एउटा प्रचलित भनाइ छ, ‘रुचिअनुरूप पेसा अँगाल्दा सफलताको शिखर चुम्न सकिन्छ ।’ कतिपयले भने यो मान्यतालाई नपछ्याइकनै पेसा र रुचिको धरातललाई आ–आफ्नै हिसाबले समुन्नत तुल्याउँदै आएका छन् । तिनैमध्ये एक दृष्टान्त हुन्— मितेशरत्न ताम्राकार ।
काठमाडौँको भित्री सहर मरुको चहलपहलबीच हुर्किएका मितेश पेसाले बैंकर हुन् । बैंकिङ क्षेत्रमा उनले लोभलाग्दो ‘करिअर’ निर्माण गरिरहेका छन् । उनको तनमन र सपना भने सदैव गीत–सङ्गीतको अर्थपूर्ण र समुन्नत दुनियाँमा हराइरहेको हुन्छ । जीवनरूपी व्यस्त दैनिकीबीच पनि उनले आफ्नो पुरानो मोह अर्थात् सङ्गीतप्रतिको मोहलाई कहिल्यै भुल्न सकेनन् । आज उनी एक बैंकरका रूपमा चिनारी बनाउनुका साथै संस्कृतिप्रेमी सङ्गीतकारका रूपमा पनि परिचय बनाउन सफल भएका छन् ।

बाल्यकालदेखिको स्वर–यात्रा
बाल्यकालीन समयदेखि नै गायनमा रुचि राख्ने मितेश आफ्ना काकाद्वारा सिर्जित अंग्रेजी धुनमा नेपाली ‘टोन’ मिसाएर आफ्नै भाका सिर्जना गर्थे । अध्ययनको सिलसिलामा पुल्चोक इन्जिनियरिङ कलेज पुगेपछि उनको सङ्गीत–प्रेम अझ सघन बन्न पुग्यो । सितारको मधुर धुनमा रमाउने अजर ताम्राकारलाई साथीको रूपमा पाएपछि उनले अजरसँगै मिलेर गितार र सितारको सङ्गममार्फत फ्युजन कन्सर्टहरू गर्न थाले । कलेजका दिनहरूमा मञ्चमा गितार बजाएर आफैँले लेखेको गीत गाउँदै जाँदा उनले बिस्तारै कलाकारको रूपमा आफ्नो पहिचान बनाउँदै गए ।
१९ वर्षअघि उनले आफ्नै जीवनकथामा आधारित ‘आकांक्षा’ नामक गीत सार्वजनिक गरे । त्यसपछि नेपाली कामदारहरूले विदेशी भूमिका गरेको संघर्ष–गाथालाई चित्रित गर्न सक्षम ‘सुन्दरताको छायामा’ बोलको गीत ल्याए । पछिल्ला दिनहरूमा भने एउटा बैंकमा प्राविधिक विभागको प्रमुख बनेपछि लामो समयसम्म सङ्गीत–साधना र गतिविधिबाट टाढा हुन पुगे । तर आफ्नो मनभित्र गढेको स्वर–ताल भने कहिल्यै मेटिएन ।
‘यन्या पुन्हि’ : संस्कृतिप्रतिको सम्मान
हालै उनले काठमाडौँको ऐतिहासिक र भव्य पर्व इन्द्रजात्राको अवसरमा नेपाल भाषाको गीत ‘यन्या पुन्हि’ सार्वजनिक गरे । सो गीतलाई माध्यम बनाएर उनले जात्रा–पर्वको उल्लास, इतिहास र समुदायको सामूहिक उत्साहलाई आत्मीय शैलीमा प्रस्तुत गरेका छन् । उनी परम्परागत संस्कृतिलाई आधुनिक सङ्गीतको माध्यमबाट संरक्षण गर्न चाहन्छन् । उनको यस्तो सोचलाई ‘प्रशंसनीय’ नमानिरहन सकिँदैन ।

संस्कृतिको संरक्षणका लागि सङ्गीत
मितेशको सङ्गीत केवल व्यक्तिगत रुचिमा मात्र सीमित देखिँदैन । उनी प्रत्येक वर्ष कुनै न कुनै पर्व वा सांस्कृतिक मर्म र गरिमालाई केन्द्रमा राखेर गीत सिर्जना गर्ने योजनामा छन् । उनी भन्छन्, ‘संस्कृति हाम्रो जरा हो । यदि हामीले आफ्नै जरा बिर्सियौँ भने पहिचान हराउँछ । त्यसैले म गीतमार्फत नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न सिकाउन चाहन्छु ।’
उनले आगामी दिनमा नेपाल भाषाका गीतलाई आम श्रोतासामु पु¥याउने दरिलो चाहना बोकेका छन् । उनमा उत्तिकै मजबुत देखिन्छ– बैंकरको पेसासँगै सङ्गीतलाई जीवनभर निरन्तरता दिने अठोट पनि । उनी केवल मनोरञ्जनका लागि होइन, संस्कृतिको संरक्षण र प्रसारका लागि स्वर–अभ्यर्थनामा क्रियाशील देखिन्छन् ।
००



Leave a Reply