भनिन्छ, घर बच्चाका लागि पहिलो पाठशाला हो भने आमा पहिलो गुरु । बच्चाले आमा हुँदै बुबा र परिवारका अन्य सदस्यहरूको सिको गर्दै आफूलाई त्यही स्वरूपमा ढाल्दै जान्छ । बालबालिकाहरू सामाजिक, आर्थिक, सांस्कृतिक एवम् धार्मिक रूपमा समाजमा कसरी प्रस्तुत हुन्छन्, त्यसमा अभिभावकहरूकै भूमिका रहन्छ । आफूले भविष्यका लागि कोर्ने गन्तव्य र अँगाल्ने पेसामा समेत अभिभावकको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव उनीहरूमाथि परिरहेको हुन्छ ।
कतिपय बालबालिकाहरू अभिभावकका भन्दा फरक पेसा अँगालेर अगाडि बढिरहेका छन् भने कतिले आमाबुबाकै पेसालाई पछ्याउँदै त्यसैमा संलग्न भइरहेका छन् । तिनै नयाँ पुस्तामध्येका एक हुन्, २४ वर्षीय साइब्रत आचार्य । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्ट्सबाट चित्रकला विधामा स्नातक तह सिध्याएर बसेका आचार्यका आमा–बुबा दुवै कला क्षेत्रमै सक्रिय छन् । सञ्चारकर्मी बुबा सुब्रत आचार्य सिनेमा, म्युजिक भिडियो मेकिङ तथा निर्देशन गरिरहेका छन् भने आमा जया शर्मा भट्टराई चित्रकार हुन् । आचार्य सानैदेखि आमा–बुबा दुवैको काम हेर्दै हुर्किए । बुबासँग त उनी सानैदेखि सुटिङ स्पटहरूमा पुग्थे । सिनेमाका कलाकारहरूले गर्ने एक्सन, कटका दृश्यहरूलाई उनी नियालेर बस्थे । बुबाले हेर्ने पटकथा र निर्देशन पक्षबारे १३/१४ वर्षकै उमेरमा उनी आफ्ना पनि कुरा राख्थे । उनको सुझावले बुबाको काममा केही सघाउ पनि पुग्थ्यो । साइब्रत भन्छन्, ‘बाबाले सुटिङ स्पटमा सानैदेखि लैजानुहुन्थ्यो । विराज भट्टजस्तै थुप्रै हिरोहरूले गर्ने एक्टिङ, एक्सन, कटको कामलाई जानी/नजानी मैले पनि हेर्दै सिकिरहेको रहेछु ।’

साइब्रत आचार्य. २४ वर्षीय
उनी भन्छन्, ‘पछि स्क्रिप्ट राइटिङहरूमा बाबालाई म केही कुरा इनपुट गर्थें । त्यति बेला मैले बोलेका केही कुराले बाबाको काममा राम्रो पनि हुन्थ्यो ।’ आचार्यले ‘कर्कश’, ‘छाया’ र ‘मिसन पैसा’ तीनवटा सिनेमामा समेत अभिनय गरिसकेका छन् भने केही विज्ञापनमा समेत काम गरेका छन् । अहिले उनी चित्रकार र भिजुअल क्रिएटिभ डाइरेक्टरका रूपमा आफूलाई स्थापित गर्ने यात्रामा छन् । आमा–बुबा दुवैको कामबाट प्रभावित भएर नै दुवैका पेसालाई आफूले अगाडि लैजाने सोच बनाएको उनी सुनाउँछन् । उनका अनुसार आमाको कलायात्राबाट प्रभावित भएर कला अध्ययनमा लागेका उनलाई बुबाको पेसाप्रति पनि उत्तिकै झुकाव थियो । अहिले दुवै पेसा फिल्म मेकिङ र चित्रकला सिर्जना उनको कामका लागि एकअर्काका लागि पर्याय बनेका छन् । भन्छन्, ‘फिल्म मेकिङमा हुने सर्ट, लाइट, कम्पोजिसनको पार्ट यता ड्रइङमा पनि अप्लाइ गर्दा झन हेल्प भएको छ । ड्रइङको आर्ट क्रियसन, भिजुअल ल्याङ्गोज फिल्म मेकिङमा पनि युज हुने भयो ।’ बुबा–आमाले उनको हृदयमा रोपिदिएको कला–सिर्जनाको बीउलाई उनी उमार्न र हुर्काउन चाहन्छन् ।

