नेपाली बजारमा सुनको मूल्य र अमेरिकी डलरको विनिमय दरले पछिल्ला दिनहरूमा निरन्तर नयाँ रेकर्ड बनाइरहेका छन् । दैनिक रूपमा बढ्दो सुन र डलरको मूल्यले आम उपभोक्ताको खरिद क्षमता घटाउनुका साथै समग्र अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष दबाब सिर्जना गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्यका अनुसार, सुन र चाँदीको मूल्य अकासिनु आकस्मिक घटना होइन, बरु विश्वव्यापी अस्थिरताको स्वाभाविक परिणाम हो ।
“संसारमा जब–जब युद्ध, महामारी, प्राकृतिक विपत्ति र राजनीतिक असुरक्षा बढ्छ, तब लगानीकर्ताहरू कागजी मुद्राबाट टाढा भएर सुन र चाँदीजस्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुन्छन्,” शाक्यले भने । उनका अनुसार यो प्रवृत्ति आजको मात्र नभई सयौँ वर्षदेखि चल्दै आएको ऐतिहासिक अभ्यास हो ।
माग बढ्यो, आपूर्ति सीमित
शाक्यका अनुसार हाल विश्व बजारमा सुन र चाँदीको माग अचानक तीव्र रूपमा बढेको छ, तर आपूर्ति भने सीमित छ । “सुन प्रयोगशालामा उत्पादन गर्न सकिने वस्तु होइन । यो खानीबाट मात्र निकालिने खनिज हो, र विश्वभर खानीहरू क्रमशः घट्दै गएका छन् । तर माग अत्यधिक बढेकाले मूल्यमा अस्वाभाविक वृद्धि देखिएको हो,” उनले स्पष्ट पारे । उनका अनुसार अहिले व्यक्तिगत लगानीकर्तामात्र होइन, ठूला–ठूला राष्ट्रहरू स्वयंले पनि सुन–चाँदीलाई ‘सेफ हेभन’ को रूपमा संचित गर्न थालेका छन् ।
कागजी मुद्राप्रतिको विश्वास घट्दो
“अब संसारका धनी कहलिएका राष्ट्रहरूलाई समेत आफ्नै कागजी मुद्रामा पूर्ण विश्वास छैन,” शाक्य भन्छन्, “युद्ध वा राज्य असफल हुँदा कागजी पैसा शून्य हुन सक्छ, तर सुन–चाँदीले आफ्नो मूल्य जोगाइरहन्छ भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ ।” इराक युद्धको उदाहरण दिँदै उनले भने, “सद्दाम हुसेनको शासनकालमा इराकी मुद्रा बलियो थियो, तर युद्धपछि त्यो कागज बराबर पनि रहेन । जसले सुन–चाँदीमा सम्पत्ति राखेका थिए, उनीहरू मात्र सुरक्षित भए ।”
डलर र सुनबीचको परम्परागत सम्बन्ध कमजोर
रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व, चीन–ताइवान तनाव जस्ता घटनाले विश्वव्यापी ‘वार मेन्टालिटी’ बढाएको शाक्यको भनाइ छ । यसकै असरस्वरूप डलर र सुनबीचको परम्परागत सम्बन्ध कमजोर हुँदै गएको छ । “पहिला डलर बलियो हुँदा सुन घट्थ्यो । अहिले त्यो नियम लागू हुँदैन । अहिले डलरमा प्यानिक छ, त्यसैले डलर बढ्दा पनि सुनको मूल्य सँगसँगै बढिरहेको छ,” उनले बताए ।
ठूला राष्ट्रहरू सुनतर्फ
उनका अनुसार अमेरिका, चीन, रुस, भारत, पोल्यान्ड, ब्राजिललगायत देशहरूले डलरभन्दा सुनको भण्डारण बढाउने रणनीति अपनाइरहेका छन् । “रुसले युद्धपछि अर्बौँ डलर बराबरको विदेशी सम्पत्ति गुमायो । यही डरका कारण चीनजस्ता देशहरूले पनि डलरभन्दा सुन–चाँदीमा आफ्नो रिजर्भ सारिरहेका छन्,” शाक्यले भने ।
अमेरिकी राजनीति र विश्व बजार
अमेरिकाको आन्तरिक राजनीति, संरक्षणवादी व्यापार नीति, परिवर्तित भन्सार शुल्क (ट्यारिफ) र अन्तर्राष्ट्रिय तनावले पनि डलरप्रति लगानीकर्ताको आकर्षण घटाएको शाक्यको विश्लेषण छ । “डलरप्रति आकर्षण घटेपछि लगानीकर्ताले सुरक्षित धातु सुनमा लगानी बढाएका छन्, जसले विश्व बजारमा सुनको माग अझ चर्काएको छ,” उनले बताए । ग्रिनल्यान्डलाई लिएर अमेरिका र नाटोबीचको तनाव, साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिले बजारमा थप अनिश्चितता सिर्जना गरेको उनी बताउँछन् क्यानडासँग सम्बन्धित हालैको १०० प्रतिशत भन्सार कर चेतावनीले पनि विश्व बजारलाई झनै चिन्तित बनाएको उनको भनाइ छ ।
नेपाली बजारमा असर
विश्व बजारमा सुनको मूल्य वृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुनु—यी दुई प्रमुख कारणले नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको शाक्य बताउँछन् । यसको असर गहना व्यवसाय, उपभोक्ता खर्च र समग्र आर्थिक गतिविधिमा स्पष्ट देखिन थालेको छ ।



Leave a Reply