म गलाले नै जमेको मानिस हुँ


रेडियो नेपालबाट प्रसारण हुने नाटक वा गीति–नाटकहरूमा सुनिने त्यो भयङ्कर आवाज, त्यो डरलाग्दो हाँसो…। त्यो आवाज बोल्ने मानिस अरू कोही नभई म नै थिएँ । अलि अप्ठ्यारो र डर लाग्ने पात्र चाहियो भने निर्देशकहरू मलाई नै सम्झिन्थे । गलाकै कारण म रेडियोमा जमेँ । जीवनको सबैभन्दा ठूलो पहिचान मेरो स्वरले दियो । म विक्रमाब्द २००५…

रेडियो नेपालबाट प्रसारण हुने नाटक वा गीति–नाटकहरूमा सुनिने त्यो भयङ्कर आवाज, त्यो डरलाग्दो हाँसो…। त्यो आवाज बोल्ने मानिस अरू कोही नभई म नै थिएँ । अलि अप्ठ्यारो र डर लाग्ने पात्र चाहियो भने निर्देशकहरू मलाई नै सम्झिन्थे । गलाकै कारण म रेडियोमा जमेँ । जीवनको सबैभन्दा ठूलो पहिचान मेरो स्वरले दियो ।

म विक्रमाब्द २००५ सालमा जन्मिएँ, दोलखाको विहारछेँ टोलमा । बुबा सरकारी जागिरे हुनुभएकाले काठमाडौँमै बस्नुहुन्थ्यो । म भने दोलखामै आमासँग उकाली–ओराली, पहाडी जङ्गल र खेतबारी गर्दै हुर्किएँ । ७–८ कक्षा काठमाडौँको पकनाजोलमा पढे पनि मन रमाउन सकेन । फेरि दोलखामै फर्किएर ९ कक्षादेखि पढ्न थालेँ ।

त्यति बेला दोलखामा दुई–चार जनाका घरमा मात्र रेडियो थियो । दम दिएर चलाइने त्यो रेडियो सुन्न मानिसहरूका लस्कर लाग्थ्यो । असाध्यै मोह थियो, रेडियोप्रति । अहिले आफूले चालु गरेको स्मार्टफोन हेर्दा लाग्छ, ‘संसार त अब यही सानो बट्टाभित्र छ ।’

बाल्यकाल टुकी र दियोको उज्यालोमा बिताइयो । पाटीमा कालो फिँजाएर अँगारले लेखिन्थ्यो । क, ख लेख्दाखेरि धेरै जान्ने भएँजस्तो लाग्थ्यो । त्यति बेला दोलखाबाट काठमाडौँ जाँदा ‘नेपाल जाने’ भनिन्थ्यो । अचेल विदेश गएजस्तै ।

नाटकसँग पहिलो भेट
एसएलसीपछि काठमाडौँ आएँ र भेटेँ वसन्त श्रेष्ठ, राधेश्याम प्रधान, नरेन्द्र श्रेष्ठ, गौतम तुलाधरजस्ता साथीहरूसँग । उनीहरू नास खल:मा आबद्ध थिए र कला–संस्कृतिमा गहिरो रुचि राख्थे । उनीहरूसँग सङ्गत बढ्दै जाँदा अभिनयतिर मन तानियो । गाउँमा हुँदा कहिल्यै अभिनयप्रति सोच बनाएको थिइनँ । त्यति बेलै कृष्णप्रसाद रिमालले नाटक ‘गहना’ निर्देशन गर्न लागेका रहेछन् । वसन्तले मेरो नाम दिए । आठ महिनाको नित्य अभ्यासपछि राष्ट्रिय नाचघरमा पहिलो पटक मञ्चन भयो । अहिलेझैँ लाइट, साउन्ड, स्पेसल माइक थिएन । बैठकको सोफा, दराज, ऐना बोकेर स्टेज बनाइन्थ्यो । कठिन थियो तर मनैदेखि रमाएँ ।
२०२७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा कलाकारको रूपमा जागिर पाएँ । नाटक नै जीवन भयो । ‘समानान्तर’, ‘पत्थरको कथा’ जस्ता नाटकहरूमार्फत दर्शकमाझ मेरो स्वर र अभिनय चिनिन थाल्यो ।

