प्रकाशक संस्था फाइनप्रिन्टले शनिबार नारायणगढमा आयोजना गरेको घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ सम्पन्न भएको छ।
कार्यक्रमको अन्तिम सत्रमा अभिनेता तथा लेखक राजेश हमाल र लेखक भूपिन खड्काबीच संवाद भएको थियो। हालै सार्वजनिक पुस्तक ‘युगदेखि युगसम्म’ मा आधारित विषयवस्तु र हमालको सिर्जनात्मक यात्राबारे छलफल गरिएको थियो।
हमालको पुस्तक पत्रकार यज्ञशसँग गरिएको प्रश्न–उत्तरमा आधारित रहेको छ। संवादका क्रममा हमालले साहित्य लेखनमा प्रवेशको अनुभव र पछिल्लो पुस्ता, समाज र राजनीतिका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रममा साहित्यकार, लेखक, विद्यार्थी र स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यसअघि पाँचवटा सत्र सम्पन्न भएका थिए। पहिलो सत्रमा सुविन भट्टराई र मिमांशा ढुंगानाबीच संवाद भएको थियो। दोस्रो सत्रमा रमेश भुषाल र जीवा लामिछानेबीच नदी र समुन्द्र यात्रासम्बन्धी छलफल भयो। लामिछानेको ‘अक्षत अन्टार्कटिका’ र भुषालको ‘छालबाटो’ पुस्तकका सन्दर्भमा वातावरण, संरक्षण र पर्यटनका विषय समेटिएका थिए।
तेस्रो सत्रमा लेखक ददि सापकोटा र साहित्यकार अमर न्यौपानेबीच सापकोटाको नयाँ पुस्तक ‘ज्ञानिका’ बारे संवाद भयो। चौथो सत्रमा मदन पुरस्कार विजेता ‘उरमाल’ का लेखक छुदेन काविमो र सामना पहाडबीच संवाद भएको थियो।
पाँचौं सत्रमा रञ्जना सुब्बा र लेखक वसन्त बस्नेतबीच ‘महाभारा’ र ‘सिमसारा’ पुस्तकका विषयमा छलफल भयो। अन्तिम सत्रमा डा. जीवन क्षेत्रीले ‘स्वस्पर्श’ पुस्तकका लेखक डा. नवराज केसीसँग संवाद गरेका थिए।
साहित्य, यात्रा र वातावरणका विविध पक्ष समेटिएको यस वर्षको ‘फाइनप्रिन्ट फिभर’ नारायणी कला मन्दिरमा सम्पन्न भएको हो।



Leave a Reply