहाँ प्रेमको परिभाषा मनले मनलाई छोएपछि एकअर्काले महसुस गर्छन् । सोही प्रेमभावलाई मनले सुमसुम्याउँदै आफ्नो वैवाहिक जीवनलाई सुखद रूपमा अगाडि बढाइरहेका छन्, माया गुरुङ र सुरेन्द्र पाण्डे । मायालाई लाग्छ, ‘प्रेम र विवाह महिला र पुरुषबीच मात्र हुँदैन । फरक लैङ्गिक पहिचान र यौनिकता भएकाहरूबीच पनि प्रेम, विवाह र पारिवारिक सम्बन्ध जोडिन सक्छ । यसरी जोडिएको सम्बन्ध मनको गहिराइबाटै जोडिन्छ । जुन वैवाहिक सम्बन्धमा पति–पत्नीबीच मात्र नभई गहिरो मित्रताभाव हुन्छ, जहाँ समभाव र मायाले सुन्दर प्रेमको संसार सिर्जना हुन्छ ।

सुरेन्द्र भन्छन्, ‘माया मेरो जीवनको महत्वपूर्ण पक्ष हुन् । उनी मेरो जीवनमा छिन् र मलाई जिउन सहज भएको छ । उनी मेरी श्रीमती मात्र नभई साथी र जीवनकै महत्वपूर्ण पाटो हुन् ।’ उनीहरूको वैवाहिक जीवन अरू सामान्य वैवाहिक जोडीजसरी नै चलिरहेको छ ।
जन्मिँदाखेरि माया पुरुषका रूपमा जन्मिए पनि हुर्किंदै जाँदा भने उनको रुचि र स्वभाव आम महिलाजस्तै देखियो । त्यसपछि पहिचानको खोजी गर्ने क्रममा उनको भेट सुरेन्द्रसँग भयो । उस्तै पहिचान खोजिरहेको र समाजबाट उही खाले तिरस्कार भोगिरहेका यी दुवैले एक–अर्कालाई नजिकैबाट नियालेनन् मात्र, दुवैले आ–आफ्ना दुःख बिसाउने चौतारीसमेत भेट्टाए । अन्ततः २०७४ सालमा यी दुवैले समलिङ्गी विवाह गरेर जीवन–यात्रालाई निरन्तरता दिन चाहे । विवाहपछि दुवैले आफू मात्र नभई पीडामा रहेका तमाम लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकहितका लागिसमेत अगाडि बढ्ने प्रण गरे ।
सर्वोच्च अदालतले २०८० साल असार १२ गते लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा समलिङ्गी विवाहका लागि अन्तरिम आदेश दिएर कानुनी अधिकारको सुनिश्चितता दिलायो । अन्तरिम आदेशपश्चात् दुवैले २०८०, मंसिर १३ गते लमजुङको दोर्दी गाउँपालिकामा विवाह दर्ता गराए । यी दुई जोडी दक्षिण एसियामै कानुनी रूपमा समलिङ्गी विवाह दर्ता गर्ने पहिलो जोडी बन्न पुगे । माया लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानसहितको अधिकारका लागि स्थापित संस्था ‘मायाको पहिचान नेपाल’का अध्यक्ष र सुरेन्द्र सचिव हुन् । यी दुई जोडी आफूजस्तै कुनै पनि समलिङ्गी जोडी र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका भावी पुस्ताले पीडा भोग्नु नपरोस् भन्ने चाहन्छन् । कानुनी रूपमा विवाह दर्ता भएपछि अझै सम्बन्ध बलियो हुने आधार बनेको सुरेन्द्र बताउँछन् । भन्छन्, ‘हामीलाई मुख्य चुनौती भनेकै परिवार र समाज हो । परिवारले बुझिदिए मात्र समाजले बुझ्छ र जीवन सजिलो हुन्छ । अहिले कानुनी रूपमा विवाह हुने भएपछि परिवार र समाजले स्वीकार गरेको अवस्था छ ।’