रेडियोले दिलायो पहिचान
एक दिन रेडियो नेपालका निर्देशक श्यामदास वैष्णव नाटक हेर्न आएका रहेछन् । ‘तपाईंको स्वर रेडियोमा फिट हुन्छ,’ वैष्णवको यो वाक्य मेरा लागि जीवन बदल्ने क्षण थियो । रेडियो नाटक सुरु गरेँ र रेडियोमै स्वरले मलाई परिचित गरायो । पछिल्लो समय त प्रज्ञा–प्रतिष्ठानको जागिर छाडेर रेडियो नेपालमै आबद्ध हुन पुगेँ ।

त्यति बेला ‘इफेक्ट’ बनाउनु पनि ठूलो कला मानिन्थ्यो । ढोका खट्खटाएको, बच्चा रोएको, चरा कराएको, पानी परेको, धान रोपेको— यी सबै यथास्थानमै गएर रेकर्ड गरेर ल्याउनुपथ्र्यो । मिक्स गर्न चाहिन्थ्यो, ५–६ वटा मनिटर ।

पारिश्रमिकचाहिँ थियो, मिनेटको ३ रुपैयाँ । पछि निर्देशक भएपछि १० रुपैयाँ थाप्न थालेँ । कलाकारहरूलाई क, ख, ग वर्ग छुट्ट्याएर मकै पारिश्रमिक तोकिदिएँ— ५ सय, ३ सय, २ सय । त्यति बेला रेडियो नेपाल नै नेपालभरि आवाज पुर्‍याउने एक्लो माध्यम थियो ।

‘महिषासुर’ को कथा
रेडियोमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ‘श्रीकृष्ण लीला’ मञ्चन गर्नुपर्ने भयो । कंसको भूमिका निर्वाह गर्ने कलाकार भेटिएन । अन्तत: मैले नै कंसको भूमिका गरेँ । स्वर बसेको भए पनि कंसको भूमिकामा जमेँ । त्यसपछि दसैँको नाटकमा महिषासुर, दैत्य, दानव सबै भूमिका मेरो भागमा पर्न थाल्यो ।

कतै मलाई देख्दा र मेरो स्वर सुन्दा मानिसहरू भन्थे, ‘ओहो ! रेडियोको महिषासुर आयो !’ कोही त भाग्थे पनि । यसरी ‘महिषासुर’ मेरो अर्को पहिचान बन्यो । त्यति बेला पुरुषले नै महिलाको भूमिका खेल्नुपथ्र्यो । समाजले के भन्ला भन्ने डरले श्रीमती, भाउजूका भूमिका नै नहुने गरी कथा लेखिन्थ्यो । गायक रत्नदास प्रकाश, नीरविक्रम ‘प्यासी’ त्यस समयका बलिया कलाकारहरू थिए ।

नाटक मञ्चन धेरै गाह्रो
त्यस बेला नाटक देखाउन आवश्यक स्रोत–साधन थिएन । माइकमा बोल्नुपथ्र्याे । आवाज आएन भने दर्शक कराउन थाल्थे । टिकट काटेर नाटक हेर्ने चलनै थिएन । दिनभरि नाटक हेर्न आउनू भन्दै माइकिङ गर्दै गल्ली–गल्ली डुल्नुपथ्र्यो । नेपालमा भर्खर सोनीको टेप रेकर्डर भित्रिएको थियो । श्यामदास श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा एउटा नाटक मञ्चन हुने भयो । नाटकमा सधैँ साउन्डको समस्या खेप्नुपथ्र्याे । स्ट्यान्डमा राखेको माइकमा उभिएर बोल्नुपथ्र्याे । त्यसले बडी मुभमेन्ट राम्रो देखिँदैनथ्यो । नाटकमा संवादसँगै विभिन्न आवाज रेकर्ड गरायौँ ।
त्यस बेला अंगुरबाबा जोशी महिला सङ्गठनको अध्यक्ष हुनुहुन्थ्यो । महिला सङ्गठनले नारी दिवसको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एउटा नाटक मञ्चन गरायो । पहिलो दिन जसोतसो मञ्चन गर्‍यौँ । भोलिपल्ट नाटक मञ्चन गर्नै गाह्रो भयो । रेकर्ड गरेको पहिलो पार्टको संवादलाई फेरि सुल्ट्याउनुपर्ने रहेछ । प्राविधिकले सुल्ट्याउन बिर्सेछन् । दर्शक नाटक हेर्न आइसकेका थिए । हामी सबै मञ्चमा निस्किसकेका थियौँ, तर टेप रेकर्डरमा साउन्ड बजेन । त्यस दिन नाटक मञ्चन गर्न सकिएन । दर्शक सबै उठेर हिँड्न थाले । ‘आज प्राविधिक कारणले गर्दा नाटक देखाउन सकिएन’ भन्यौँ र भोलिपल्ट सोही टिकटमा नाटक देखायौँ ।