सुदीक्षा डंगोल, २३ वर्षीय
आचार्यजस्तै अभिभावककै लय पछ्याउँदै कला क्षेत्रमा प्रवेश गरेकी अर्का युवा पुस्ताका चित्रकार हुन्, २३ वर्षीय सुदीक्षा डंगोल । आमा सरिता डंगोल (चित्रकार) ले कोरेको चित्र, क्यानभासमा पोतिएका रङ्गका रेखा र लयहरूलाई हेरेरै उनी हुर्किइन् । उनकी आमाले चित्र कोर्न मात्र होइन, कला शिक्षालाई विस्तार गर्न कला ग्यालरी, मिखा, कम्युनिटी चिल्डे«न आर्ट स्कुल (सिसिएएस) स्कुल सञ्चालन गरेकी छन् । काठमाडौँ विश्वविद्यालयबाट कलामा स्नातक गरेकी उनी आमाकै बाटो समाउँदै अहिले कला–सिर्जना मात्र नभएर कला–कार्यशाला प्रदर्शनीमा निकै सक्रिय रूपमा लागेकी छन् । उनी सिसिएएसका कला–शिक्षकसमेत हुन् भने उनले सानेपामा कलाशाला ग्यालरीसमेत सञ्चालन गरेकी छन् । उनका अनुसार आमाले चित्र कोर्न बसेपछि उनलाई भुलाउन एउटा कागज, सिसाकलम, सानो ब्रस र केही रङहरू राखिदिन्थिन् । उनी त्यसैमा भुलिरहन्थिन् । कागजमा त्यत्तिकै कोरेका रेखाहरूमा बनेका आकृति र त्यसमा लागेका रङहरूबाट नै डंगोल चित्रकला सिर्जनामा भिजिन् । भन्छिन्, ‘सानैमा ममी जता जानुहुन्थ्यो, मलाई सँगै लैजानुहुन्थ्यो । मलाई भुलाउनकै लागि सानो पेपर र कलर राखिदिनुहुन्थ्यो । म त्यसैमा खेलेर बस्थेँ । यसरी ड¬«इङ गर्दै जाँदा नौ–दस कक्षामा पुगेपछि आर्ट गर्नतिर नै मलाई रमाइलो लाग्ने रहेछ भन्ने फिल भयो र आर्टिस नै बन्छु भनेर डिसाइड गरेँ ।’
पाँच/छ वर्षकै उमेरमा आमाको कलायात्राकै सिलसिलामा कोरिया पुगेकी उनी अहिले आफैँ पनि कला–सिर्जना, प्रदर्शनीको दौरानमा देश–विदेशमा पुगिरहन्छिन् । ‘आर्ट फिल्डमा कसैको अन्डरमा नबसी इन्जोय गरेर आफ्नो फिलिङ्स, इमोसन एक्प्रेस गर्न सकिन्छ । यसमा जस्तो फ्रिडम र ह्यापिनेस अरू प्रोफेसनमा हुन्छ जस्तो मलाई लाग्दैन । अहिले त पैसा पनि कमाउन सकिन्छ भन्ने भएको छ ।’ उनी भन्छिन् । उनका अनुसार आमाकै कारण उनको कलायात्रा अझै सहज भएको छ ।

पाल्साङ तामाङ, २४ वर्षीया