फरक लैङ्गिक पहिचान र यौनिकता भएकाहरूको विवाहलाई नेपालमा कानुनी रूपमा मान्यता प्रदान गरेकाले महिला र पुरुषबीच मात्र युगल जोडी, प्रेम, विवाह अनि परिवार हुन्छ भन्ने परम्परागत मान्यताबाट माथि उठेर समलिङ्गी वैवाहिक जोडीलाई समेत परिवार र समाजले स्वीकार गर्न थालेको छ । अहिले माया र सुरेन्द्र मात्र नभई फरक लैङ्गिक पहिचान र यौनिकता भएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका थुप्रै जोडी वैवाहिक सम्बन्धमा बाँधिएर आफ्नो सुखमय दाम्पत्य जीवनलाई अगाडि बढाइरहेका छन्, जुन सम्बन्धलाई परिवार र समाजले सहज रूपमा लिन थालेका छन् ।
पारिवारिक सहयोगस्वरूप प्रेमसम्बन्ध कायम हँुदै कानुनी रूपमा वैवाहिक बन्धनमा बाँधिएका दीप्ति श्रेष्ठ र सुप्रिता गुरुङको दाम्पत्य जीवन सुखद रूपमा चलिरहेको दुवै जनाको अनुभव छ । अचेल बुटवलमा बस्दै आएकी दीप्ति र तनहुँ हुँदै नेपालगन्जमा पुगेकी सुप्रिताबीच सामाजिक सञ्जालमा भेट भएपछि प्रेम अङ्कुराउन पुगेको थियो । त्यसपछि भने सुप्रिता बेलायत बस्दै आएकी थिइन् । प्रेमसम्बन्धको करिब पाँच वर्षपछि यी दुईले २०८० साल माघ २८ गते बर्दियाको बढैयाताल गाउँपालिकाबाट कानुनी रूपमै विवाह दर्ता गरे । उनीहरू दक्षिण एसियामा बिहे दर्ता गर्ने पहिलो महिला समलिङ्गी जोडी हुन् ।

विवाहपछि सुप्रिता बेलायत फर्केकी थिइन् । दीप्ति पनि ६ महिनाअघि बेलायत पुगेकी छन् । सुप्रिता भन्छिन्, ‘हामी फिजिकल्ली टाढा भए पनि भर्चुअल रूपमा चौबीसै घण्टा नजिक थियौँ । अहिले कामबाट फर्किंदा आफ्नो मान्छे घरमा छ भन्ने सम्झेर पनि एकदमै खुसी लाग्छ ।’ यी दुई जोडीमा दीप्ति श्रीमान् र सुप्रिता श्रीमतीका रूपमा छिन् । आफूहरू दुईबीचको सम्बन्धमा पितृसत्तात्मक सोच र प्रणालीमा जस्तो व्यवहार नभएको सुप्रिता बताउँछिन् । दीप्ति भन्छिन्, ‘उनलाई मैले मेरी वाइफ माने पनि हामी बढी त साथी नै हौँ । हामी सबै काम मिलेर गर्छौं । हामीलाई पारिवारिक साथसमेत रहँदै आएको छ ।’ विदेशमा केही समय बसेर आर्थिक रूपमा अलिकति बलियो बनेपछि आफ्नै देशमा फर्किएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्ने दुवैको योजना छ ।
उस्तै विचार र पहिचानको खोजीमा भौँतारिएकाहरूलाई दाम्पत्य जीवनका निम्ति भरोसा प्रदान गर्ने मनिला न्यौपाने र प्रकाश चौधरीको जोडी बताउँछन् । मनिलाका अनुसार, फरक लैङ्गिक पहिचान र यौनिकता भएकाहरूलाई परिवार एवम् समाजले पूर्ण रूपमा अझै स्वीकार गर्न चाहँदैन । यस्तो परिस्थितिमा जीवनमा सँगै यात्रारत साथी पाउनु अझै अगाडि बढ्ने सहारा पाउनु हो । कैलालीको कैलारी गाउँपालिका–८ का प्रकाश र तुलसीपुर उपमहानगरपालिका–१ की मनिलाले २०७६ सालमा सामाजिक परम्पराअनुसार विवाह गरेका थिए । यी दुईले २०८० पुसमा कैलारी गाउँपालिका–८ वडा कार्यालयबाट विवाह दर्ताको प्रमाणपत्र लिएका थिए । कानुनी रूपमा विवाह दर्ता गरेपछि सम्बन्ध अझै प्रगाढ बनेको प्रकाश बताउँछन् । उनी भन्छन्, ‘एक–अर्काको भावना बुझिदिने सबैभन्दा नजिकको साथी नै श्रीमान्÷श्रीमती हुन सक्छ । म पनि मेरो कुरा सहजै रूपमा मेरी श्रीमतीलाई राख्न सक्छु । हामी एक–अर्काका लागि भरोसा बनेका छौँ ।’ आफ्नो वैवाहिक सम्बन्धले फरक लैङ्गिक पहिचान र यौनिकता भएकाहरूलाई अगाडि बढ्ने आधार तय भएको उनीहरू बताउँछन् ।
समलिङ्गी जोडीलाई अझै झमेला
कानुनी रूपमा समलिङ्गी जोडीले मान्यता प्राप्त गरे पनि अझै पनि पारिवारिक तथा सामाजिक रूपमा झमेलाहरू बेहोरिराख्नुपरेको मायाले बताइन् । उनका अनुसार अझै पनि समलिङ्गी व्यक्तिहरूलाई परिवारबाट नै हिंसा, अपहरण र दुव्र्यवहार हुने गरेका छन् । हालै मात्र मायाको पहिचान नेपाल र ओरेक नेपालको पहलमा पारिवारिक बन्धनमा रहेका समलिङ्गी जोडी प्रमिला तामाङ र सुशीला रम्तेलको पुनर्मिलन र कानुनी रूपमा समेत विवाह दर्ता भएको छ ।
एउटा घटना, सिन्धुलीको सुनकोसी गाउँपालिका–६ का सचिव डण्डपाणि भण्डारीले दुवै महिला भएकै कारण विवाह दर्ता गर्न आनाकानी गरेका थिए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई मायाको पहिचान नेपालको टोलीले विवाह दर्ताका लागि सहज हुने व्यवस्थाका लागि आग्रह गरेको थियो । निर्देशक केशरीले वडा–सचिवलाई निर्देशन दिएपछि विवाह दर्ता भएको थियो । सुनकोसी गाउँपालिका–६ निवासी सुशीला र धादिङ, गल्छी गाउँपालिका–५ निवासी प्रमिला दुई वर्षदेखि समलिङ्गी सम्बन्धमा थिए । प्रमिलाका अनुसार कानुनी रूपमा विवाह गरे पनि परिवार र सामाजिक रूपमा यी दुईले अझै सुरक्षित वातावरण महसुस गर्न पाएका छैनन् । प्रमिला भन्छिन्, ‘हामीले सँगसँगै बाँच्ने र हिँड्ने प्रण त ग¥यौँ तर तत्काल नै बाहिर खुलेर जान र बोल्न सक्ने अवस्था छैन ।’
फरक लैङ्गिक पहिचान र यौनिकता भएकै कारण सामाजिक जीवन मात्र नभएर अहिले आर्थिक रूपमा निकै कठिन रहेको मनिलाले बताइन् । उनले् भनिन्, ‘हाम्रो पहिचानअनुसार ओरिजिनल डकुमेन्ट र फोटो फरक हुन्छ । यसले गर्दा कतै पनि काम गर्छु भन्दा पाउन निकै गाह्रो छ । सामाजिक तिरस्कार त छँदै छ, क्षमता भएर पनि रोजगारीको अवसर नपाइँदा हाम्रो समुदायलाई आर्थिक रूपमा समस्या निम्तिइरहेको छ ।’
उनका अनुसार अचेल उनी आफ्नो श्रीमान् प्रकाशसँग भैरहवामा बस्दै आएकी छन् । नेपालमा अझै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मानिसहरूको अवस्था सामान्य मानिसको तहमा आउन नसकेको माया स्विकार्छिन् । सामाजिक, आर्थिक तथा न्यायिक रूपमा समान अधिकार र पहुँचकै लागि संस्थागत रूपमा लडिरहेको उनले बताइन् । आउने पिँढीहरूले सामाजिक अपहेलना र तिरस्कार भोग्न नपरोस् भन्ने ध्येयका साथ आफू संस्थागत रूपमा लडिरहेको उनको भनाइ छ ।
००



Leave a Reply