चलचित्रको मोड र पहिलो ‘रिजेक्सन’
त्यस समय ५–६ वर्षमा एउटा फिल्म बन्थ्यो । देशबाहिरबाट प्राविधिक बोलाएर फिल्म बनाइन्थ्यो । दरबारले फिल्म ‘मनको बाँध’ का लागि कलाकार खोजेको रहेछ । त्यो सूचना ‘गोरखापत्र’मा देखेँ । मैले फिल्ममा अभिनय गर्ने सोचले निवेदन दिएँ । त्यो बेला चलचित्र संस्थानमा उत्तमलाल श्रेष्ठ र चेतन कार्की हुनुहुन्थ्यो । निवेदन दिएकामध्ये हामी २५ जना छनोट भयौँ । मेरो ११ नम्बरमा नाम निस्किएछ ।

अडिसनका लागि चेतन कार्कीले बालाजुमा बोलाउनुभयो । निर्देशकचाहिँ प्रकाश थापा हुनुहुन्थ्यो । उहाँ नेपाली कम बोल्नुहुन्थ्यो । मलाई देख्नेबित्तिकै कार्कीलाई हिन्दीमा भन्नुभयो, ‘यसलाई किन बोलाएको ?’ म छक्क परेँ । कार्कीले भन्नुभयो, ‘स्क्रिन टेस्ट गर्न बोलाएको ।’ थापाले भन्नुभयो, ‘अरे, इनको थोपडा तो देखो ।’ स्क्रिन टेस्ट गर्न लायक अनुहार छैन भन्दै मलाई फर्काइदिनुभयो । त्यस बेलादेखि चलचित्र खेल्ने रहर मर्‍यो । अहिले त्यो समय सम्झँदा अचम्म लाग्छ ।

मदनकृष्ण, हरिवंश र पुन: चलचित्र
मदनकृष्ण श्रेष्ठ पहिलेदेखिकै सहकर्मी । हामी रेडियोमा ‘कृषि कार्यक्रम’ सँगै चलाउँथ्यौँ । हरिवंश आचार्य ‘पञ्चरङ्गी’ मा आएपछि परिचय भयो । पछि उनीहरूले ‘के घर के डेरा’ बनाउँदा मलाई अफर गरेपछि मैले भनेँ, ‘म फोटोजेनिक छैन । स्क्रिनमा राम्रो नआउला ।’ मदनकृष्णले निकै कसेर आग्रह गरेपछि चलचित्रमा अभिनय गरेँ । सो चलचित्र चलेपछि मनभरि लागेको डर हट्यो । क्रमश: दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गर्ने अवसर पाइयो ।
२०४१ सालमा नेपाल टेलिभिजन स्थापना भयो । म सुरुदेखि नै प्रश्न–उत्तर कार्यक्रम, नाटक, सिरियलमा लागेँ । त्यसपछि त मानिसहरूले सडकमा देख्दा झनै भन्न थाले, ‘ओहो, यो मानिस त रेडियोको महिषासुर पो रहेछ ।’

चितवनमा अपमान सहनुपर्दा…
०३८ सालतिरको कुरा हो । कृषि विभागमा म, मदनकृष्ण र नवीन चित्रकार काम गथ्र्याैं । हरिवंशजीचाहिँ राष्ट्र बैंकको बैंकिङ कार्यक्रम चलाउनुहुन्थ्यो । हामी एउटा कार्यक्रमको सिलसिलामा चितवन जानुपर्ने भयो । त्यस बेला बास बस्ने र खाने व्यवस्था हुँदैनथ्यो । आफैँले व्यवस्था गर्नुपथ्र्यो । मदनकृष्णजीले चितवनमा एउटा गेस्ट हाउस मिलाउनुभएछ । बासको व्यवस्था भएपछि मासु–चिउरा खान हामी बसपार्कतिर निस्कियौँ । त्यस बेला चितवन बसपार्कमा धेरै रेस्टुरेन्ट थिएनन् ।