अभिभावककै बाटो समाएर हिँडेकी अर्का चित्रकार हुन्, २४ वर्षीया पाल्साङ तामाङ । रामेछापकी तामाङको परिवार अहिले भक्तपुर, सूर्यविनायकमा थाङ्का कला–सिर्जना गरिरहेका छन् । उनको परिवारमा बुबा लालबहादुर तामाङ, भाइ, काकाहरूसमेत थाङ्का कला–सिर्जनामै छन् । उनी पनि सानैदेखि बुबाले बनाइरहेको थाङ्का कला हेरेरै हुर्किइन् । बुबाले बनाइरहेको बुद्ध, ग्रिनतारा, पद्मसम्भव गुरुजस्ता आकृतिहरू हेरेर उनी दङ्ग पर्थिन् र बुबाले पोत्ने रङमा समेत चासो दिएर हेर्थिन् । कलेजको अध्ययनसँगै के सीप सिक्ने ? अन्योलमा परिरहेको समयमा उनले थाङ्का कला–सिर्जनातिरै हात बढाइन् । उनको रहरलाई बुबाले पनि साथ दिए । अहिले स्नातक तहमा अध्ययनरत उनी बिहान कलेजबाट फर्किसकेपछि दिउँसो थाङ्का कला कोर्छिन् । यसबाट उनको सिर्जन सीपको विकाससँगै पढाइ खर्चसमेत जुटेको छ । सात/आठ वर्षदेखि थाङ्का कला कोरिरहेकी उनलाई सुरुमा केही असहज महसुस भएको थियो । भन्छिन्, ‘सुरुका दिनहरूमा बुबाले सिकाइदिनुहुन्थ्यो । नमिलेको ठाउँमा पनि मिलाइदिनुहुन्थ्यो । अहिले हात बसिसकेको छ ।’ थाङ्का कला–सिर्जनामै रहेर आयआर्जनसँगै कला–विस्तारका लागि केही गर्न सकिन्छ कि भन्ने उनको आशा छ ।

आस्रिन डंगोल, २२ वर्षीय
आमा–बुबाको बाटोलाई सन्तानले अँगालेर अगाडि बढ्दा सन्तुष्टि मिल्ने २२ वर्षीय आस्रिन डंगोल सुनाउँछन् । डंगोलका आमा–बुबा एरिना ताम्राकार र आशा डंगोल चित्रकार हुन् । अहिले डंगोल आमाबुबालगायत टिमले स्थापना गरेको ‘ई–आर्ट्स नेपाल’मा आबद्ध भएर नेपाली कलालाई प्रविधिका माध्यमबाट आमजनसमुदाय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन लागिपरेका छन् । आइटी क्षेत्रमै स्नातक अध्ययनरत उनी आफ्नो क्षमता र आफूले जानेको सीपलाई आमाबुबाले जसरी नै कला क्षेत्रमा लगानी गर्न चाहन्छन् । सन् २०१९ देखि ‘ई–आर्ट्स नेपाल’मा फोटो, भिडियोजस्ता सामग्रीबाट प्रचारप्रसारका लागि स्वयम्सेवी भएकी उनी तीन वर्षदेखि भने यसैमा आबद्ध छन् । उनी फोटो, भिडियोसँगै कलाकारहरूको डकुमेन्ट्रीहरूसमेत निर्माण गर्छन् ।
सानैदेखि आमाबुबाको कला–सिर्जना, प्रदर्शनीहरूमा सहभागी भइरहने उनमा पनि कलाप्रति झुकाव थियो । अहिले आफ्नो कामले आमाबुबालाई खुसी त मिलेकै छ, सँगै ‘ई–आर्ट्स नेपाल’मार्फत नेपाली कला र कलाकारलाई चिनाइरहन पाउँदा उनी खुसीसँगै सन्तुष्ट छन् । भन्छन्, ‘मलाई सुरुमा आफूले जानेकै कामबाट ममीबाबालाई हेल्प किन नगर्ने भन्ने भयो । उहाँहरू मेरो कामबाट खुसी हुनुभयो र मेरो काममा सपोर्ट गर्नुभयो । ममीबाबासँगै काम गर्दा मनैदेखि फुलफिल भएको महसुस हुन्छ ।’ सुरुमै उनले काम गर्दा आमाले सोधेकी थिइन्, ‘बाबु, तिमीले हाम्रा लागि काम गरिरहेका छौ कि तिमी आफ्नै लागि ?’ आमा चाहन्थिन्, छोराले आमाबुबाका लागि मात्र होइन, आफ्नो लागि पनि काम गरोस् । आस्रिन भने आफ्नो खुसीभन्दा पहिला आमाबुबाको खुसी चाहन्थे । त्यसकारण आमा घरको काममा होस् वा कला–सिर्जना यात्रामा थाकेको बेला सधैँ सँगै हुन पाउँदा उनलाई खुसी मिल्छ । डिजिटल प्लेटफर्ममार्फत उनी ‘ई–आर्ट्स नेपाल’मात्र नभएर समग्र नेपाली कला र कला–सर्जकलाई विश्वसमक्ष पुर्याउने ध्याउन्नमा छन् । यसले आफ्नो अध्ययन र करिअरलाई पनि सघाउ पुर्याइरहेको उनी सुनाउँछन् ।
आमाबुबाको बाटो समाएर हिँड्दा फाइदा तथा बेफाइदा दुवै हुने आचार्यले अनुभव गरेका छन् । उनका अनुसार आमाबुबाले कोरेको बाटोमा हिँड्दा आफूलाई त्यो बाटोमा नौलो अनुभव हुँदैन । सुरुवातदेखि नै अनुभव लिन र सिक्न जरुरी पनि हुँदैन । घरमै आमाबुबा त्यही क्षेत्रमा हुने भएकाले सामान्य रूपमा देखिरहेकै र सिकिरहेकै कामबाट केही सिकेर आफूलाई त्यतातिर ढाल्न सकिन्छ । त्यसकारण यसमा सुरुवातमा लाग्ने समय र अनुभवको बचत हुन्छ । अर्कातिर आमाबुबाको कीर्ति र धरोहरलाई जोगाउन भए पनि राम्रो काम गर्नैपर्ने दबाब पनि झेल्नुपर्ने उनको भनाइ छ । तर, आमाबुबाले कायम गरेको नाम र धरोहर दुवैलाई अगाडि लैजाने उनको प्रण छ । निकट भविष्यमा आमाबुबाको कामबाट सिकेको ज्ञानलाई उनी मिश्रण गरेर एनिमेसन सिनेमा निर्माण गर्ने योजनामा छन् भने आर्ट स्टोरी बुक प्रकाशनको योजनासमेत उनको दिमागमा घुमिरहेको छ ।

प्रतिका शाक्य, १९ वर्षीया
आचार्यकै जस्तै अनुभव १९ वर्षीया प्रतिका शाक्यले पनि बटुलेकी छन् । कलाक्षेत्रमा स्थापित हुन चाहने उनलाई आमाको नाम र कामले सहज र असहज दुवै महसुस हुन्छ । अहिले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा कला अध्ययनरत शाक्य पनि उनकी आमा चित्रकार प्रमिला बज्राचार्यकै बाटो पछ्याएर कला क्षेत्रमा आएकी हुन् । सानैदेखि चित्र–सिर्जनामा लागेकी उनी कक्षा तीनमा हुँदै सामूहिक चित्रकला प्रदर्शनीमा सहभागी भएकी थिइन् । नृत्यसँगै कला–सिर्जनामा विशेष रुचि राख्ने उनले भविष्यमा आमाजस्तै सफल चित्रकार बन्ने सपना बुनेकी छन् । आमाले चित्रमार्फत महिला आवाज, सशक्तीकरण र साहसको बाटोलाई उठाएजस्तै उनमा पनि कलाक्षेत्रबाट नै समाज र देशका लागि केही गर्ने सपना छ । भन्छिन्, ‘कलाक्षेत्रमै केही गर्ने सोच छ । ममीको आर्ट र नाम जताततै छ । ममीजस्तै र ममीकै नाम राख्न सक्छु कि सक्दिनँ भन्ने डर त छ तर म मेरो तर्फबाट सकेजति गर्छु ।’
००



Leave a Reply