मासु–चिउरा खाएर फर्किंदै गर्दा एक जना मान्छेसँग अचानक भेट भयो । ती मान्छेले मदनकृष्णजीलाई चिन्दा रहेछन् । मदनकृष्णजीलाई उनले ‘कहाँबाट आएको ?’ भनी सोधे र हामी सबैसँग पालैपालो परिचय गरे । ‘बेलुका मेरो घरमा आउनुपर्छ है । खाने–बस्ने सबै व्यवस्था हुन्छ,’ भन्दै ती मान्छे गए । खाने–बस्ने व्यवस्था हुने भयो भनी हामी खुसीले गद्गद् भयौँ । साँझ पर्न लाग्दा हामी ती मानिसको घरमा पुग्यौँ । घरमा पुग्दा १२–१५ जना मानिस जम्मा भइसकेका रहेछन् । हामी घरमा पुग्नेबित्तिकै ‘ल, जोकरहरू आए’ भन्दै हल्ला गर्न थाले । हामीलाई कोकाकोला पिउन दिए र भने, ‘ल अब डाइलग भन्नुस् ।’ मलाई एक जनाले भने, ‘तपाईंले गब्बरसिंहको डाइलग बोल्नुपर्छ ।’ त्यो ठाउँमा बसिरहने माहोल भएन । हरिवंशजी बाहिर निस्किसक्नुभएछ । मदनकृष्णजी र म मात्रै बाँकी थियौँ । मदनकृष्णजी पनि पिसाब फेर्ने निहुँ गरेर बाहिर निस्किनुभयो । म पनि बहाना बनाएर निस्किएँ । त्यसपछि हामी त्यो ठाउँबाट टाप ठोक्यौँ ।

हरिभक्तसँग निकट
मैले ०२७ मा प्रज्ञा–प्रतिष्ठानमा जागिर सुरु गरिसकेको थिएँ । त्यस बेला कला–साहित्य क्षेत्रका स्रष्टाहरूसँग भेट हुन्थ्यो । एकअर्कामा साहित्यका कुराहरू हुन्थ्यो । कमलादीमा एउटा रेस्टुरेन्ट थियो । साँझ परेपछि त्यो रेस्टुरेन्टमा हरिभक्त कटुवाल, नारायणगोपाल, उत्तम नेपाली, विजयबहादुर मल्ललगायतसँग भेट हुन्थ्यो । कटुवाल, मल्लसँग मेरो निकटता थियो । कटुवालसँग त दिउँसोदेखि बेलुकासम्म सँगै हुन्थेँ । बेलुका उहाँलाई घरसम्म पुर्‍याउन पनि जान्थेँ । कटुवाल मदिरा बढी नै पिउनुहुन्थ्यो । मदिरा पिएको बेला उहाँ भन्नुहुन्थ्यो, ‘प्रेम एउटा नशा हो । यो नशा त्यो नशा (मदिराको नशा) भन्दा घातक हुन्छ ।’ पिउँदा उहाँ झनै रसिक हुनुहुन्थ्यो । प्रेमको नशा घातक हुन्छ भन्दा मलाई पनि साँच्चै हो कि जस्तो लाग्थ्यो । उहाँसँग बस्दाका क्षणहरू अझै सम्झिन्छु ।

ओस्कारसम्मको यात्रा
करिब २१ वर्षअघि चलचित्र ‘क्याराभान’ ओस्कारमा मनोनयन भयो । नेपालबाट म र नीर शाह अमेरिका गएका थियौँ । त्यहाँ कलाकारलाई गर्ने आदर–सम्मान देखेर चकित परेँ । अलग होटल, लेमोजिन, रोड–एयर स्कर्टिङ, रेड कार्पेटको पाइलासम्म फ्रेमिङ…। फर्किंदा एकै कुरा मनमा आयो, ‘हाम्रो देशले कलाकारलाई यसको एक प्रतिशत सम्मान मात्र गर्न सकेको भए पनि नेपालको कलाक्षेत्र कहाँ पुग्थ्यो होला ?’ नेपाल मात्रै त्यस्तो देश हो, जहाँ कलालाई सम्मान गर्न कञ्जुस्याइँ गरिन्छ भन्ने अनुभूति आज पनि उस्तै छ ।
००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *